धनगढी । धनगढी उपमहानगरपालिकाले नगरका १६ स्थानमा ग्रासरुट फुटबल विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ । बालबालिका तथा युवालाई सानै उमेरदेखि फुटबल प्रशिक्षणको अवसर प्रदान गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमको शनिबार धनगढी रंगशालामा उद्घाटन गरिएको हो ।
उपमहानगरपालिकाले सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा फुटबलको आधारभूत विकास गर्ने उद्देश्यले सो कार्यक्रमको सुरुवात गरेको जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रशिक्षक तथा खेलाडीलाई फुटबल हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरे । उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, उपप्रमुख, कार्यपालिका सदस्यलगायतको उपस्थिति थियो ।
धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला फुटबल संघबीच भएको सहकार्य सम्झौताअनुसार नगरका विभिन्न वडाका सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा प्रशिक्षण सञ्चालन गरिनेछ । सम्झौतापत्रमा नगरप्रमुख गोपाल हमाल र जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले हस्ताक्षर गरेका छन् ।

कार्यक्रमअन्तर्गत वडा नं. १ को कभर्डहल खेल मैदान, वडा नं. २ को सूक्ष्म वर्गीकरण केन्द्र नजिकको मैदान, वडा नं. ३ को प्रस्तावित नयाँ बसपार्क मैदान, वडा नं. ५ को यातायात कार्यालय नजिकको श्रीकृष्ण खेल मैदान र वडा नं. ६ को धनगढी पोलिटेक्निक खेल मैदानमा प्रशिक्षण सञ्चालन हुनेछ ।
त्यस्तै, वडा नं. ७ को पटेला खेल मैदान, वडा नं. ८ को धनगढी नमुना माध्यमिक विद्यालय, वडा नं. ११ को दक्षिणकाली आधारभूत विद्यालय, वडा नं. १२ को मनकामना युवा क्लब, वडा नं. १३ को जनता राष्ट्रिय माध्यमिक विद्यालय र नवज्योति आधारभूत विद्यालय नजिकको खेल मैदानलाई पनि कार्यक्रममा समेटिएको छ ।
यसैगरी वडा नं. १४ को टाउन प्लानिङ खेल मैदान, वडा नं. १७ को पथरी पुल नजिकको मैदान र डुमौलिया खेल मैदान, वडा नं. १८ को प्रस्तावित स्टेडियम तथा वडा नं. १९ को आई गाउँस्थित खेल मैदानमा प्रशिक्षण सञ्चालन गरिनेछ ।
उपमहानगरपालिकाले विगत केही वर्षदेखि ग्रासरुट खेलकुद विकासलाई प्राथमिकता दिँदै आएको छ । आर्थिक वर्ष २०७९/८० मा ग्रासरुट क्रिकेटबाट सुरु भएको अभियानअन्तर्गत आव २०८०/८१ र २०८१/८२ मा चार–चार स्थानमा फुटबल प्रशिक्षण सञ्चालन गरिएको थियो ।
आव २०८२/८३ मा १२ स्थानमा विस्तार गरिएको कार्यक्रमलाई चालु आर्थिक वर्षमा १६ स्थानमा पुर्याइएको उपमहानगरपालिकाले जनाएको छ । यसका अतिरिक्त सार्वजनिक जग्गाको सदुपयोग गर्दै नगरका २१ स्थानमा खेल मैदान निर्माण गरिएको छ ।
स्थानीय स्तरबाटै फुटबलको आधार बलियो बनाउने, बालबालिका तथा युवालाई प्रारम्भिक उमेरदेखि नियमित प्रशिक्षणको अवसर दिने र विद्यालय तथा सार्वजनिक मैदानलाई खेलकुद गतिविधिको केन्द्र बनाउने कार्यक्रमको लक्ष्य रहेको उपमहानगरपालिकाले जनाएको छ ।
सम्बन्धित समाचार
फिल्डिङमा सुधार गर्नुपर्नेछ, प्लेअफ पुग्छौँ: सन्दीप लामिछाने
घटनास्थलबाट घरदैलोसम्म पुग्दै प्रहरी
कमल, राधिका र राजकुमारलाई पहिलो दिन अग्रता
देउवा समूहको सुदूरपश्चिम अधिवेशन मंसिर १५ र १६ गते धनगढीमा
बडिकेदार मेलाका लागि धनगढीबाट पाँचवटा निःशुल्क बस, मंसिर ४ सम्म नाम दर्ता गर्न सकिने
एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन
पुस १० देखि धनगढीमा तीनदिने खाना महोत्सव, स्थानीय परिकार प्रवर्द्धनमा जोड
आज लुम्बिनी र सुदूरपश्चिमबीच एनपीएल उपाधि भिड्न्त






