सुदूरपश्चिम प्रदेशसभा : कानुनविपरीत सांसदलाई आवास सुविधा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका तीन जना सदस्यले प्रदेश राजधानी धनगढीमै निजी घर हुँदाहुँदै पनि प्रदेशसभा सचिवालयबाट मासिक आवास सुविधा लिइरहेको पाइएको छ ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ विपरीत नेपाली कांग्रेसका दुई र नेकपा एमालेका एक सांसदले मासिक १७ हजार रुपैयाँका दरले आवास सुविधा लिँदै आएका हुन् ।

आवास सुविधा लिनेमा कांग्रेस सांसद डम्मरी महरा, पूर्वराज्यमन्त्री प्रकाशबहादुर बम र एमाले संसदीय दलकी उपनेता तथा सामाजिक विकासमन्त्री सन्तोषकुमारी थापा छन् । प्रदेशसभा सचिवालयबाट प्राप्त विवरणअनुसार तीनै जनाको निजी घर धनगढीमै छ ।

कांग्रेस सांसद बमको घर धनगढी उपमहानगरपालिका–५, हसनपुरमा छ । प्रदेशसभा सचिवालयबाट उनको घरको दूरी करिब एक किलोमिटर मात्रै छ । उनले गत आर्थिक वर्षमा राज्यमन्त्री पदबाट फिर्ता भएपछि अर्थात् २०८३ जेठ २५ देखि आवाससहित धारा, बिजुली, सञ्चार, अतिथि सत्कार र पारिश्रमिक गरी एक लाख दुई हजार छ सय रुपैयाँ बुझेका थिए ।

त्यस्तै, कांग्रेस सांसद महराको घर धनगढी–३, केदार टोलमा छ । सचिवालयबाट बढीमा तीन किलोमिटर दूरीमा घर भए पनि उनले सांसद भएदेखि नै आवास सुविधा लिँदै आएको सचिवालयले जनाएको छ ।

आर्थिक वर्ष २०८२÷८३ मा उनले मासिक १७ हजारका दरले ४३ महिनाको आवास सुविधाबापत सात लाख ३१ हजार रुपैयाँ बुझेकी थिइन् । सोही अवधिमा आवास, धारा, बिजुली, सञ्चार, अतिथि सत्कार र पारिश्रमिकसहित उनले कुल १० लाख ८२ हजार पाँच सय रुपैयाँ प्राप्त गरेको सचिवालयको विवरणमा उल्लेख छ ।

एमाले संसदीय दलकी उपनेता तथा सामाजिक विकासमन्त्री थापाको घर पनि धनगढी–५, पिपल चौतारामा छ । प्रदेशसभा सचिवालयबाट उनको घर करिब डेढ किलोमिटर दूरीमा पर्छ। सांसद भएदेखि नै प्रदेश राजधानीमा आफ्नो घर नभएको विवरण पेस गरेर उनले आवास सुविधा लिँदै आएको सचिवालयले जनाएको छ । गत आर्थिक वर्षमा उनले पनि आवाससहित अन्य सुविधा र पारिश्रमिक गरी १० लाख ८२ हजार पाँच सय रुपैयाँ बुझेकी थिइन् ।

प्रदेशसभाको पहिलो कार्यकालमा पनि राजधानीमै घर भएका सांसदले आवास सुविधा लिएको विषय विवादमा आएको थियो । तत्कालीन कांग्रेस सांसद डिल्लीराज पन्तको निजी घर प्रदेशसभा सचिवालयबाट करिब एक सय मिटर दूरीमा भए पनि उनले आवास तथा यातायात सुविधा लिएका थिए । विवाद सार्वजनिक भएपछि पत्रकार सम्मेलन गरी सुविधा फिर्ता गर्ने घोषणा गरेका उनले रकम भने फिर्ता नगरेको बताइएको छ ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । स्रोतका अनुसार आयोगको छानबिनमा सम्बन्धित सांसद बसोबास गर्ने घर उनीहरूको आफ्नै नाममा नभई परिवारका अन्य सदस्यको नाममा रहेको देखिएको थियो । त्यसपछि आयोगले आवास सुविधा भुक्तानी रोक्न निर्देशन दिए पनि थप कारबाही अघि नबढाएको प्रदेशसभा सचिवालयका एक कर्मचारीले बताए ।

राजधानीमै घर भएका सांसदले परिवारका सदस्यको नाममा रहेको घरलाई आधार बनाएर आवास सुविधा लिएको विषयले प्रदेशसभा सदस्यको सेवा सुविधासम्बन्धी व्यवस्था र त्यसको कार्यान्वयनमाथि प्रश्न उठाएको छ । सचिवालयले भने सांसदहरूले पेस गरेको विवरणका आधारमा सुविधा वितरण भइरहेको बताउँदै आएको छ ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ मा सभामुख र उपसभामुखबाहेक अन्य पदाधिकारी तथा सदस्यलाई आवास सुविधा उपलब्ध गराउने व्यवस्था छ । तर आवास सुविधाको योग्यता र त्यसको प्रयोजनविपरीत सुविधा लिएको अवस्थामा दफा २३ को व्यवस्था लागू हुन्छ ।

उक्त दफाले ऐनबमोजिम पाउने सुविधाको दुरुपयोग गर्न नहुने र दुरुपयोग गरे प्रचलित कानुनबमोजिम कारबाही हुने व्यवस्था गरेको छ । गलत व्यक्ति वा कागजात खडा गरी सुविधा लिने, तोकिएभन्दा बढी सुविधा लिने र सरकारी सम्पत्तिमा हानि नोक्सानी पु¥याउने कार्यलाई समेत सुविधाको दुरुपयोग मानेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सुदूरपश्चिम प्रदेशसभा : कानुनविपरीत सांसदलाई आवास सुविधा