रिलायन्स स्पिनिङको इपीएसमा उच्च वृद्धि, पहिलो त्रैमासमै ३० करोड ४८ लाख नाफा

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३–०८४ को पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी (इपीएस) मा उल्लेख्य सुधार गरेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार वार्षिकीकरण गरिएको इपीएस ६२.९७ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा यस्तो इपीएस ४२.९८ रुपैयाँ थियो । समीक्षा अवधिको नाफालाई हाल कायम सेयर संख्याका आधारमा गणना गर्दा त्रैमासिक इपीएस करिब १६ रुपैयाँ देखिन्छ ।

समीक्षा अवधिमा कम्पनीले ३० करोड ४८ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड ८८ लाख ९० हजार रुपैयाँ थियो । यसअनुसार कम्पनीको खुद नाफा करिब ४.४३ गुणाले बढेको छ ।

कम्पनीको नाफा वृद्धिमा बिक्री तथा सञ्चालन आम्दानीमा भएको बढोत्तरी मुख्य कारण देखिएको छ । पहिलो त्रैमासमा कम्पनीले ३ अर्ब २० करोड २९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ४८ करोड ७१ लाख रुपैयाँ थियो । यसअनुसार सञ्चालन आम्दानी करिब २९ प्रतिशतले बढेको छ ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ४० करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो नाफा १६ करोड ९१ लाख रुपैयाँ थियो ।

नेपालको ठूलो रोजगारदाता तथा निर्यातमुखी धागो उत्पादक कम्पनी रिलायन्स स्पिनिङ मिल्स गत आर्थिक वर्षमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत भएको थियो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ छ ।

३० प्रतिशत नगद लाभांश वितरण

रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८२÷०८३ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गरिएको हो ।

गत असोजमा सम्पन्न साधारणसभाले लाभांश वितरणसँगै व्यवसाय विस्तारसम्बन्धी योजना पनि पारित गरेको थियो । कम्पनीको प्रबन्धपत्र संशोधन गरी अत्याधुनिक प्रविधियुक्त उद्योग स्थापना गर्ने र विभिन्न प्रकारका फाइबर उत्पादन गर्ने उद्देश्य थपिएको छ ।

संशोधित प्रावधानमा ‘अल्लो, हेम्प, केरा लगायतका प्राकृतिक फाइबरबाट धागो उत्पादन गर्नुका साथै विभिन्न प्रकारका कपडा तथा गार्मेन्ट उत्पादन र फाइबर, धागो तथा कपडाको रङ्गाई गरिनेछ’ उल्लेख छ ।

कम्पनीले औद्योगिक विस्तारसँगै प्राकृतिक फाइबरमा आधारित उत्पादन तथा कपडा र गार्मेन्ट उद्योगमा प्रवेश गर्ने रणनीति अघि बढाएको छ । यस योजनाअन्तर्गत परम्परागत तथा स्थानीय स्रोतमा आधारित फाइबरलाई आधुनिक प्रविधिसँग जोडेर मूल्य अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

तीन दशकअघि स्थापना भएको रिलायन्स स्पिनिङ मिल्सको सुनसरीमा धागो उद्योग कारखाना छन् । त्यहाँ ४ हजारभन्दा बढी कामदार कार्यरत छन् । कम्पनीले वार्षिक ५० मिलियन अमेरिकी डलर बराबरको निर्यात गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने तयारी