म नृत्यमा कमजोर छु : प्रियंका


मुम्बई । बलिउड तथा लिउड अभिनेत्री प्रियंका चोपडाले आफू नृत्यमा सुरुदेखि नै कमजोर रहेको बताएकी छन् । उनी हाल नयाँ चलचित्र ‘वाराणसी’ छायांकनमा छिन् । १४ महिनाअघिबाट छायांकन सुरु यस चलचित्रको अहिले दोस्रो सिजनको छायांकन जारी छ ।

आफ्नो ‘करियर’मा बलिउडदेखि हलिउडसम्म सफलता हासिल गरेकी प्रियंका ‘वाराणसी’बाट निकै आशावादी छिन् । आफूले चलचित्रमा मारपिटसँगै लडाइँका दृश्यसमेत कुशल ढंगले सम्पन्न गरेको प्रियंकाको विश्वास छ । त्यसो त, उनले चलचित्रका गीतमा नृत्य पनि प्रस्तुत नगरेकी हैनन् । यद्यपि, उनले आफू सुरुदेखि नै नृत्यमा कमजोर रहेको खुलासा गरेकी छन् ।

प्रियंकाका अनुसार जब उनले चलचित्र ‘करियर’ सुरु गरेकी थिइन्, नृत्यमा निकै कमजोर थिइन् । जसका कारण उनले डान्स मास्टरको निकै गुनासो सुन्नुपथ्र्यो । ‘जब मैले चलचित्र करिअर सुरु गरें, म नृत्यमा निकै कमजोर थिएँ । एकै समय अभिनय र कोरियोग्राफीलाई सन्तुलनमा राख्न सक्दिनथेँ,’ भोग अरेबियासँगको एक अन्तर्वार्तामा प्रियंका चोपडाले भनेकी छन्, ‘नृत्य प्रस्तुतिक्रममा सहकलाकारसँग म उनीहरूका तालमा समेत समन्वय गर्न सक्दिनथें । मेरो त्यतिबेलाको १९÷२० वर्षको दिमागलाई नृत्य र अभिनयको भाव एकैसाथ प्रस्तुत गर्न धेरै गाह्रो हुन्थ्यो ।’

नृत्य कमजोरीले नै आफ्नो पहिलो चलचित्रको गीतको छायांकनक्रममा वरिष्ठ कोरियोग्राफरसँग काम गर्न असहमति निम्तिएको उनले सम्झेकी छन् । यस विषयमा प्रियंकाले थपेकी छन्, ‘म दक्षिण अफ्रिकामा राजु खानसँग गीतको छायांकन गरिरहेको थिएँ र त्यतिबेला नृत्य गर्नेक्रममा राम्ररी उभिन सकिनँ । कोरियोग्राफर राजु यति धेरै रिसाए कि उनले माइक्रोफोन नै तल फ्याँकेका थिए ।’

त्यतिबेला आफूलाई राजुले ‘तिमी सौन्दर्य प्रतियोगितामा विश्व सुन्दरी बन्यो तर नायिका बन्न आजबाटै अनिवार्यरूपमा नाच्न सिक र बल्ल छायांकनमा आऊ’ भनेर सुझाएको प्रियंका सम्झिन्छिन् । पछि निकै मेहनतसाथ कोरियोग्राफर राजुले गीतमा आफूलाई नचाएको पनि उनले बताएकी छन् ।

चलचित्रमा नृत्य गर्नैपर्ने भएपछि क्याट्रिना कैफसँग दिनको ६ घण्टासम्म अभ्यास गरेको पनि उनले बताएकी छन् । त्यतिबेला क्याट्रिना पनि बलिउडमा उदाउँदो कलाकार थिइन् । आफूले नृत्यमा निकै मेहनत गरेपछि ‘देशी गर्ल…’ र ‘राम चाहे लीला…’जस्ता गीतमा ‘आइटम’ नृत्य प्रस्तुत गर्न सकेको पनि उनको कथन छ ।-एजेन्सी

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु