भोजपुर । भोजपुरे खुकुरी बनाउने कालीगड व्यावसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आउनु भएको छ । लोप हुने अवस्थामा रहेको कालीगड पेसालाई अगालेर विश्वकर्माले बार्षिक आठदेखी दश लाखसम्म आम्दानी गर्दै आएको बताए ।
भोजपुर नगरपालिका ५ बोखिमका विश्वकर्माले बाउबाजेले गर्दै यो कामलाई निरन्तरता दिँदै ४१ वर्षदेखी यो पेसा गर्दै आएको उनको बताए । आफ्ना पितापुर्खाले बनाएको भोजपुरे खुकुरीको बजारमा छुट्टै पहिचान रहेकोले यसलाई बचाई राख्न आफुले पनि यो पेसालाई निरन्तरता दिएको उनको भनाइ छ ।
‘पछिल्लो समयमा कालीगड पेसासँगै भोजपुरे खुकुरी लोप हुने अवस्था छ’ विश्वकर्माले भने,‘भोजपुरे खुकुरी बनाउने हाम्रो पुर्खौली पेसा हो । पितापूर्खाले बनाएको खुकुरीको बजारमा छुट्टै पहिचान छ । भोजपुरे खुकुरीको मौलिकतालाई बचाउदै पेसालाई नयाँ पुस्तासम्म पु¥याउन जुटेको छु । यहि पेसाबाट रामै आम्दानी पनि गरिरहेको छु ।’
जिजु बाजे गोपे विश्वकर्मा, बाजे जंग बहादुर विश्वकर्मा र बुवा सिंह बहादुर विश्वकर्माले यहि पेसा गरेर नै जीवन विताएको विश्वकर्माले जानकारी दिए । राजा महेन्द्रको पूर्वी सवारी हुँदा आफ्ना बुवाले मेरो सीपले बनाएको भोजपुरे खुकुरी भनेर २०१३ सालमा चडाएपछि भोजपुरे खुकुरीको पहिचान अझ चुलिएको उनको भनाइ छ । त्यो समयमा खुकुरी चडाएबापत एक हजार चार सय राजाबाट बक्सिससमेत पाएको उनले सुनाए ।
‘भोजपुरे खुकुरी बनाउनेमा धेरै वर्ष अघिबाट हाम्रा बाउबाजेको छुट्टै पहिचान छ’ उनले भने,‘मैले त्यहि पेसालाई निरन्तरता दिँदै भोजपुृरे खुकुरी बनाउदै आएको छु । विगतमा पाएको ख्यातिमा आँच आउन नदिन परम्परागत औजार उपकरणको प्रयोग गरेर नै खुकुरी बनाउछु । बजारमा पुरानोशैलीबाट बनाइएका खुकुरी पाउन मुस्किल छ ।’
महेन्द्र खुकुरी उद्योग दर्ता गरेर कालीगड पेसागर्दै आएका विश्वकर्माले आफुले बनाएको खुकुरी एक हजार पाँच सयदेखी तीस हजारसम्ममा खुकुरी बिक्री गर्दै आएको बताए । यहाँ निर्माण भएका खुकुरी स्थानीय बजारसँगै जापान, अमेरिका, जर्मनलगायत देशमा उपहारको रुपमा जाने गरेको उनलको भनाइ छ । आफुले सिरुपाते, कोथीमोडा, बाँसपाते, बुदुना, तीनपाटा आकारका भोजपुरे खुकुरीसँगै मागका आधारमा तरवार, कट्टीलगायत सामग्री निर्माण गर्ने जानकारी दिए ।
१८ वर्ष नेपाली सेनामा जागिर खाएर आएपछि पनि पुनः छोराहरुसहित यो पेसालाई निरन्तरता दिएको विश्वकर्माले बताए । ‘भोजपुरेको पहिचान झल्कने विभिन्न आकारका खुकुरी निर्माण गर्दै आएको छु’ उनले भने,‘गुणस्तरका कारण बाहिर पसलमा पाउने भन्दा मैले बनाएका खुकुरी अलि महङ्गो छ । बाह्य बजारमा भएका खुकुरीको तुलनामा गुणस्तर फरक हुन्छ । पहिलो पटक किन्ने मान्छेलाई पहिचान गर्न समय लाग्छ ।’
