डा. भेषबहादुरले ल्याए ‘राष्ट्र–परराष्ट्र’

काठमाडौं । डा. भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक ‘राष्ट्र–परराष्ट्र ः एकतन्त्रदेखि गणतन्त्रसम्म’ पाठकमाझ आएको छ । उनी पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत एवम् नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर हुन् । मँगलबार काठमाडौंमा एक समारोहबीच सांसदद्वय डा. स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, पत्रकारद्वय सुधीर शर्मा, हरिबहादुर थापा र लेखक डा. भेषबहादुर थापाले सो पुस्तकलाई संयुक्त रूपमा सार्वजनिक गरेका छन् ।

पुस्तकमा आफूले आफ्नो निजी जीवनभन्दा पनि व्यावसायिक जीवन र देशका लागि जुट्दा–खटिँदा देखे–भोगेको अवस्थालाई चित्रण गरेको लेखक डा. थापाले कार्यक्रममा बताए ।

कार्यक्रममा बोल्दै सांसद सुमना श्रेष्ठले यो पुस्तकमा डा. थापाले आफ्नो कर्मजीवन एवम् पारिवारिक जीवन आदि विविध पक्षको चित्रण जीवन्त रूपमा प्रस्तुत गरेको बताईन् । पुस्तकमा कतिपय विषयवस्तुमा थप व्याख्या र विस्तारमा आवश्यक रहेकोे पनि उनले जिकिर गरिन्,‘म जस्ता युवाका लागि देशको अतीतको ज्ञान दिन यो पुस्तक सहयोगी छ । मलाई लाग्छ, अर्को यस्तै पुस्तक पनि डा. थापाको आउनुपर्छ ।’

सांसद डा. स्वर्णिम वाग्लेले कार्यक्रममा बोल्दै पुस्तकमा डा. थापाले आफूले बाँचेको परिवेश, अपनाएको पेसा र सङ्गत गरेका पात्रहरूको सुन्दर एवम् सजीव चित्रण गरेको बताए,‘यस पुस्तकमा काजी खलकको कथा, कर्तव्य, दायित्वको सन्तुलन, पात्रहरूका विराट् सम्बन्धहरूको कूटनीतिक व्याख्या छ,’ डा. वाग्लेले भने, ‘डा. थापाको यो पुस्तक कर्तव्य र सेल्फ इन्ट्रेस्टको सन्तुलन हो । जिम्मेवारीको सामाजिक र आर्थिक पक्षको डकुमेन्टेसन पनि हो ।’

पत्रकार हरिबहादुर थापाले डा. भेषबहादुर थापाको जीवनीमा आधारित पुस्तक ‘राष्ट्र–परराष्ट्र’को सहलेखन गरेका हुन् । कार्यक्रममा पत्रकार थापाले भने, ‘यो पुस्तक ०७० साउनमा लेख्न सुरु गरिएको हो । तर डाक्साबको पारिवारिक वियोगका कारण काम बीचमा रोकियो । अनि हामीले पनि पुनः पुस्तक लेखन अघि बढाउन उहाँलाई आग्रह गर्न सकेनौं । पछि मात्र उहाँकी छोरी मञ्जुश्रीको पहलमा यो पुस्तकलेखन सकियो ।’

यस्तै पत्रकार सुधीर शर्माले डा. भेषबहादुर थापाले जीवनको ६५ वर्ष राज्यका लागि कूटनीतिक जिम्मेवारीमा बिताएको भनिदिए पनि हुने बताए,‘यो पुस्तक पढ्दा उहाँ नेतृत्वको भन्दा पनि देशप्रति उत्तरदायी रहेको बुझ्न सकिन्छ,’ उनले भने, ‘उहाँलाई राजाको मान्छे भन्ने गरिए तापनि राजदरबारसँगै टसल परेको पनि देखिन्छ ।’ पुस्तकमा आवश्यकताभन्दा बढाइचढाइँ गरी केही पनि नलेखिएको उनले दाबी गरे ।

अमेरिकाको क्लेरमन्ट कलेजमा विद्यावारिधि गर्दागर्दै २४ वर्षको सानो उमेरमा राष्ट्रिय योजना परिषद्का सदस्यसचिव भएका डा. भेषबहादुर थापासँग नेपालको आर्थिक तथा कूटनीतिक मामिलामा छ दशकभन्दा लामो अनुभव छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर, अर्थमन्त्री, परराष्ट्रमन्त्री र अमेरिका अनि भारतका लागि राजदूत भइसकेका थापा पछिल्लो समय नेपालका तर्फबाट नेपाल–भारत प्रबुद्ध समूहका संयोजक थिए ।

अमेरिकाको विश्वविद्यालय क्लेरमन्टमा पढिरहेका २४ वर्षे भेषबहादुर थापालाई राजा महेन्द्रले राष्ट्रिय योजना परिषद्को सदस्यसचिव बनाए । त्यसपछि उनी अर्थसचिव भए । नेपाल राष्ट्र बैङ्कका गभर्नर बने । राजा वीरेन्द्रका पालामा अर्थमन्त्रीको जिम्मेवारीसमेत पाए । ४० वर्ष नकट्दै यी महत्त्वपूर्ण जिम्मेवारी पाएका थापा पछि परराष्ट्रमन्त्री पनि बने; अमेरिका तथा भारतका लागि राजदूतसमेत भए । अझ पछि नेपाल–भारत प्रबुद्ध समूहअन्तर्गत नेपालतर्फका संयोजक बने ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रिन्टिङ मेसिन थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा धनराज आचार्य उपमेयरमा मञ्जुदेवी गुरुङ