धनगढीमा जुट्दै देशभरका स्रष्टा, साहित्य महोत्सवको तयारी तीव्र

धनगढी । सुदूरपश्चिमको साहित्य, कला, संस्कृति, भाषा र सामाजिक विविधतालाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले धनगढीमा ‘सुदूरपश्चिम साहित्य महोत्सव–२०८३’ आयोजना हुने भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा यहि मंसिर २६ र २७ गते कैलाली बहुमुखी क्याम्पस परिसरमा हुने दुईदिने महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

महोत्सवमा सुदूरपश्चिमको साहित्य, सिर्जना, पर्यापर्यटन, शिक्षा, सेती–महाकालीका कथा, भूगोल, इतिहास र समाजलगायत विषयमा डेढ दर्जनभन्दा बढी सत्रमा अन्तरसंवाद तथा विमर्श गरिनेछ ।

महोत्सवको मुख्य आकर्षणका रूपमा वरिष्ठ आख्यानकार नारायण ढकालले ‘नेपाली साहित्य हिँडेको बाटो’ शीर्षकमा विद्वत् प्रवचन दिने कार्यक्रम छ । यसका साथै सुदूरपश्चिमका नौवटै जिल्लाका कवि तथा गजलकारको सहभागितामा कविता तथा गजल साँझ आयोजना गरिनेछ ।

महोत्सवमा साहित्य लेखन कार्यशाला, पुस्तक विमोचन तथा साहित्य, इतिहास र संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुति पनि रहनेछ । त्यस्तै, हुड्केली, छलिया, होरी, देउडा र सखियालगायत सुदूरपश्चिमका मौलिक सांस्कृतिक झाँकी तथा प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाउनेछन् ।

महोत्सवमा देशभरका लेखक, साहित्यकार, बुद्धिजीवी, संस्कृतिकर्मी, शिक्षाविद्, पत्रकार तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ ।

आयोजकका अनुसार महोत्सवमा गोपाल हमाल, डा. हेमराज पन्त, डा. लोकबहादुर विष्ट, पद्मराज जोशी, गोकर्ण अवस्थी, उमादेवी वादी, रक्षा बम, इन्दु थारू, राज सरगम, डा. तुलसी शर्मा, मिलन पाण्डे, महेशविक्रम शाह, केशव दाहाल, विप्लव प्रतीक, राजकुमार बानियाँ, डा. अस्मिता विष्ट, शैलेन्द्र अधिकारी, बाबु त्रिपाठी, विश्व सिग्देल र प्रज्वल अधिकारीलगायतका स्रष्टा तथा वक्ताहरू सहभागी हुनेछन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ तथा महोत्सवका केन्द्रीय संयोजक दीपक सापकोटाले महोत्सवले सुदूरपश्चिमका मौलिक ज्ञान, लोकसाहित्य र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने बताए । यसले प्रदेशको पहिचान, सम्भावना र सिर्जनात्मक क्षमतालाई राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ दिल्लीमा प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता