सयपत्री र मखमलीको पर्वमा गोदावरीको सुगन्ध, फूलसँगै फुल्दै व्यावसायिक सपना

इलाम । तिहार आउन थालेपछि नेपालीका घर आँगन फूलले सजिन थाल्छन् । सयपत्रीका पहेँला र सुन्तला रङ, मखमलीको गाढा सौन्दर्य अनि फूल मालामा गाँसिएको धागोले गाउँदेखि सहरसम्म पर्वको रौनक थप्छ । दाजुभाइ र दिदीबहिनीबिचको स्नेह, लक्ष्मीपूजाको उज्यालो र देउसी भैलोको सांस्कृतिक उल्लाससँग फूलको सम्बन्ध अभिन्न रूपमा जोडिएको छ ।

यही फूलको उत्सवमा यस वर्ष इलामले नयाँ रङको मेला लगाइरहेको छ । तिहारको उल्लाससँगै गोदावरी फूलको सौन्दर्य, स्थानीय उत्पादन र पुष्प व्यवसायको सम्भावना उजागर गर्ने उद्देश्यले इलाममा पहिलो पटक ‘प्रथम गोदावरी प्रदर्शनी मेला–२०८३’ आयोजना भएको छ । फ्लोर कल्चर एसोसिएसन नेपाल, इलामले कात्तिक १८ देखि २१ गतेसम्म इलाम नगरपालिका–७ स्थित चोक बजार नजिकै चार दिने प्रदर्शनी मेला सञ्चालन गरेको हो ।

तिहारमा फूलको माग बढ्नु नौलो होइन । घर सजाउन, पूजाआजा गर्न, माला उन्न र फूलको प्रयोग गरिन्छ । विशेष गरी सयपत्री र मखमली फूलले तिहारको सांस्कृतिक पहिचान छ । तर, परम्परागत फूलको प्रयोगसँगै पछिल्लो समय गोदावरी फूलको आकर्षण पनि बढ्दै गएको छ । रङ, आकार र विभिन्न प्रजातिको विविधताले गोदावरीको आकर्षण देखिन्छ । यसको सौन्दर्यले घर, बगैँचा आकर्षक बनाउनुका साथै पुष्प व्यवसायमा नयाँ सम्भावना सिर्जना गरेको छ । फूललाई पर्वको सीमाभित्र मात्र नराखी नियमित आम्दानीको स्रोतका रूपमा स्थापित गर्ने लक्ष्य यस मेलाको मुख्य आकर्षण रहेको फ्लोर कल्चर एसोसिएसन नेपाल इलामकी अध्यक्ष रञ्जिता याक्खाले बताइन ।

प्रदर्शनीमा ३० वटा स्टल रहेका छन् । तीन सयदेखि चार सयसम्म फूलका जात प्रदर्शन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । विभिन्न प्रजातिका गोदावरी फूल तथा अन्य पुष्पजन्य बिरुवाको प्रदर्शनीसँगै फूल खेतीसम्बन्धी उत्पादनको बिक्रीसमेत भइरहेको छ ।

अध्यक्ष याक्खाका अनुसार स्थानीय फूल खेती व्यवसायी तथा कृषकले उत्पादन गरेका फूल र बिरुवालाई प्रत्यक्ष रूपमा उपभोक्ता तथा सम्भावित खरिदकर्तासम्म पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको हो । मेलामा फूलको विविधता अवलोकन गर्न पाइने मात्र होइन, पुष्प व्यवसायमा रुचि राख्नेहरूका लागि उत्पादन र बजार बिचको सम्बन्ध बुझ्ने अवसरसमेत हुनेछ । कृषकले आफ्ना उत्पादन प्रदर्शन गर्न पाउनेछन् भने उपभोक्ताले स्थानीय उत्पादनसँग प्रत्यक्ष परिचित हुने मौका पाउनेछन् ।

जिल्लाका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा फूल खेती विस्तार भइरहे पनि उत्पादित फूलको बजार विस्तार, प्रचारप्रसारमा चुनौती थपिइरहेको बेला यस मेलाले व्यवसायीलाई थप सहयोग पुग्न पुष्प व्यवसायी बुद्ध सोङमीले बताइन । स्थानीय कृषकले उत्पादन गरेका फूलले उचित बजार पाउन सके पुष्प व्यवसाय फस्टाउँदै जाने उनको भनाई छ । प्रथम गोदावरी प्रदर्शनी मेला–२०८३ ले फूल खेतीलाई व्यावसायिक रुपमा अघि बढाउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

अध्यक्ष याक्खाले पुष्प व्यवसायको सम्भावना उजागर गर्दै स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा टेवा पु¥याउने लक्ष्यसहित आयोजना गरिएको मेलामा कृषक, व्यवसायी, उपभोक्ता तथा सर्वसाधारणलाई सहभागी हुन आग्रह गरिन । तिहारको उज्यालोमा सयपत्री र मखमलीसँगै गोदावरीको रङ मिसिँदा इलामको चोक बजारमा फूलको उत्सव मात्र छैन व्यवसायीको सपनालाई फुलाउने एउटा माध्यम बनेको इलाम नगरपालिकाका प्रमुख केदार थापा बताउँछन् ।

इलाममा प्लास्टिकका माला र फूल प्रतिबन्ध
इलाममा तिहारलाई लक्षित गरी प्लास्टिकका माला र फूल प्रयोगमा प्रतिबन्ध गरिएको छ । जिल्ला प्रशासन कार्यालय र इलाम नगरपालिकाले सूचना जारी गरी जिल्लाका पसल र हाटबजार सबैतिर प्लास्टिकका फूलगुच्छा, माला भण्डारण, विक्री गर्न रोक लगाएको हो । चाडपर्वमा प्रयोग हुने प्लास्टिकजन्य माला र फूलगुच्छाले हुने वातावरणीय क्षति न्यूनीकरण गर्न ‘वातावरण संरक्षण ऐन–२०७६’ अनुसार सूचना जारी गरिएको प्रशासनले जनाएको छ ।

सूचनाको अवज्ञा गरी यस्ता सामग्री आयात, भण्डारण र विक्री गरिए कानुनबमोजिम कारबाही हुनेसमेत प्रशासनले चेतावनी दिएको छ । जिल्लाका स्थानीय तहहरू समेतलाई प्रशासनले वातावरण संरक्षण ऐन र विभागको सूचना अनुसार अनुगमन अघि बढाउन पनि अनुरोध गरेको छ । इलाम नगरपालिका यसअघि नै पोलिथिन झोलामुक्त घोषित भइसकेको र स्थानीय प्राकृतिक फूल प्रयोगलाई प्रोत्साहन गरिरहेको भन्दै प्लास्टिकजन्य माला, फूलको प्रयोग, भण्डारण, आयात र विक्री नगर्न सचेत गर्दै कसैले सूचना विपरीत गरेको पाइए कारबाही हुनेसमेत जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

विराटनगरविरूध्द काठमाडौं गोर्खाजको जित