वैदेशिक रोजगार व्यवसायी आन्दोलित, विभिन्न संघसंस्थाको ऐक्यबद्धता

काठमाडौं । वैदेशिक रोजगार क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानको माग गर्दै म्यानपावर व्यवसायीहरू कालोपट्टी बाँधेर विरोध जनाउँदै काममा जुटेका छन्। व्यवसायीहरूले आफूहरूमाथि भइरहेको अन्याय, अव्यवहारिक कारबाही, धरपकड तथा सेवा शुल्क वृद्धिलगायतका विषय उठाउँदै आन्दोलन थालेका हुन्।

आन्दोलनलाई व्यवस्थित र प्रभावकारी बनाउन काठमाडौं उपत्यकाको २७ किलोमिटर रिङरोड क्षेत्रभित्र १० वटा उपसमिति गठन गरिएको छ। वैदेशिक रोजगार व्यवसायी संघका तृतीय उपाध्यक्ष एवं त्रिवेणी आभरसिसका अध्यक्ष लक्ष्मण पौडेलको रोहबरमा ती उपसमिति गठन गरिएको जनाइएको छ।

आन्दोलनप्रति विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाएका छन्। प्रगतिशील वैदेशिक रोजगार मञ्च नेपाल, राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनमा ऐक्यबद्धता जनाएको वैदेशिक रोजगार व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी वैदेशिक रोजगार इथिकल ओरिएन्टेसन राष्ट्रिय संघ, राष्ट्रिय अभिमुखीकरण तालिम संघ र वैदेशिक रोजगार अभिमुखीकरण तालिम महासंघले समेत आन्दोलनप्रति ऐक्यबद्धता जनाएको महासंघको भनाइ छ ।

व्यवसायीहरूले वैदेशिक रोजगार क्षेत्रमा लामो समयदेखि देखिँदै आएका समस्या समाधान गर्नुपर्ने माग राखेका छन्। विशेषगरी व्यवसायीमाथि भइरहेको भनिएको अन्याय, सेवा शुल्क वृद्धि, म्यानपावर संस्थामाथि गरिएको अव्यवहारिक कारबाही, धरपकड तथा अन्य विभिन्न समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गराइएको छ।

व्यवसायीहरूले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन सरकार तथा सम्बन्धित निकायले व्यवसायीका जायज माग सम्बोधन गर्नुपर्ने बताएका छन् । उनीहरूले व्यवसायीमाथि हुने अव्यवहारिक कारबाही तथा धरपकड रोक्न र सेवा शुल्कलगायतका विषयमा व्यावहारिक नीति बनाउन माग गरेका छन्।

विभिन्न संघसंस्थाको ऐक्यबद्धतासहित आन्दोलन अघि बढेपछि वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि सरकारमाथि दबाब बढेको छ। व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम अघि बढाउने बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ : देउवा