बेसहारा फत्तबहादुरको जीवन झन् कष्टकर

सुन्दरहरैंचा(मोरङ) । उमेरले ६३ वर्ष पुगेका मोरङको सुन्दरहरैंचा नगरपालिका–१० का फत्तबहादुर भुजेल यतिबेला जीवनको सबैभन्दा कठिन मोडमा छन्। जन्डिसबाट ग्रसित उनी प्रेसरसम्बन्धी समस्याका कारण हातखुट्टा समेत चलाउन नसक्ने अवस्थामा पुगेका छन्। शरीरले साथ छोड्दै गएको छ, तर उनको पीडा सुन्ने र सुरक्षित ठाउँ दिने सहारा भने अझै भेटिएको छैन।

भुजेलको परिवार भए पनि अहिले उनी लगभग सहाराविहीन अवस्थामा छन्। उनका एक छोरा भए पनि बाल्यकालमै उनलाई अलपत्र पारेर छाडिएको र अहिले भोजपुरतिर रहेको बताइएको छ। बुहारी माइतीमा रहेको तथा ६ छोरी सबै आ–आफ्नो घरजम गरेर बसे पनि बुवाको वर्तमान अवस्था’bout चासो नदिएको बताइएको छ।

घरपरिवारबाट सहयोग र हेरचाह नपाएपछि भुजेलको अवस्था सडकसम्म आइपुग्यो। यही क्रममा उनको दयनीय अवस्था’bout ‘सहयोगी मनहरू’ संस्थाका अध्यक्ष भीम अधिकारीलाई जानकारी पुगेपछि मानवीयताको नाताले तत्काल उद्धारको पहल गरिएको थियो।

अधिकारीसहितको टोलीले उनलाई सडकबाट उठाएर तत्कालका लागि एक घरको बरन्डामा राख्ने व्यवस्था मिलायो। तर, त्यो अस्थायी आश्रय पनि धेरै दिन टिक्न सकेन। घरधनीले समेत उनलाई त्यहाँबाट हटाउन आग्रह गरेपछि अहिले भुजेललाई कहाँ राख्ने भन्ने गम्भीर समस्या उत्पन्न भएको छ।

“सडकमा छाड्न पनि सकिएन, त्यसैले तत्कालका लागि सुरक्षित ठाउँमा राख्यौँ। तर, त्यहाँबाट पनि हटाउनुपर्ने अवस्था आयो। मानव सेवा आश्रममा समेत पहल गर्‍यौँ, तर तत्काल लैजान सक्ने अवस्था भएन,” अध्यक्ष भीम अधिकारीले भने।

भुजेलको अवस्था’bout स्थानीय सरकारलाई पटक–पटक जानकारी गराउँदै सहयोगका लागि आग्रह गरिएको अधिकारीको भनाइ छ। तर, पटक–पटक जानकारी गराउँदा पनि नगरपालिका तहबाट अपेक्षित पहल हुन नसकेको उनको गुनासो छ।

उनका अनुसार अहिले संस्थालाई सबैभन्दा ठूलो चिन्ता भुजेललाई कहाँ राख्ने, कसरी उपचार गराउने र दैनिक हेरचाह कसरी गर्ने भन्ने विषयमा छ।

एकातिर बिरामी शरीर, अर्कोतिर आफ्नै भन्नेहरूबाट बेवास्ता। न बस्ने घर छ, न नियमित उपचारको व्यवस्था, न हात समातेर अस्पताल लैजाने आफन्त। यस्तो अवस्थामा ६३ वर्षीय भुजेलको जीवन मानवीय सहयोगको प्रतीक्षामा अडिएको छ।

स्थानीय तहले असहाय, ज्येष्ठ तथा संरक्षण आवश्यक पर्ने नागरिकको अवस्था’bout तत्काल चासो दिनुपर्ने आवाज उठिरहेको छ। परिवारको साथ नपाएका नागरिकलाई सडकमा छाडिनुपर्ने अवस्था आउनु केवल एउटा व्यक्तिको समस्या नभई समाज र राज्यको संवेदनशीलतासँग जोडिएको विषय हो।

‘सहयोगी मनहरू’ संस्थाले आफ्नो क्षमताअनुसार तत्काल सहयोग गरिरहेको भए पनि दीर्घकालीन रूपमा भुजेलको उपचार, सुरक्षित आवास, खाना र नियमित हेरचाहका लागि स्थानीय सरकार तथा सम्बन्धित सामाजिक संघसंस्थाको सहयोग आवश्यक देखिएको छ।

फत्तबहादुरलाई अहिले भाषण होइन, सहारा चाहिएको छ। आश्वासन होइन, सुरक्षित बास चाहिएको छ। र सबैभन्दा बढी—उहाँको पीडा देख्ने एउटा संवेदनशील हात चाहिएको छ।

स्थानीय सरकारले समयमै पहल गर्ने हो भने सडकमा असहाय अवस्थामा पुग्न बाध्य एक नागरिकले पुनः सुरक्षित जीवनको आशा पाउन सक्छन्। अन्यथा, “नागरिकको दुःखमा स्थानीय सरकार कहाँ छ?” भन्ने प्रश्न अझ गहिरिँदै जानेछ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

चाडपर्वको रौनकभन्दा ठूलो मानवीय संवेदना