त्रिशूलीपारीका पीडितको उद्धार न राहत

default

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको पाँचौँ दिन बितिसक्दा पनि रसुवा र त्रिशूली करिडोरको संकट उद्धारबाट राहत र पुनःस्थापनातर्फ प्रवेश गर्न सकेको छैन ।

भोकमरीको जोखिम, खाद्यान्न अभाव, नाकाबन्दीमा रसुवा क्षेत्र

बाढीले सडक, पुल, विद्युत्, सञ्चार र प्रशासनिक संरचना ध्वस्त बनाएपछि प्रभावित बस्तीमा अत्यावश्यक सेवा र राहत सामग्री पु¥याउन कठिन भएको छ । बाढीमा हराएका तथा सम्पर्कविहीनको खोजी जारी रहे पनि कतिपय दुर्गम बस्ती, खोँच तथा सुरुङमा फसेकाको अवस्था अझै यकिन हुन सकेको छैन । आफन्तको अवस्था थाहा नहुँदा परिवारजनमा बेचैनी बढेको छ ।

१० भदौ बिहान भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवाको टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी हुँदै बेत्रावती, त्रिशूली र त्यसपछिका बस्तीमा ठूलो क्षति पु¥याएको हो । बाढीको प्रभाव रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँलगायत जिल्लासम्म परेको छ ।

त्रिशूलीपारि आपूर्ति संकट
पुल तथा सडक बगेपछि त्रिशूलीपारिका बस्तीमा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित भएको छ । स्थानीय जनप्रतिनिधिका अनुसार कतिपय बस्तीमा नियमित आपूर्ति रोकिएको छ ।

आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बाढीले घर मात्र नभई बजारसँगको सम्पर्कसमेत विच्छेद गरिदिएकाले खाद्यान्न अभावको जोखिम बढेको बताए । ‘समस्या बाढीले घर बगाएको मात्र होइन, बाढीले बनाइदिएको नाकाबन्दी हो । गाउँमा पसलसम्म सामान आउन सकेको छैन, बजारसम्म पुग्ने बाटो छैन र नियमित खाद्यान्न आपूर्ति रोकिएको छ,’ उनले भने ।

बेत्रावतीदेखि त्रिशूलीपारिका कतिपय बस्तीमा सवारी आवागमन नहुँदा खाद्यान्न, औषधि तथा अन्य दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको छ । बाढीले त्रिशूली नदीमाथिका पुल तथा सडकका विभिन्न खण्डमा क्षति पु¥याएपछि कतिपय बस्तीमा पैदल पुग्नसमेत कठिन भएको छ ।

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले संघीय सरकारको उपस्थिति जमिनमा पर्याप्त रूपमा अनुभूति हुन नसकेको बताए । ‘संघीय सरकार आकाशमा उड्ने हेलिकोप्टरमा मात्रै देखियो, तर उत्तरगयाको जमिनमा अहिलेसम्म सरकारको अनुभूति गर्न सकिएको छैन,’ उनले भने ।

स्थानीयका अनुसार घर पूर्ण रूपमा क्षति नभएका परिवारसमेत खाद्यान्न संकटमा पर्न थालेका छन् । बजारसम्म पुग्ने बाटो तथा पुल नहुँदा पैसा भएर पनि आवश्यक सामग्री खरिद गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।

विद्यालयको खाद्यान्नले ४५० लाई खाना
शान्तिबजारमा राहत सामग्री समयमा पुग्न नसकेपछि विद्यालयको दिवा खाजा कार्यक्रमका लागि आएको खाद्यान्न प्रयोग गरेर विद्यार्थी तथा स्थानीयलाई खाना खुवाइएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार करिब ४५० विद्यार्थी तथा प्रभावितलाई त्यसैबाट खाना खुवाइएको थियो । बाढीबाट बचेका नागरिकका लागि अब तत्कालीन उद्धारसँगै खाद्यान्न, औषधि र सुरक्षित आवागमनको व्यवस्था चुनौती बनेको छ ।

बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदार तथा अन्य व्यक्तिको खोजी र उद्धार पनि चुनौतीपूर्ण बनेको छ । सुरुङमा लेदो, ढुंगा र माटो पसेका कारण प्रवेशद्वारसमेत पहिचान गर्न कठिन भएको उद्धारकर्ताले बताएका छन् ।

राहत र पुनःस्थापनाको चुनौती
सरकारले खोज तथा उद्धारसँगै राहत, स्वास्थ्य, विद्युत्, सञ्चार, अन्तर्राष्ट्रिय सहायता समन्वय तथा शव व्यवस्थापनका लागि विभिन्न संयन्त्र परिचालन गरेको जनाएको छ ।

हराएका तथा फेला परेका व्यक्तिको विवरण संकलनका लागि सरकारले ‘रसुवा बाढी उद्धार पोर्टल’ सञ्चालनमा ल्याएको छ । पोर्टलमा हराएका तथा फेला परेका व्यक्तिको विवरण, उद्धार अनुरोध, सहयोगको माग, उपलब्ध सहयोग तथा आपत्कालीन सम्पर्कको व्यवस्था गरिएको छ ।

तर सडक र पुलमा भएको क्षतिका कारण राहत वितरण नै अहिले मुख्य चुनौती बनेको छ । बाढीले त्रिशूली नदीमा रहेका कम्तीमा १९ पुलमा क्षति तथा करिब ४० किलोमिटर सडकमा क्षति पु¥याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

बाढीपछि अर्को विपत्ति
बेत्रावती र त्रिशूलीपारिका बस्तीमा बाढीको तत्कालीन त्रास केही कम भए पनि स्थानीयमा अर्को संकटको डर बढेको छ । ‘घरमा आगो लागेको छैन, घर भत्किएको छैन, परिवारका सदस्य जीवित छन् । तर बजारसँगको सम्बन्ध टुटेको छ । खाद्यान्न, औषधि, बाटो र बिजुली छैन,’ एक स्थानीयले भने, ‘अब बाढीबाट बाँचे पनि कसरी बाँच्ने भन्ने चिन्ता छ ।’

बाढीबाट भएको क्षति तत्कालीन उद्धारमा मात्र सीमित छैन । सडक, पुल, विद्युत् र सञ्चार संरचना एकैपटक क्षतिग्रस्त भएपछि प्रभावित क्षेत्रमा खाद्यान्न तथा औषधि आपूर्ति, स्वास्थ्य सेवा र दैनिक जीवन सञ्चालनमै चुनौती थपिएको स्थानीयको गुनासो छ ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

चार प्रदेशका एकदुई स्थानमा हल्का वर्षा