जिल्ला समन्वय समिति प्रमुखसहित खोटाङका ८ जनप्रतिनिधि पदमुक्त

खोटाङ । दल परिवर्तन गरेका जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईसहित जिल्लाका आठ जना जनप्रतिनिधि पदमुक्त भएका छन् । जनता समाजवादी पार्टीको केन्द्रीय समितिले दल त्याग गरेको जानकारी दिएपछि निर्वाचन आयोगले मङ्सिर २ गते गरेको निर्णयबाट उनीहरू एकसाथ पदमुक्त भएका हुन् ।

आयोगले मङ्सिर ३ गते सूचना प्रकाशन गरेको छ । सूचनाअनुसार समन्वय प्रमुख सन बहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाअध्यक्ष मुगाधन राई, वडासदस्यहरू कल्पना राई, दलित महिला सदस्य गीता विश्वकर्मा, रामधन राई र सहरमणि राई तथा नगर कार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नालले पद गुमाएका छन् ।

समन्वय प्रमुख राई हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य छन् भने उपाध्यक्ष गुरुराज र वडाअध्यक्ष मुगाधन श्रम संस्कृति पार्टीमा प्रवेश गरिसकेका छन् । दर्नाल अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमै आबद्ध छन् । सहरमणि र कल्पना तत्कालीन माओवादी केन्द्रबाट तथा रामधन एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए ।

वडामा चुनावी तालमेल गर्दा जनता समाजवादी पार्टीको छाता चुनाव चिन्हबाट लडेका कारण उनीहरूले पद गुमाउनु परेको हो । पाथेका वडाका सबै जनप्रतिनिधिको पद गएपछि वडा जनप्रतिनिधिविहीन बनेको छ र सेवाग्राहीको काम अन्योलमा परेको छ । जनप्रतिनिधि नभएको र उपनिर्वाचनको सम्भावना नरहेको यस्तो विशिष्ट अवस्थामा कर्मचारीले नै वडाको कामकाज सञ्चालन गर्ने जिल्ला निर्वाचन आयोग खोटाङका प्रमुख रवीन मगरले जानकारी दिएका छन् ।

नगरप्रमुख तीर्थराज भट्टराईले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको राय र कानुनी व्यवस्थाअनुसार वडा कार्यालयको सेवा प्रवाह निरन्तर गरिने बताए । जिल्लामा यसअघि बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भूबलराज राई, नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राई, केपिलासगढी–३ बास्पानीका वडाध्यक्ष तुलाराज राई र खोटेहाङ–३ सावाकटहरेका जेफर राई पदमुक्त भएका थिए ।

उनीहरू सबै श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । भूबलराज र तुलाराज एकीकृत समाजबाट, जेफर नेपाली काँग्रेसबाट र दिनेश एमालेबाट निर्वाचित भएका थिए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका खोटेहाङ–४ बड्कादियालेका वडासदस्य प्रदीप आचार्य (एमालेबाट निर्वाचित) पनि पदमुक्त भएका छन् ।

वडाध्यक्ष गुमाएका वडामा सम्बन्धित दलले जेष्ठ सदस्यलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएको छ । वि.सं. २०७९ को स्थानीय निर्वाचनमा विजयी भएकामध्ये पदमुक्त हुनेको संख्या अब १३ पुगेको छ । पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत दल त्याग गरेको दाबीसहित सम्बन्धित दलले सिफारिस गरेमा आयोगले पदमुक्त गर्न सक्ने कानुनी व्यवस्था छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको देखिएकाले स्वतः पदमुक्त गरिएको आयोगले सूचनामा उल्लेख गरेको छ । खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिकासहित दश स्थानीय तह र ७९ वटा वडा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

असोजमा भित्रियो कीर्तिमानी २ खर्ब ६७ अर्ब रुपैयाँ रेमिटेन्स