कान्स फेस्टिभलमा नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’

काठमाडौं । मंगलवारबाट फ्रान्सको कान्स सहरमा सुरु भएको विश्व प्रसिद्ध चलचित्र महोत्सव ‘कान्स फिल्म फेस्टिभल २०२६’मा यस पटक नेपाली चलचित्र पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा चयन भएको छ । १० दिनसम्म जारी रहने यो चलचित्र महोत्सवमा नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ छानिएको छ ।

कान्सले यो चलचित्रको प्रिमियर मिति पनि सार्वजनिक गरेको छ । महोत्सवमा यो चलचित्र २० मे अर्थात् आगामी ७ जेठमा प्रिमियर हुने क्यान्सको प्रिमियर सूचीमा उल्लेख गरिएको छ । यसरी विश्वको सबै भन्दा ठुलो चलचित्र महोत्सव कान्समा नेपाली चलचित्र चयनसँगै प्रिमियर हुनु चलचित्रकर्मीहरूको लागि सुखद समाचार हो । नेपाली चलचित्र कान्स जस्तो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको प्रतिस्पर्धामा चयन भएकोमा यसको निर्माण पक्षलाई चलचित्र विकास बोर्डले बधाई ज्ञापन गरेको छ । बोर्डले यो चलचित्रलाई सहयोग पनि गर्ने जनाएको छ । चलचित्र ‘एलिफेन्ट्स इन द फग’ कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा चयन भएको हो । चलचित्रको प्रिमियर पनि यही विधामा हुँदै छ । निर्देशक अविनाश विक्रम शाहले यो चलचित्र निर्देशन गरेका हुन् । उनको यो पहिलो फिचर चलचित्र हो ।

चलचित्र ‘एलिफेन्ट्स इन द फग’मा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, जोएल गुरुङ, उमेश पाण्डे, शान्ति गिरी, सञ्जय गुप्ता, महिमा नौबाग, आशान्त शर्मालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

निर्देशक अविनाश विक्रम शाहका अनुसार झापामा बिगबिगी रहेको हात्ती आतंक र त्यहाँ हात्तीले निम्त्याएका धनजन क्षतिपछि समस्याको कथा यो चलचित्रमा समेटिएको छ । चलचित्रमा तेस्रो लिंगीहरुको समाजमा संघर्षको कथालाई पनि प्रस्तुत गरिएको छ । यो चलचित्रलाई अनुप पौडेल, कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल, प्रचण्ड मान श्रेष्ठलगायत निर्माण गरेका हुन् । ‘एलिफेन्ट्स इन द फग’ कान्समा प्रिमियर हुने भएपछि यो चलचित्रको ट्रेलर यति बेला सार्वजनिक गरिएको छ । १ मिनेट ४४ सेकेण्डको ट्रेलरमा पनि गाउँमा हात्तीको बिगबिगीलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा तेस्रो लिंगीहरुको संघर्ष पनि प्रस्तुत गरिएको छ ।

यो चलचित्र सुरुमा अन्तर्राष्ट्रिय बजारमा रिलिज गरिने भएको छ । चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकारी ‘वेस्ट फ्रेन्ड फरेभर’ले लिएको यसका निर्देशक अविनाशले बताएका छन् । चलचित्रलाई फ्रान्समा ‘अरिजोना डिस्ट्रीब्युसन’ र ‘ले भाल्सेउर डिस्ट्रीब्युसन’, जर्मनी र अस्ट्रियामा ‘मिसिङ फिल्म्स’ र ब्राजिलमा ‘इमोभिजन’ले प्रदर्शन गर्ने पक्का भएको छ ।
यो चलचित्रको प्रिमियरका लागि केही कलाकार र निर्माण टोलीलाई लिएर निर्देशक अविनाश कान्समा सहभागी हुन फ्रान्स तर्फ लाग्दै छन् । विदेशमा रिलिज पछि २०८३ भित्रै नेपालमा पनि चलचित्र ‘एलिफेन्ट्स इन द फग’ रिलिज गर्ने पनि निर्देशक अविनाशले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज