सभामुखकै जोडबलमा विशेषाधिकारसहितको नियमावली

काठमाडौं । प्रतिनिधिसभा बैठकमा झडप, नाराबाजी र होहल्लाबीच आइतबार पारित भएको नियमावलीले ‘विशेषाधिकारसहितको कानुन’को मान्यता पाउने भएको छ । आइतबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलले बेल घेराउसहित नाराबाजी र विरोध प्रदर्शन गर्दागर्दै ध्वनि मतको बलमा पारित गरेको नियमावली तत्कालैबाट विवादमा परेको छ ।

आइतबार संसदबाट पारित प्रतिनिधिसभा नियमावलीले सांसदहरूलाई ‘कानुनभन्दा माथि’ जस्तै व्याख्या गरेपछि विपक्षी दलका सांसदहरू आन्दोलित भएका थिए । नियमावलीको नियम २५९ मा सांसदहरूका लागि ‘नियमावली लागू हुने’ सम्बन्धी प्रावधानमा यस्तो विशेषाधिकार व्यवस्था गरी पारित गरिएको हो ।

आइतबार पारित नियमावलीको दफा २५९ को उपदफा १ मा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानुनको रूपमा रही विशेष कानुनसरह लागू हुनेछ ।’

नियमावलीमा सिलसिलेवार रूपमा विवादास्पद व्यवस्था राखिएको पाइएको छ । नियमावलीको दफा २५९ कै उपदफा २ मा ‘यो नियमावली प्रतिनिधिसभा सदस्यको विशेषाधिकारको रूपमा रहनेछ’ भन्ने व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा नियमावलीको अर्को नियममा पनि यस्तै विवादास्पद व्यवस्था छ, जसले प्रतिनिधिसभाका सभामुखलाई विशिष्ट अधिकारको सिर्जना गरिएको छ । नियम २६० मा नियमावलीको व्याख्या गर्दै लेखिएको छ, ‘यस नियमावलीको व्याख्या गर्ने अधिकार सभामुखलाई हुनेछ र निजको निर्णय अन्तिम हुनेछ । त्यस्तो निर्णयको जानकारी बैठकलाई दिनुपर्नेछ ।’

संविधान र कानुनअन्तर्गत निर्वाचित भएका सभामुखलाई संविधान र कानुनभन्दा माथिको विशेषाधिकारको सिर्जना गर्दै त्यस्तो अधिकार प्रयोग गरी गरिएको कारबाहीका विरोधमा कुनै पनि अदालतमा समेत प्रश्न उठाउन नपाइने व्यवस्था गरिएको छ ।

संविधान र कानुनमा भएका व्याख्याहरूलाई अदालतमा प्रश्न गर्न पाइने देशमा सभामुखको निर्णयमाथि कुनै अदालतमा प्रश्न उठाउन नपाइने भन्ने व्यवस्थाले संसदीय निरंकुशता देखिएको टिप्पणी विपक्षीहरूले गर्दै आएका छन् । सभामुखले आन्तरिक कामकारबाही मानेको नियम २६१ को विरोधमा कुनै अदालतमा प्रश्न उठाउन नपाइने व्यवस्था गरिएको छ ।

नियमावलीको नियम २५९ र २६१ बमोजिम गरिएका निर्णयमाथि कतै प्रश्न उठाउन नपाइने भन्ने व्यवस्थाको रूपमा रहेको छ । नियमावलीमा अन्य प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि सभा, समिति र सदस्यको हकमा नियमावली विशेष कानुनसरह लागु हुन्छ, यसको व्याख्या सभामुखले गर्छन्, यसलाई संसद्को आन्तरिक कामकारबाही मानिन्छ र कुनै पनि अदालतमा प्रश्न उठाउन पाइँदैन भन्ने ब्यहोरा उल्लेख गरिएको छ ।

प्रतिनिधिसभाका सांसदलाई फौजदारी मुद्दा वा गम्भीर प्रकृतिको मुद्दामा निलम्बन गर्नुपर्ने अवस्था आउँदा जोगाउनका लागि सभामुखमा विशेषाधिकार केन्द्रित गरिएको विपक्षी दलका नेताहरूको टिप्पणी रहेको छ । सांसद पद निलम्बनसम्बन्धी व्यवस्था नियमावलीको नियम २४७ मा सदस्यको पक्राउसम्बन्धी जानकारी दिने शीर्षकको उपदफा १ मा सांसदहरूलाई कानुनभन्दा माथि राखेको पाइएको छ । फौजदारी अभियोगमा सांसदलाई पक्राउ गर्न सक्ने व्यवस्था संविधानमै उल्लेख रहेको भए तापनि प्रतिनिधिसभा नियमावलीको नियम १४७ को उपनियम ३ मा सांसद पद निलम्बनको व्यवस्था संशोधन गर्दा संविधानको भावनाविपरीत गरिएको पाइएको छ ।

प्रतिनिधिसभा नियमावली २५९ अनुसार सांसदको हकमा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि यही नियमावली संघीय कानुनको रूपमा रही विशेष कानुनसरह लागू हुन्छ र यसको अन्तिम व्याख्या सभामुखले गर्नेछन् भन्ने व्यवस्थाले संविधानको भावनाविपरीत सभामुखमा अधिकार केन्द्रित गर्न विशेष कानुन बनाइएको विपक्षी दलका सांसदहरूको आरोप छ ।

प्रतिनिधिसभा नियमावली २०७९ को व्यवस्थामा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेको अवस्थामा पनि सांसद निलम्बन हुने व्यवस्था भएकोमा अब त्यस्तो नहुने भएको हो । सांसदको हकमा नियमावलीलाई नै संघीय कानुनको रूपमा रही विशेष कानुनसरह लागू हुन्छ भन्ने व्यवस्था गरेकाले विद्यमान कानुन विस्थापन गर्न प्रतिनिधिसभाबाट हुलहुज्जतसहित नियमावली पास गरिएको आरोप प्रतिपक्षीहरूले लगाएका छन् ।

प्रतिनिधिसभा नियमावली २०७९ मा रहेको यही नियमका आधारमा अघिल्लो संसद्मा रास्वपा सभापति रवि लामिछाने निलम्बनमा परेका थिए । यही व्यवस्थालाई विशेष कानुनसरह बनाएर सभामुखको विवेकमा विशेषाधिकार केन्द्रित गर्दा आफू अनुकूल गर्न पाइने गरी नियम २५९ थप गरिएको आरोप लाग्ने गरेको हो ।

प्रस्तावित नियम २५९ भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण ऐनसँग बाझिने भन्दै प्रतिपक्षी दलका सांसदहरूले सदनमा विरोध जनाउँदै आएका थिए । ‘संसद्, संसदीय समिति र सांसदलाई अन्य कानुनले छुनै नसक्ने सुप्रिम कसरी हुन सकिन्छ ?’ भन्दै सांसदहरूले आपत्ति जनाउँदै आएका थिए ।

नियमावलीमा ३५ वटा संशोधन परेको भएपनि आइतबारको बैठकमा सभामुख अर्यालले फटाफट पढ्दै ध्वनि मतले अस्वीकृत गराएका थिए । सबै संशोधन प्रस्तावलाई संसदीय समितिमा लगेर दफावार छलफल गरिनुपर्ने विपक्षी दलहरूको मागविपरीत सभामुखले दुई तीन मिनेटमै एउटा संशोधनलाई अस्वीकृत गरेपछि विपक्षी दलका सांसदहरू आक्रोसित भएर नाराबाजीमा उत्रिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

शान्ति सेना दिवसमा नेपाली सेनाको विशेष कार्यक्रम