समयको पदचाप पछ्याउँदा राम्रो

समाज गतिशील छ, परिवर्तनशील छ । जो हिजोको सत्य हो, त्यो आज सत्य नहुनसक्छ । जो आजको सत्य हो, त्यो भोलि सत्य नहुनसक्छ । हामीले भन्दै आएका छौं जमाना फेरियो, समाज फेरियो, चालचलन फेरियो, संस्कृति फेरियो अर्थात् समाजमा धेरै कुरा फेरिएका छन् ।

गतिका नियमहरू, समाजका नियमहरू बदलिनुपर्छ र बदलिरहन्छन् । मानवीय स्वभाव पनि यो नियमसँग मेल खान्छ । दिनदिनै एउटै तरकारी हामिलाई मन पर्दैन, हामी फेर्न चाहन्छौं । एकजोर जुत्ता सबै कार्यक्रममा, एउटै कमिज वर्षौंसम्म हामीलाई मन पर्दैन । हामी सम्भव भएसम्म फेर्न चाहन्छौं, बदल्न चाहान्छौं । मानव स्वभाव पुरानोको विस्थापन र नयाँ अभिलाषा राख्ने खालको हुन्छ । यथास्थितिमा मानव रहन चाहँदैन या भनौं कि मानव चेतना गतिमा छ, निरन्तरतामा छ । एउटै धारामा दुईपटक नुहाउन सकिँदैन, किनकि प्रत्येक सेकेन्ड धारामा नयाँ पानी आउने गर्छ अर्थात् विश्व ब्रह्माण्डका सबै वस्तुहरू बदलिएका छन् ।

त्यसो हो भने हामीकहाँ के बदलिएन त ? हामीले के बदल्न सकेनौं ? गति र प्रवाहको नियमसँग हामीले कहाँ पदचाप मिलाउन सकेनौं, जसले गर्दा आज हामी गम्भीर समस्यामा पर्दै गएका छौं । यहाँ खासमा हाम्रो चेतना बदलिएन, हाम्रा पार्टीहरूको चेतना बदलिएन, मुख्य नेताहरूको सोच र संस्कार बदलिएन, जसले गर्दा हामी दुनियाँभन्दा पछाडि परेका छौं ।

हाम्रो आर्थिक अवस्था झन पछि झन ओरालो लागिरहेको छ, जसको कारण मुलुक गम्भीर संकटमा पर्दै गइराखेको हामी सबैले महसुस गरिराखेका छौं । हामीहरूको सोच, संस्कार र चिन्तन नबदलिँदासम्म मुलुक प्रगतिको दिशामा अगाडि बढन सक्दैन । यतिबेला संसद्मा रहेका मुख्य नेताहरूमध्ये कसैलाई विजयको माला लगाइदिँदा मुलुकले उन्नति गर्छ ?

असम्भव ! यस्तो कल्पना गर्नु बालहठ मात्र हुनेछ किनकि यतिबेला राजनीतिक बजारमा रहेका सबै मुख्य पार्टीका मूल नेतृत्वको सोच, संस्कार र व्यवहार सारतः एउटै प्रकृतिको छ । उनीहरूमा नयाँपन, नयाँ विचार केही देखिँदैन । उही बासी कुरा, उही पुरानै रटान, उही पक्ष विपक्षको खेल, उही कुर्सी प्राप्तिको नशाबाहेक नयाँको अनुभूति गर्ने चिज केही पाउन सकिँदैन ।

सबै पार्टीमा उही तरिका, उही संस्कृति, भाषण गर्दा पनि उही छ । ‘हामी सत्ताबाहिर छौं, हाम्रो पालामा राम्रै गरेका थियौं, त्यसैले हामीलाई फेरि एकपटक सिंहासनमा बस्ने मौका दिनुहोस्, अनि सत्तामा रहेकाले हामी गर्नेछौं, हामीले फलानोफलानो ठाउँमा बजेट हालेका छौं, दुई–चारजना भ्रष्टाचारी समाएर देखाएका पनि छौं, हाम्रो बहुमत छैन, हामीलाई बहुमत दिनुहोस् हामी गर्दै जानेछौं, उनीहरू सबै नराम्रा छन् हामी राम्रा छौं,’ आदि इत्यादि । यही होइन त यहाँहरूको कुरा, सबै पार्टीका !

प्रशिक्षणहरू केन्द्रमा, प्रदेशमा, जिल्ला र नगरहरूमा चलेका छन् र आगामी दिनमा पनि चलिरहनेछन् । ती सबै ठाउँमा उही एकोहोरो रटान, दिक्क लाग्दो बासी कुरा । विपक्षीलाई कसरी गिराउने वा सत्ता समीकरण कसरी बचाइराख्ने वा यो समीकरण भत्काएर आफू अनुकूलको समीकरण कसरी निर्माण गर्ने ? संगठनलाई गति कसरी दिने र कार्यकर्तामा नसा कसरी भर्ने ? यसभन्दा बढी त्यहाँ केही हुँदैन र हुनेछैन ।

हामीहरूको सोच, संस्कार र चिन्तन नबदलिँदासम्म मुलुक प्रगतिको दिशामा अगाडि बढ्नसक्दैन

आज २१औं शताब्दीको समस्या के हो ? मुलुकमा अहिले देखापरेका गम्भीर समस्या के हुन् ? तिनको निराकरण कसरी हुनसक्छ ? के सरकारमा बस्नेहरूले मुलुकका समस्याहरू देखेका छैनन् ? कसरी पहाडका साराका सारा बस्तीहरू रित्तिँदै गइराखेका छन् ? त्यसको रोकथाम कसरी गर्ने ? पहाडलाई उन्नत मानव बस्तीमा कसरी स्थापित गर्ने ? खोइ कहाँ छ नीतिगत योजना ? विद्यालयका प्रधानाध्यापकका छोराछोरी सरकारी विद्यालयमा पढ्न छाडेको वर्षौं बितिसक्यो । किन यस्तो भयो यस’boutका योजना खोइ ? प्राध्यापक, शिक्षकका छोराछोरी, प्रथम श्रेणीका कर्मचारीका छोराछोरी, माननीय र मन्त्रीका छोराछोरी नेपाल बस्दैनन् । १२ पास गरेका युवा युवती, राम्रो नम्बरमा पास गरेका विद्यार्थीहरू विदेश जान खोलेका म्यानपावर कम्पनीको गेटमा हजारौंको संख्यामा लाइन लागेका छन् ।

जसले गर्दा मुलुकभरीका सामुदायिक क्याम्पसहरू मात्र होइन सरकारी प्राविधिक क्याम्पसहरूमा समेत विद्यार्थी रित्तिँदै गइराखेका छन् । जहीतहीँ जताततै वनमारा झारजस्तै भ्रष्टाचारको विष फैलिएको छ । भ्रष्टाचारको केन्द्रमा राजनीतिक दलहरूको मुख्य नेतृत्व र तिनका आसेपासे र किचन क्याबिनेट संलग्न रहेका छन् । खानेपानी, यातायात, मालपोत, नापी, गाउँपालिका, नगरपालिका, प्रदेश केन्द्र सिंहदरबार जुनसुकै कार्यालयहरू सबै बिचौलियाको घेराबन्दीमा छन् । नियम कानुन सुशासन, पारदर्शिताको सबैतिर धज्जी उडाइएको छ । केही समय अगाडिसम्म सामुदायिक वन र सहकारी संस्थाहरू कम भ्रष्टाचार हुने ठाउँ भन्ने गरिन्थ्यो । आज ती संस्थाहरूमा पनि भूकम्पले घर हल्लाएजस्तै भ्रष्टाचारले हल्लाइरहेका समाचार आउनथालेका छन् ।

कोरोनाकालपछि कयौं होटलहरू बन्द हुनपुगे । सहर बजारमा सटरहरू धमाधम बन्द हुनेक्रममा छन् । कयौं उद्योग बन्द हुनपुगेका छन् । घडेरी घरजग्गा किनबेच, नयाँ घर बनाउने प्रक्रिया न्यून बन्न गएको छ । बैंकका किस्ताहरू रोकिँदा मानिसहरू डिप्रेसनमा गएका छन् । कोही पनि नयाँ लगानी गर्न हिम्मत राख्दैनन्, मुलुकको यस्तो भयावह अवस्थामा सरकारका रफुकार, दास र दलालहरू भने लाजै नमानी एक–दुई जना पात्र कहीँ कतै अख्तियारले समात्यो भने या दुई–चार रुपैयाँ तेलको मूल्य घट्यो अथवा विपक्षी नेताको जिल्लामा पर्ने बजेट उसको इलाकामा प¥यो भने मुटु फुट्नेगरी चिच्याउँछन्, देखेऊ ! हाम्रो सरकारले गरेका कामहरू ।

