श्रीमान् खोज्दै चितवन पुगेका गोमा र फूलमायाहरू

चितवन । शनिबार घडीको सूईले साँझको ५ बजे देखाउँदै थियो । भरतपुर महानगरपालिका–१० स्थित उद्योग संघको भवन अगाडि दुई महिला गाढीबाट ओर्लिए । भवनमा रसुवा बाढीपछि विभिन्न स्थानमा फेला परेका तर सनाखत हुन नसकेका शवका तस्बिर राखिएका छन् ।

दुवै महिलाको अनुहारमा ११ दिनदेखिको छटपटी छ । आँखामा आँसु छ । भोटेकोशीदेखि चितवनसम्मको यात्रामा उनीहरूले बाटोभरि कतिपटक आँसु पुछे र कतिपटक मन दह्रो बनाए, त्यसको हिसाब छैन ।

सिन्धुपाल्चोकको तातोपानीकी गोमा बिक र फूलमाया बिकका आँखा ११ दिनदेखि ओभाएका छैनन् । उनीहरु नाताले जेठानी–देउरानी । तर, अहिले उनीहरू एउटै पीडा बोकेर हिँडिरहेका छन् । उनीहरूका श्रीमान् पूर्ण बिक र शुकलाल बिक सहोदर दाजुभाइ हुन् । दुवै जना भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता छन् ।

श्रीमान् बेपत्ता भएको ११ दिन बितिसक्दा पनि उनीहरूको आँखाको आँसु ओभाएको छैन । अस्पताल, प्रहरी कार्यालयदेखि सम्भावित खोजीस्थलसम्म पुगेर थाकिसकेका उनीहरूका लागि अब आशा र निराशाबीचको दूरी निकै साँघुरिएको छ ।

‘९ गते बेलुकासम्म कुरा भएको थियो,’ गोमाले गला अवरुद्ध पार्दै भनिन्, ‘१० गते त त्यो घटना भइहाल्यो ।’ ९ गते भएको त्यही फोन कुराकानी नै श्रीमान्को अन्तिम आवाज बन्ला भन्ने उनीहरूले कल्पनासमेत गरेका थिएनन् ।

पूर्ण र शुकलाल दुवै गाडी चालक थिए । परिवारको मुख्य आम्दानीको स्रोत उनीहरू नै थिए । श्रीमान् बेपत्ता भएपछि परिवारको आर्थिक आधारसमेत भत्किएको फूलमायाको भनाइ छ ।

‘हाम्रो त कमाइदिने, ल्याइदिने उहाँहरू नै हो । हामी त कहीँ गएर कमाएर ल्याउन सक्ने अवस्थामा छैनौँ,’ फूलमाया रुँदै भनिन् ।

बाढी आएको समयमा पूर्ण र शुकलालले कुन गाडी चलाइरहेका थिए भन्ने विवरणसमेत परिवारसँग छैन । गाडीधनी को हुन् भन्ने जानकारी नहुँदा उनीहरूको खोजी थप कठिन बनेको छ ।

‘हामीलाई गाडी नम्बर पनि थाहा छैन । साहुजीले पनि अहिलेसम्म एक कल फोन गरेर ‘मेरो गाडी चलाएको थियो’ भनिदिए हुन्थ्यो, तर कसैले सम्पर्क गरेका छैनन्,’ फूलमायाले भनिन् ।

श्रीमान्को खोजीमा उनीहरूले काठमाडौंका अस्पताल, प्रहरी कार्यालय र सम्भावित ठाउँहरू चहारिसकेका छन् । तर कतैबाट पनि पूर्ण र शुकलालको अवस्था’bout जानकारी पाउन सकेका छैनन् ।

‘हामी काठमाडौंका हस्पिटल, प्रहरी चौकी, सबै ठाउँ पुगिसक्यौँ,’ फूलमायाले भनिन्, ‘माथि चीनको सिमानातिर जान पाइँदैन, हामीलाई जान दिँदैनन् । त्यसैले अन्तिम आशा बोकेर यहाँ आएका हौँ ।’

