माओवादी–एकीकृत समाजवादीलाई तत्काल एकता नगर्न सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का बीचमा तत्काल पार्टी एकता गर्न नहुने सुझाव नेताहरूले दिएका छन् । पार्टी नेतृत्वले यसबीचमा एकताका लागि चरणबद्ध छलफल गरे पनि स्थायी कमिटीका सदस्यहरूले त्यसलाई अस्वीकार गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने सुझाव आएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा बैठक चलिरहेको छ । नेताहरूको कार्यविभाजन, आगामी कार्ययोजना, समसामयिक राजनीतिलगायतका विषयहरूमा छलफल भइरहेको छ । बैठकमा स्थायी कमिटीका सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेकाले बैठक सोमबार पनि बस्नेछ ।

बैठकमा महासचिव घनश्याम भुसालले पेस गरेको राजनीतिक प्रतिवेदनमा वाम एकता व्यावहारिक रूपमा सम्भव नभएको उल्लेख छ । सोही विषयमा केन्द्रित भई नेताहरूले तत्काल माओवादी केन्द्रसँग एकता नगरी पार्टी संगठनलाई बलियो बनाउनुपर्ने सुझाव आएको छ ।

‘सैद्धान्तिक रूपमा वाम एकता आजको आवश्यकता हो तर व्यावहारिक रूपमा अहिले त्यो सम्भव छैन,’ भुसालले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘आन्दोलनबाट पार्टी निर्माण गर्ने हाम्रो पहलकदमीले नै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पार्नेछ, आन्दोलनको उद्देश्य, माग र स्वरूपमा समानता हुने व्यक्ति, समूह र पार्टी एक ठाउँमा उभिने अवस्था आउँछ र वाम तथा कम्युनिस्ट एकताको प्रक्रिया अगाडि बढ्छ ।’

माओवादी केन्द्रसँग तत्काल पार्टी एकता गर्न नहुने सुझावसहित आएको प्रतिवेदनमा अधिकांश सदस्यहरू सहमत छन् । पार्टीलाई बलियो नबनाएसम्म माओवादी केन्द्रसँग एकता गर्न नहुने नेताहरूको धारणा रहेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमा यसअघि पार्टी एकताका विषयमा छलफल भएको थियो । प्रचण्डले कतिपय सार्वजनिक ठाउँमा समेत यस’boutमा खुलासा गर्दै आएका छन् । तर, नेपालले यसलाई घुमाउरो रूपमा अस्वीकार गर्दै आएका छन् ।

एकीकृत समाजवादीको १०औं महाधिवेशनमै प्रचण्डले पार्टी एकताका लागि छलफल भएको खुलासा गरेका थिए । त्यसयता उनले कतिपय सार्वजनिक कार्यक्रममा समेत पार्टी एकताका ’boutमा बोल्दै आएका छन् । तर, एकीकृत समाजवादीका नेताहरूले पार्टी एकताको विरोध गरेका छन् ।

एमाले र माओवादी केन्द्रका बीचमा यसअघि भएको पार्टी एकतापश्चात बनेको नेकपाको उदाहरण दिँदै भुसालले माथि टाउकामा मात्र एकता गरे असफल हुने जनाएका छन् । ‘नेतृत्वका केही मानिसका सत्ता स्वार्थका कारण गरिने एकता भरपर्दो हुँदो रहेनछ भन्ने उदाहरण २०७५ सालमा भएको एमाले र माओवादी केन्द्रका बीचको एकता, कचिंगल र विभाजनले देखाएको छ,’ भुसालले प्रतिवेदनमा लेखेका छन्, ‘त्यस घटनाबाट हामीले धेरै कुरा सिक्नुपर्नेछ ।’

गत आमनिर्वाचनबाट पार्टी राष्ट्रिय दल नबनेको, बेलाबेलामा पार्टी एकताको विषय उठेको र महाधिवेशनबाट केही नेताले जिम्मेवारी नपाई पार्टीमा निराशा छाएका कारण कतिपय नेता एमालेमै फर्किरहेका छन् भने कतिपय नेताहरू फर्किने तयारीमा रहेका बताइएको छ ।

‘निराशा, हतास, अन्योल, पलायन, निष्क्रियताजस्ता प्रवृत्ति देखिएका छन्, जसले गर्दा कतिपयमा एमालेसँग सामीप्य खोज्ने, अरू कतिपयमा माओवादीसँग नजिकिन खोज्ने र आमरूपमा अन्योलग्रस्त प्रवृत्ति देखिएका छन्,’ महासचिव भुसालको प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘पार्टी निर्माणको एउटा स्पष्ट राजनीतिक कार्ययोजनाले मात्रै यसलाई समाधान गर्न सक्छ, खुलस्त छलफलद्वारा पार्टी पंक्तिलाई एकताबद्ध नबनाउने हो भने पार्टीले गति लिन सक्दैन् ।’

२०७५ सालमा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता गरेको साढे ३ वर्ष पूरा नहुँदै नेकपा विभाजन भएको थियो । प्रतिवेदनमाथि बोल्नेक्रममा नेताहरूले माओवादीसँग एकता गर्दा पार्टी विलय हुने जनाएका छन् । माओवादीसँग एकताका नाममा संगठन कमजोर हुँदै गएको उनीहरूको भनाइ छ । सैद्धान्तिक र वैचारिक आधारमा भन्दा सत्तास्वार्थलाई ध्यान दिँदा विगतको पार्टी एकता असफल भएको भन्दै स्थायी कमिटी सदस्यले प्रतिवेदनलाई समर्थन गरेका छन् ।

‘एमाले र माओवादी एकठाउँमा आउनु, संसद्मा झन्डै दुई तिहाइ सिट आउनु, पार्टी एकता हुनु र त्यस पार्टीले समाजवादी कार्यदिशा समात्नुले कम्युनिस्ट आन्दोलनमा असाधारण सम्भावना अगाडि ल्याएका थिए तर कम्युनिस्ट आन्दोलनको भविष्यभन्दा ठूलो पार्टी बनाउने र सत्तामा राज गर्ने स्वार्थमा आधारित भएर गरिएको पार्टी एकताले परिणाम दिएन्,’ महासचिव भुसालले जनाएका छन् ।

पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालदेखि उपाध्यक्ष जगन्नाथ खतिवडालगायतका नेता पार्टी एकताको विपक्षमा उभिँदै आएका छन् । सम्मानित नेता खनालले स्थायी कमिटी बैठकमा आफ्नो प्रतिवेदन पेस गर्दै पार्टी एकतालाई हल्काफुल्का ढंगले हेर्न नहुने जनाएका छन् ।

‘पार्टी एकीकरण एउटा गहन प्रक्रिया हो, त्यसलाई हल्काफुल्का ढंगले हेर्नुहुँदैन, सम्बन्धित समूहहरूबीच वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक कार्यदिशामा एकरूपताबिना पार्टी एकीकरण सम्भव हुँदैन,’ खनालले भनेका छन्, ‘तर, साझा सवालमा कार्यगत एकता जहिले पनि गर्न सकिन्छ, आजको आवश्यकता सबै वामपन्थीहरूबीच साझा सवालमा कार्यगत एकता गर्नु नै हो, त्यस एकताबाटै पार्टी एकीकरणको उचाइतिर क्रमिक रूपले अघि बढ्न सकिन्छ ।’

एकीकृत समाजवादीका उपाध्यक्ष खतिवडाले पार्टीलाई नै बलियो बनाउनुपर्ने र कुनै पार्टी आफूहरूसँग एकताका लागि आउँछ भने आफ्नो पार्टीलाई केन्द्रमा राखेर मात्रै एकताका लागि अगाडि बढ्न सकिने जनाएका छन् । अहिलेको प्राथमिकता मुद्दा पार्टी एकतालाई बनाउन नहुने उपाध्यक्ष खतिवडाले बताए । उनले पार्टीभित्र औपचारिक र अनौपचारिक रूपमा पार्टी एकताका ’boutमा छलफल नै नभएको स्पष्ट पारे । वामपन्थी एकता आवश्यक भए पनि अहिले सम्भव नरहेको उनको भनाइ छ ।

‘एकता प्रस्ताव हाम्रो पार्टीमा पनि छैन, व्यक्तिहरूले कुन–कुन विषयमा छलफल गर्नुहुन्छ ? कति गम्भीर भएर छलफल गर्नुहुन्छ ? यो कुरा थाहा हुँदैन तर पार्टीमा यो विषय न औपचारिक रूपले आएको छ, न अनौपचारिक रूपले हामीसँग छलफल भएको छ ? यसकारण हाम्रो पहिलो एजेन्डा एकीकृत समाजवादीलाई बलियो पार्नु हो,’ उपाध्यक्ष खतिवडाले भने । एकीकृत समाजवादीलाई केन्द्रबिन्दु बनाएर कुनै पनि शक्तिसँगै हिँड्न चाहयो भने त्यसपछि छलफल गर्ने विषय वस्तु निर्माण हुनसक्ने उनको भनाइ थियो । ‘यसै कारण आज माओवादी मात्र होइन, कुनै पनि कम्युनिस्ट पार्टीसँग एकता गर्नुपर्छ भन्ने दृष्टिकोणबाट हामी हिँडिरहेका छैनौं,’ उपाध्यक्ष खतिवडाले भने ।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य जीवनराम श्रेष्ठले पार्टी बैठकमा माओवादी केन्द्रसँग एकता गर्ने विषयमा कुनै कुरा नआएको बताए । बैठकमा विभिन्न विषयमा छलफल जारी रहेको बताउँदै उनले माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा नेताहरू नभएको उल्लेख गरे ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रबि लामिछानेमाथिकाे अनुसन्धान प्रतिबेदन बुझाइयाे

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भजनीमा गठबन्धनलाई हराउँदै रेशम चाैधरीका उम्मेदवार विजयी