चीनमा नेपाली चलचित्रको प्रदर्शनमा सरकारी चासो

काठमाडौं । नेपाली चलचित्रले पछिल्लो वर्ष अन्तर्राष्ट्रिय बजार बिस्तार हुँदै गएको भए पनि छिमेकी मुलुक चीनमा अझै नेपाली चलचित्र व्यावसायिक प्रदर्शन हुन सकेको छैन । पञ्चायती कालमा शाही नेपाल चलचित्र संस्थानले निर्माण गरेको केही चलचित्रलाई चिनियाँ भाषामा ‘सब टाइटल’ राखेर त्यहाँका टेलिभिजनमा प्रदर्शन गरिएको थियो । त्यहाँका चलचित्र घरमा भने अझै पनि नेपाली चलचित्र व्यावसायिक रूपमा प्रदर्शन भएका छैनन् ।

तर अव चीनमा नेपाली चलचित्रको व्यावसायिक प्रदर्शनको बाटो खुल्ने भएको छ । यसको लागि नेपाल र चीनको निजी क्षेत्रबाट सुरु भएको पहल सरकारी तहमा पुगेको छ । जसबाट चीनमा नेपाली चलचित्र व्यावसायिक प्रदर्शनी गरिने सम्भावना बढेको हो ।

नेपालबाट चलचित्र सम्पादक करुण थापा र चीनबाट हुनान प्रान्तका चलचित्रकर्मी जिङवोको अध्यक्षतामा यसै वर्षबाट ‘नेपाल चिन एभरेस्ट चलचित्र महोत्सव’ सुरु भएको छ । गत साता हुनान प्रान्ताको राजधानी छान्छामा सुम्पन्न पहिलो संस्करणको ‘एभरेस्ट चलचित्र महोत्सव’मा ६ वटा नेपाली चलचित्र प्रदर्शन समेत गरियो ।

करुण थापाको अध्यक्षता नेपाल चलचित्र निर्देशक समाजको संयोजन र चलचित्र विकास बोर्डको सहयोगमा यो महोत्सवका लागि २१ वटा नेपाली चलचित्र पठाइएको थियो । ती २१ चलचित्र मध्य ६ वटा नेपाली चलचित्र ‘होस्टल ३’, ‘अञ्जिला’, ‘महाजात्रा’, ‘तेल भिसा’, ‘कबड्डी ४’ र ‘छक्का पञ्जा ४’लाई चीनमा प्रदर्शनको लागि छनौट गरेको थियो ।

यसरी छनौट भएका चलचित्रलाई चिनियाँ भाषामा सब टाइटल राखेर ‘नेपाल एभरेस्ट चलचित्र महोत्सव’मा गत सात चीनमा प्रदर्शन समेत गरियो । गोन्जाउ, छान्छासहित विभिन्न सहरमा देखाइएका यी चलचित्र त्यहाँका चलचित्रकर्मी, आइटी एवम् चलचित्रका विद्यार्थी, समीक्षक तथा चलचित्र प्रेमीहरूलाई देखाइयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको नेतृत्वमा निर्देशक समाजका अध्यक्ष जनकदिप सहित ६ वटै चलचित्रका एक एक जना निर्माता निर्देशक यस पटक चीनको निमन्त्रणामा आफ्नो चलचित्र देखाउन छान्छा पुगेका थिए । त्यहाँ नेपाली चलचित्र प्रदर्शन गरेर उनीहरू यसै साता काठमाडौँ फर्किएका छन् ।

यो विषयमा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुलीले राजधानीसँग भने,‘ त्यहाँका भव्य अत्याधुनिक चलचित्र घरहरूमा यस पटक एभरेस्ट चलचित्र महोत्सव शीर्षकमा हाम्रो चलचित्र प्रदर्शन गरिँदा हामीलाई निकै खुसी लाग्यो । प्रदर्शन गरिएको ६ वटा चलचित्र मध्येबाट दुई वटा चलचित्रलाई चयन गरेर व्यावसायिक रूपमा चलचित्र घरमा रिलिज गरिने पहल सरकारी निकायबाट भइरहेको जानकारी यति बेला चीनबाट आउँदा हामीलाई निकै ठुलो हौसला मिलेको छ ।’