अब जिउँदै श्रीमान् भेटिने आशा कमजोर हुँदै गएको उनीहरू बताउँछन् । ‘अब त आशा छैन । ज्यूँदो हुनुभएको भए यतिखेरसम्म फोन आउँथ्यो होला । फोन पनि आएको छैन,’ फूलमायाले भनिन् ।

तर जिउँदै भेटिने आशा कमजोर भए पनि शव वा शवको कुनै पहिचानयोग्य अंश भेटिए पनि आफूहरूले अन्तिम संस्कार गर्न पाउने उनीहरूको आशा छ । यही आशाले उनीहरू चितवनसम्म आइपुगेका हुन् ।

नेपाल प्रहरीले बाढीमा फेला परेका तथा सनाखत हुन नसकेका शवको विवरण र तस्बिर अनलाइनमार्फत राख्दै आएको छ । प्रहरीको आधिकारिक विवरणमा चितवनको भरतपुर–१ स्थित उद्योग संघको भवनमा समेत पहिचान नखुलेका शव राखिएको छ ।

गोमा र फूलमायालाई यस्तो विवरण अनलाइनबाट हेर्न सकिने जानकारीसमेत छैन । १० दिनसम्म खोजीमा भौतारिएपछि उनीहरू प्रत्यक्ष रूपमा तस्बिर हेर्न उद्योग संघको भवन पुगे । ‘फोटो चिनियो भने लास हेर्न मिल्छ कि भनेर अन्तिम चोटि यही हेर्न आएका हौँ,’ उनीहरूले भने । तर तस्बिरमा पनि श्रीमान्को अनुहार नभेटिएपछि उनीहरू निराश छन् ।

अब डीएनएकै आस
घरमा स–साना बालबच्चा छन् । गोमाका तीन छोरा छन् भने फूलमायाका दुई साना बालबच्चा छन् । श्रीमान्को अवस्था’bout जवाफ दिन नसक्दा बालबच्चाको भविष्य सम्झेर उनीहरूको पीडा झन् बढेको छ । ‘बालबच्चा छन्, सोधिदिने, खोजिदिने मान्छे कोही छैन । हामी त हारिसक्यौँ,’ गोमाले आँसु झार्दै भनिन् । अब उनीहरूको अन्तिम आशा डीएनए परीक्षण बनेको छ । उनीहरूले आफन्तको डीएनए नमुना दिइसकेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार बाढीमा फेला परेका शवको पहिचानका लागि आवश्यक फरेन्सिक प्रक्रिया अघि बढाइएको छ । नेपाल प्रहरीसँगै भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीले समेत डीएनए संकलन, परीक्षण र शव पहिचानमा सहयोग गरिरहेका छन् ।

‘हामीले डीएनए चेक गर्न दिएका छौँ । हामी गरिबको अन्तिम आशा भनेकै त्यही एउटा हो,’ फूलमाया र गोमाले भनिन्, ‘सरकारले त्यो डीएनए चेक छिटोभन्दा छिटो गरिदियोस् । ढिलो नगरिदिनुहोस्, हामी गरिबलाई यति सहयोग गरिदिनुहोस् ।’

पूर्ण र शुकलालले चलाएको गाडी र त्यसका धनी’bout जानकारी नहुनु परिवारका लागि अहिलेको अर्को ठूलो समस्या हो । गाडीधनी वा उनीहरूको अवस्था’bout जानकारी भएका व्यक्तिले परिवारलाई सम्पर्क गरिदिन उनीहरूले आग्रह गरेका छन् ।

‘साहुजीमा अलिकति धर्म छ, मनमा अलिकति दया छ भने हामीलाई सम्पर्क गरिदिनुहोला । हाम्रो नम्बर मिडियामा राखिदिनुहोला,’ फूलमाया भन्छिन् ।

भोटेकोशीको बाढीपछि पछिल्लो विवरणअनुसार करिब ५ हजार जना अझै सम्पर्कविहीन छन् भने बाढी प्रभावित क्षेत्रबाट १ हजार ३ सय ४१ शव फेला परिसकेका छन् । शव पहिचानको प्रक्रिया भने जारी छ ।

तस्वीरः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे