‘सहकारी नाममा लुटको धन्दा, जोसुकै भए पनि छुट दिनु हुँदैन’

पोखरा । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सहकारीको नाममा ठूलो लुटको धन्दा रहेको हुँदा जोसुकै भए पनि छुट दिन नहुने बताएका छन् ।

सोमबार पोखरामा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो सहकारी ठगी प्रकरणमा जोसुकै दोषी छन् भने उनीहरुले छुट पाउनु हुँदैन ।’ उनले सहकारीपीडितप्रति आफ्नो सहानुभूति रहेको र सरकारले तत्काल उनीहरुको रकम फिर्ता गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

उनले पीडितले न्याय पाउनुपर्ने र दोषी उम्किन नहुनेमा जोड दिँदै अगाडि भने, ‘तर, राजनीतिक पूर्वाग्रहको आधारमा कुनै पनि काम नहोस् ।’ पोखरामै यतिबेला रास्वपा सभापति तथा पूर्व उपपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि १० दिनदेखि प्रहरी हिरासतमा छन् ।

उनले विचार मिल्ने दलहरुसँग एकताको सम्भावना हुनु राम्रो हो भने । तर, माओवादीसँग एकताको परिस्थिति नबनेको र एमालेसँग एकताको ‘कल्पनै नगरे हुन्छ’ भने । उनी भन्छन्, ‘एमालेसँग पनि एकता हुँदै हुँदैन भनी कसम खाएको त होइन । तर सम्भावना नदेखेको हो ।’

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दोष प्रकट गर्दै नेपालले भने, ‘केपी ओली सुध्रिनलायकको हो ? सुध्रिहाल्यो भने त म खुसी नै हुन्छ ।’ उनले आफू कसैसँग रिस, राग, द्वेष देखाउने मान्छे नभएको तर कसैले फूर्ति धेरै देखाउँछ भने सहन नसक्ने स्पष्ट पारे ।

नेपालको राजनीति नेपालको मौषम झैं भएको उनको भनाइ थियो । उनले आफू ‘प्याटप्याट’ बोल्ने बानी नभएको र जस्तो परिस्थिति आउँछ, त्यसको सामना गर्दै जाने बताए ।

अहिलेमा मुलुकमा देखा परेका ठूलाठूला समस्याहरु सम्बोधन गर्ने र समाधन गर्ने कुरामा सरकार इमानदारीका साथ लाग्नुपर्नेमा उनको जोड थियो । ‘देशको विकास र भ्रष्टाचारको उन्मूलन यो हाम्रो संकल्प हो,’ उनले प्रस्ट पारे ।

आफूहरु समाजवादको यात्रा गर्ने बेलामा नै रोजगारी वृद्धि गर्ने, उत्पादनमा उच्च प्राथमिकता दिने, सुशासनको विषयवस्तुमा ध्यान, देशमा योजना परियोजना निर्माण गर्दा विचार पु¥याएर त्यसको प्राथमिकीकरण तय गर्ने, बजेट व्यवस्थापन गर्ने, कामको अनुगमन गर्ने, मूल्यांकन, पुरस्कृत र दण्डित गर्ने यो विधि प्रयोग गरेर देशको विकास गर्ने काममा लाग्ने नीति अवलम्बन गरेको बताए ।

उनले विभिन्न भौतिक संरचना निर्माणमा दीर्घकालीन सोच नराख्दा त्यत्तिकै बेवारिसे हुनु पुगेको र राज्यको स्रोतसाधनको नोक्सानी भएकोमा चिन्ता व्यक्त गरे । एमालेले विगतमा ल्याएको पालिकास्तरमा अस्पतालको योजना फेल भएको उनको टिप्पणी छ । ‘भवनमात्र ठडिएर हेर्नेबाहेक अरु केही भएको छैन । न बिरामी छन्, न डाक्टर ।’

उनले प्रधानमन्त्रीको निवास हेर्दा गौरव हैन, लाज लाग्ने पनि टिप्पणी गरे । उनले भने, ‘प्रधानमन्त्रीको निवास हेर्नोस्, गौरव हैन, लाज लाग्छ । त्यत्रो विलाशिताको कुनै अर्थ छैन । दुई–दुइटा भवनको कुनै अर्थ थिएन । भैँसेपाटीमा जानोस्, त्यत्रो विशाल भवनको कुनै अर्थ थिएन । ’ वडा भवनमा पनि ठूलाठूला भएकोतर्फ टिप्पणी गर्दै उनले ठेक्कामा दिने, कमिसन खानेबाहेक अरु केही नभएको आरोप लगाए । एउटै नदीमा पाँचपाँच वटा पुल बनाउनु जरुरी नभएको र १६ वटा विमानस्थल अहिले बन्द अवस्थामा रहेको तथ्यांक पस्के । पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा अझसम्म अन्तर्राष्ट्रिय उडान नियमित नभएकोमा चिन्ता व्यक्त गरे ।

खेलको मैदानमा जित्नेहरु खुसी र हार्नेहरु दुःखी हुन स्वाभाविक हो भन्दै कसैले विज्ञप्ति निकालेर हारगुहार गरेर नहुने र एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन भने । अध्यादेश ल्याउन लागेको भन्ने विषयमा उनले भने, ‘बरु देशको विकास र समृद्धिमा ध्यान दिए हुन्छ, यो पार्टीसँग किन यति धेरै वैरभाव राख्नुप¥यो । नेताको घाँटी किन सुक्नुप¥यो । बरु देशको विकासमा साझा मुद्दामा एकताबद्ध भएर अघि बढ्नुपर्छ । पार्टी सिध्याउँछु भन्नु मनको कुण्ठाबाहेक अरु केही हुँदैन ।’

‘भिजिट नेपाल–२०११’ र ‘भिजिट नेपाल–२०२०’ को सुरुआतकर्ता आफू रहेको दाबी गर्दै उनले अबको २५ वर्षपछि नेपालका कस्तो हुनेछ भनी ‘भिजन नेपाल–२०५०’ को पनि छलफल चलाइरहेको सुनाए । आफ्नो पार्टीको प्रदेश र जिल्ला अधिवेशन पनि छिट्टै हुने, कामको बाँडफाँट पनि छिट्टै हुने बताए । कार्यक्रममा समाजवादी प्रेस संगठनका श्रीराम सिग्देल, भीम थापालगायत बोलेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछु : धनराज आचार्य