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार चीनमा विदेशी चलचित्रको ब्यवासयिक प्रदर्शनी त्यति सहज छैन । त्यहाँ विदेशी चलचित्र कोटा प्रणालीबाट रिलिज गरिने हुँदा निकै कम विदेशी चलचित्र चीनमा व्यावसायिक प्रदर्शन हुन्छ । तर यसरी चीनमा प्रदर्शन भएका विदेशी चलचित्रको व्यापार निकै राम्रो हुने गरेको पनि अध्यक्ष डिसीले बताएका छन् । सोही कारण पनि यो वर्षको लागि दुई वटा नेपाली चलचित्र चयन गरेर त्यहाँ प्रदर्शनी हुने पहल भइरहेको जानकारी पाउँदा खुसी लागेको उनले बताए ।

यो विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले राजधानीसँग भने,‘चीनमा गत साता देखाइएको नेपाली चलचित्रहरूलाई त्यहाँका चलचित्र र आम सञ्चारका हजारौँ विद्यार्थी, चलचित्र समीक्षक, पत्रकार, चलचित्र सेन्सर बोर्डका पदाधिकारीहरूले अहिले हेरेर आफ्नो मत दिँदै छन् । त्यो मतको आधारमा सबैभन्दा बढी रुचाइएको दुई चलचित्रलाई चीनमा व्यावसायिक प्रदर्शनको लागि चलचित्र प्रदर्शन सम्बन्धी निकायलाई सिफारिस गरिने छ,’ सम्बन्धित निकायले छनौट गरेको चलचित्र केन्द्रीय समितिलाई मन परेको खण्डमा व्यावसायिक रूपमा चलचित्र घरमा प्रदर्शन गर्न अनुमित प्राप्त हुने पनि अध्यक्ष डिसीले जानकारी गराए । त्यसैले त्यहाँ ६ वटा मध्ये दुई वटा नेपाली चलचित्र व्यावसायिक प्रदर्शनको लागि चयन हुन सक्ने ठुलो सम्भावना रहेको पनि उनले बताए ।

यस अघि चीनले दुई वटा भारतीय चलचित्रलाई केही वर्ष यताबाट हरेक साल कोटामा पार्दै आएको थियो । तर यस पटक अभिनेता सलमान खानले निर्माण गरेको चलचित्र ‘मातृभूमि’मा चिन विरुद्धको कथा समेटिएको भन्दै भारतीय चलचित्रको कोटा हाललाई चीनले स्थगित गरेको छ । सोही कारण पनि यस पटक चीनमा यो कोटामा नेपाली चलचित्रले व्यावसायिक प्रदर्शनको लागि स्थान पाउने विश्वास बोर्ड अध्यक्ष दिनेश डिसीले राजधानीसँग व्यक्त गरे ।

विश्वले आफ्ना चलचित्र चीनमा प्रदर्शनको लागि कोटामा परोस् भनेर संघर्ष गर्दै आएको छ । तर, नेपाली चलचित्रलाई त्यहाँ प्रदर्शनको लागि यति बेला त्यहाँको सरकारले चासो देखाउनु सुखद पक्ष भएको पनि अध्यक्ष डिसीले जिकिर गरे । त्यसो त नेपालमा पनि अब चलचित्र विकास बोर्डको सहयोगमा हरेक वर्ष चीन एभरेष्ट चलचित्र महोत्सवको आयोजनासँगै चीनको चलचित्र प्रदर्शन गरिने भएको छ ।
यसले नेपाल र चीनबिच चलचित्रको व्यावसायिक प्रदर्शनीको बाटो खोल्ने र यो यात्रा अघि बढ्ने विश्वास नेपाल एभरेष्ट चलचित्र महोत्सवका अध्यक्ष करुण थापाको छ । यस पटक चीनमा महोत्सवका रूपमा प्रदर्शन गरिएको ६ वटा चलचित्र मध्ये दुई वटा चलचित्रले व्यावसायिक प्रदर्शनको अवसर पाएमा आगामी वर्षबाट त्यहाँ नपाली चलचित्रको व्यावसायिक प्रदर्शन सहज हुने पनि थापाले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

पलेँटीमा गुन्जिए पवन र रमेश