कालीगड विश्वकर्माका दुई छोराले पनि यहि पेसा गर्दै आएका छन् । बजारको अझ राम्रो व्यावस्थापन हुन सके बार्षिक बीसलाखसम्म आम्दानी लिन सकिने छोरा ज्ञानेन्द्र विश्वकर्माले बताए । गाउँमा रहेको उद्योगबाट सिँधै बाह्य बजारमा पठाउन सक्ने वातावरण भए राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । पुर्खौली कामलाई निरन्तरता दिँदै भावी पुस्तासम्म पु¥याउने लक्ष्यले स्नातक तह पढेर पनि कालीगड पेसा गर्दै आएको विश्वकर्माले बताए । मेहनत गरेर लाग्न सके विदेशमा हुने कमाई यहि गर्न सकिने उहाँको भनाइ छ ।
‘यो पेसामा युवा पुस्ताको रुचि कम हुँदै गएको अवस्था छ’ उनले भने,‘हाम्रो गाउँमा विगतमा दश घरपरिवार बढी कालीगड रहेकोमा अहिले हामीले मात्र गर्दै आएको अवस्था छ । यसलाई बचाउनु पर्छ भन्ने लागेर नै अन्य काममा नलागेर कालीगढी पेसा गर्दै आएको छु । यसबाट आम्दानी राम्रै छ ।’
खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगड पाउन समस्या रहेको उनको भनाइ छ । खुकुरी वनाउने पेसालाई अपहेलनाको रुपमा हेरिने गरिएका कारण पनि यो पेसा संकटमा पर्ने अवस्था रहेको उनको बुझाइ छ । व्यावसाय सञ्चालनको लागि कच्चा पदार्थसँगै गुणस्तरिय फलामको अभाव रहेको उनले बताए । राज्यले यस्ता उद्योगको सहज सञ्चालनको लागि आवश्यक सहयोग गर्नु पर्ने उनको भनाइ छ ।
‘यो व्यावसाय सञ्चालन गर्न धेरै नै समस्या छन्’ विश्वकर्माले भने,‘दैनिक कामकाजको लागि कोइला, बिँड, दापका लागि चाहिने काठसँगै गुणस्तरिय फलाम पाउन मुस्किल पर्छ । बनाएको खुकुरी बिक्रीका लागि उपयुक्त बजार छैन । विचौलियाको मारमा हामी उत्पादकहरु परेको अवस्था छ । सरकारले बजारीकरण र आवश्यक सहयोगमा ध्यान दिए अझ सहज हुने थियो ।’
बजारको राम्रो व्यवस्था नहँुदा मेहनत अनुसारको आम्दानी लिन केहि कठिन रहेको उहाँको भनाइ छ । एउटा सादा खुकुरी बनाउन दुई जनालाई एक दिन र ठुलो तथा बुट्टा भएको खुकुरी र दाप बनाउन चारदेखी पाँच दिनसम्म लाग्ने गरेको विश्वकर्माले बताए । आफुले बनाएको खुकुरीमा बाउबाजेले जस्तै घरेलु औजार उपकरणको सहायताले पुरानोशैलीबाट सान लगाएर पाइनसँगै धार लगाउने भएकोले आर्कषकसँगै लामो समयसम्म टिकाउ हुने उनको भनाइ छ ।
पछिल्लो समय गुणस्तर भन्दा पनि सजिलोको बाहनामा पुरानोशैलीमा भोजपुरे खुकुरी बनाउने चलनसमेत हराउदै गएको उनको भनाइ छ । गुणस्तरियढंगले पाइन नलगाएको खण्डमा हेर्दा राम्रो देखिएपनि खुकुरी केहि समयमा विग्रने विश्वकर्माले जानकारी दिए । सस्तोको नाममा बाहिरबाट आउने खुकुरीले भोजपुरे खुकुरीको पहिचान हराउने अवस्था आएको उनले बताए ।
‘भोजपुरे खुकुरी भन्ने वित्तिकै बनावट र आकार नै विषेश प्रकारको हुन्छ’उनले भने,‘घरेलु औजारको प्रयोग गर्दै हातको सहायताले निर्माण गरिने भएकोले यो खुकुरी गुणस्तरियसँगै आकर्षक देखिन्छ । तर मानिसहरुमा सस्तो खोज्ने चलन छ । बजारमा पाउने खुकुरी र हामीले बनाएको भोजपुरे खुकुरीमा फरक हुन्छ ।’
खुक्री बनाउने पराम्परागत शैलीलाई यथावत राख्दै पेसालाई जोगाउन राज्यले समस्याको पहिचान गरी आवश्यक सहयोगसँगै प्रोत्साहनका कार्यक्रम सञ्चालन गरे यसलाई बचाई राख्न टेवा पुग्ने कालीगडहरुको भनाइ छ ।