आगलागी नियन्त्रणमा धनगढीको सक्रियता : साढे तीन वर्षमा ५३३ ठाउँमा आगलागी नियन्त्रण

धनगढी । ​कैलालीको धनगढी उपमहानगरपालिकाले पछिल्लो साढे तीन वर्षको अवधिमा ५३३ स्थानमा आगलागी नियन्त्रणका लागि वारुणयन्त्र (दमकल) सेवा प्रदान गरेको छ । आगलागीबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न उपमहानगरपालिकाले तीनवटा वारुणयन्त्र र नगर प्रहरी परिचालन गर्दै आएको छ ।

​आर्थिक वर्ष २०७९/८० देखि चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म उपमहानगरपालिकाले उक्त संख्यामा आगलागी नियन्त्रण गरेको हो । धनगढीभित्र मात्र नभई आवश्यकताअनुसार छिमेकी पालिका तथा अन्य क्षेत्रमा समेत वारुणयन्त्र पठाएर सहयोग गर्दै आएको उपमहानगरपालिकाले जनाएको छ ।

​उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखाका प्रमुख दीपक भण्डारीका अनुसार आगलागीको सूचना प्राप्त भएको तीन मिनेटभित्रै आवश्यक जनशक्तिसहित वारुणयन्त्र परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

​तराईका पालिकामध्ये धनगढी आगलागीको उच्च जोखिममा रहेको क्षेत्र हो । तीव्र सहरीकरण, अव्यवस्थित बस्ती विस्तार र विद्युत् सर्ट हुनेलगायतका कारणले आगलागीका घटना बढ्ने गरेका छन् । यस्ता जोखिमलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले वारुणयन्त्र सेवालाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ ।

​यसअघि वारुणयन्त्रमा पानी सकिएपछि पुनः कार्यालयमै फर्किएर भर्नुपर्ने बाध्यता थियो । तर, हाल नगरका विभिन्न स्थानमा पानी भर्ने (रिफिलिङ) व्यवस्था मिलाइएपछि आगो नियन्त्रणमा निरन्तर खटिन र छिटोछरितो सेवा दिन सहज भएको शाखा प्रमुख भण्डारीले बताए ।

​आगलागीको तत्काल सूचना दिन सहज होस् भनेर उपमहानगरपालिकाले विभिन्न चोक, चौतारालगायत सार्वजनिक स्थानमा नगर प्रहरी र वारुणयन्त्रका आपत्कालीन सम्पर्क नम्बरहरू राखेको छ । नगरवासीसँगै अन्य क्षेत्रका नागरिकको समेत जनधन जोगाउने उद्देश्यले आवश्यकताअनुसार वारुणयन्त्र परिचालन गरिँदै आएको उपमहानगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

आगलागी नियन्त्रणमा धनगढीको सक्रियता : साढे तीन वर्षमा ५३३ ठाउँमा आगलागी नियन्त्रण