पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्षमा पुण्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।
महासंघको बुधबार पोखरामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षका प्रत्यासी हरिशरण केसीलाई भारी मतान्तरले पछाडि पर्दै सिटौला निर्वाचित भएका हुन् । कुल खसेको १ हजार ५ सय ६० मतमध्ये सिटौलाले १ हजार ३० मत प्राप्त गर्दा केसीले ४ सय ६४ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षमा विजयी सिटौलालाई नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रनिकटका व्यवसायीहरुको समर्थन थियो । केसीले भने स्वतन्त्ररूपमा उम्मेदवारी दिएका थिए ।
यसैगरी, महासंघको ३ वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापती (८२६), ऐनकुमार साई (७४९) र केदार पौडेल (५७९) निर्वाचित भए । उक्त पदमा ६ जनाबीच प्रतिस्पर्धा भएकामा अन्य प्रत्यासीहरु राजेन्द्र रिजाल ४९७, सुनिल कुँवर ४९१ र गोकर्णप्रसाद पराजुली ४१५ मत ल्याए । तीमध्ये राजेन्द्र रिजाल र सुनिल कुँवर दुवै सिटौला प्यालनका थिए ।
७ उपाध्यक्ष पदमा चन्द्रा ओझा (७८३), डम्बरराज पन्त (६९३), आत्माराम थापा (६३१), कान्छाराम थिङ (६१०), कान्छाराम बल (५८५), जितबहादुर भारती (५५६) र रामप्रसाद सुवेदी (५३९) निर्वाचित भए । उपाध्यक्षमा १३ जनाको उम्मेदवारी परेको थियो ।
उपाध्यक्ष (मालवाहकतर्फ) यादवलाल श्रेष्ठ ७६ मत प्राप्त गरेर विजयी हुँदा नवीन प्रजापतीले ६३ मत मात्र प्राप्त गरे ।
महासंघको महासचिवमा डेकनाथ गौतम निर्वाचित भए । उनले ६९८ मत ल्याउँदै विजयी भए । महासचिवका प्रत्यासीहरु ज्ञानेन्द्र श्रेष्ठले ४८९ र शम्भुप्रसाद रिजालले २८३ मत मात्र प्राप्त गर्दा पराजित हुन पुगे ।
३ उपमहासचिवमा देविन श्रेष्ठ (८४१), भानुभक्त बराल (७६१) र पुरुषोत्तम सिंखडा (६१३) निर्वाचित भए ।
३ सचिवमा उमेश केसी (५९९), चेतप्रसाद गौतम (अर्जुन) (७६१) र टंकप्रसाद बस्याल (६१३) निर्वाचित भए । कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मत र सहकोषाध्यक्षमा शोभाखर पौडेल ७९५ मतसहित विजयी भए ।
१४ सदस्यहरुमा समीक्षा गुरुङ, अर्जुन श्रेष्ठ, गोपाल कार्की, दीपक बोहोरा, अशोककुमार चौधरी, प्रकाश तिवारी, कृष्णप्रसाद सुवेदी, गणेशराज पाण्डे, पदमराज सापकोटा, गणेशबहादुर गुरुङ, हरिभक्त श्रेष्ठ, टेकेन्द्र राई, भूपेन्द्र खड्का र हेमराज दाहाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
महासंघको ८६ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ८४ पदका लागि मतदान भएको हो । नयाँ नेतृत्व चयन गर्न देशभरका ३ सय ८७ संस्थाका १ हजार ६ सय ६३ प्रतिनिधि पर्यटकीय राजधानी पोखरामा ५ दिनदेखि जम्मा भएका थिए ।
यसैबीच, नवनिर्वाचित अध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने विषयलाई मुख्य प्राथमिकतामा राखेको जनाए । अनलाइन टिकेटिङ, जीपीएस सिस्टम जडान र क्यासलेस प्रणालीलाई प्राथमिकता दिने उनको घोषणा छ ।
सम्बन्धित समाचार
स्याङ्जामा विपिसीको सेवा अवरुद्ध
निर्जीवन बिमा व्यवसाय उत्साहजनक
नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
एसियन हाइवे योजनामाथि गम्भीर प्रश्न
पत्रकार बस्नेत र बराललाई १ लाख राशिको दयाशंकर पालिखे पत्रकारिता सम्मान
शून्य लागतमा २० नेपाली आज मलेसिया जाँदै
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण






