काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा कुल जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशत हुन आउने १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये जारी पुँजीको २ प्रतिशतले हुन आउने १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको १८ प्रतिशत अर्थात् १० करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ । धितोपत्र निष्कासन तथा बाँडफाँड विनियमावलीअनुसार आयोजना प्रभावित स्थानीयका लागि निष्कासन हुने सेयरबाहेक सर्वसाधारणमा निष्कासन हुने सेयरको १० वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्नुपर्ने हुन्छ ।
सर्वसाधारणको लागि निष्कासन हुने १० लाख ८० हजार कित्ताको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयर पनि बुधबारबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन खुला गरिएको सो कम्पनीले जनाएको छ ।
आयोजना प्रभावित स्थानीयलाई बाहेक सार्वजनिक निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरको २ प्रतिशले हुने २१ हजार ६०० कित्ता संस्थाका कर्मचारी र ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गर्दै बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सेयर भने सर्वसाधारणमा निष्कासन हुने कम्पनीले जनाएको छ ।
आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सार्वजनिक निष्काशन गरिसकेपछि सर्वसाधारणसँग आवेदन माग हुने कम्पनीले जनाएको छ । आयोजना प्रभावितले कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकाले भने अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
वैदेशिक रोजगारमा रहेका र स्थानीयले २८ मंसिरभित्र कम्पनीको आईपीओका लागि आवेदन दिनुपर्नेछ । सो अवधिमा मागअनुसार आवेदन नपरेमा भने स्थानीय बासिन्दाका लागि निष्कासन अवधि १४ पुससम्म लम्बिने छ ।
कम्पनीले सार्वजनिक निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । आयोजना प्रभावित स्थानीयले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसैगरी, मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिने छ ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको जनाउँछ ।