अगाडिका लागि हामी सबैले ध्यान राखौं कि इतिहास बनिसकेको कुनै पात्रलाई श्रीपेच लगाइदिएर वा मुलुकलाई हिन्दू राज्य लेखाइदिएर अथवा संघीयता हटाइदिएर या भनौं कि अहिले देखापर्न थालेका चेहराहरूलाई सिंहासन सुम्पिएर समस्याको समाधान हुनेवाला छैन । किनकि, त्यसका लागि विचार नै मुख्य कुरा हो । विचार, इमानदारिता, साहस र जनमतको योगफलमा मात्र परिणाम प्राप्त हुनसक्छ ।

आजको त्यो विचार हो, भ्रष्टाचार निर्मुलीकरणको विचार, सदाचार र सुशासन, अर्को प्रस्ताव हो । पहाडका गाउँबस्तीहरू क्रमशः रित्तिँदै गइराखेका छन् । त्यसलाई कसरी जोगाउने ? युवा–युवतीहरूको विदेश पलायनलाई कसरी न्यूनीकरण गर्ने ? शिक्षा, स्वास्थ्य र रोजगारलाई जनताको पहुँचमा कसरी पु¥याउने ? भ्रष्टाचारीहरूले विदेश र स्वदेशभित्रै लुकाइराखेको अकुत सम्पत्ति कसरी राष्ट्रीयकरण गर्ने ? गरिब मुलुकका भीभीआईपीले लिने गरेको अधिक सेवा सुविधालाई कसरी कटौती गर्ने ? सिंहदरबार समातिराखेका अधिकारहरू कसरी तल्लो निकायमा ल्याउने ? सत्ताको भागबन्डा गरेर भ्रष्टाचार गर्ने संस्कृतिको अन्त्य कसरी गर्ने ? सभासद्ले मात्र मुलुकको प्रमुख चुन्ने व्यवस्था बदलेर जनताको प्रत्यक्ष मतदानद्वारा मुलुकको प्रमुख चुनिने व्यवस्था कसरी निर्माण गर्ने ? अनावश्यक ऋण मात्र थप्ने संस्थानहरूको खारेजी कसरी गर्ने ? अनावश्यक सांसदको संख्या राखेर मुलुकलाई अझ कंगाल बनाउने परिपाटीको परिमार्जन कसरी गर्ने ? सांसद बन्नका लागि करोडभन्दा बढी रकम लगानी गर्नुपर्ने व्यवस्थाको अन्त्य कसरी गर्ने ? यीलगायतका विषय हुन् आजको विचार । मुलुकले खोजेको नयाँ विचार, नयाँ पुस्ताले खोजेको नयाँ विचार, पार्टीभित्र पुस्ता हस्तान्तरण बहस, पार्टी प्रमुख र राष्ट्रप्रमुख मात्र बढीमा पार्टीमा तीन र सरकारमा दुई कार्यकाल हुने । के हामी यस विचारमा सहमत हुनसक्छौं ?

के हामी २१औं शताब्दीका युवाहरूको चाहना र मुलुकको आवश्यकताअनुरूप अगाडि बढ्ने हिम्मत गर्छौं ? यदि हामीले यो कुरा बुझ्नसक्दैनौं अथवा बुझेर पनि कार्यान्वयन गर्न हिम्मत गर्दैनौं भने इतिहासले हामीलाई पर्खेर बस्नेछैन । पश्चिम बंगालका सीपीएमका नेता ज्योतिवसु र बुद्धदेव भट्टचार्यहरूले ३२ वर्ष शासन गरेर आफ्नै जीवनकालमा इतिहास नामेट पारेजस्तै आफ्नो इतिहास आफ्नै जीवनकालमा नामेट पार्नेछैनन् भनेर कसरी भन्न सकिन्छ र ?

मूल कुरा इमानदार भएर जनताको सेवा गर्नु नै हो, दिल्ली सरकारका अरविन्द केजरीवालमा कुनै वाद वा दर्शन देखापर्दैन

आज तपाईं हामी लज्जित हुनु परिरहेको छ कि यति ठूलो त्याग बलिदान र संघर्षबाट जन्मिएका पार्टीहरू र मूल नेतृत्व विद्यमान हुँदाहुँदै जनताले निर्दलीय उम्मेदवार बालेन साहको आशा गर्नुपर्ने, हर्क साम्पाङको कुरा कान थापेर सुन्नुपर्ने, तपाईं हाम्रो सभामा भन्दा भर्खरै उदाएका पात्रहरूको सभामा धेरै जनता देखापर्ने, भविष्यको निक्र्योल नभसकेका नयाँ पार्टीको आशा गर्नुपर्ने, इतिहास बनिसकेको संस्थालाई पुनर्जीवित गराउन सडकमा नारा लाग्ने ।

हाम्रो चेतना घाँस खान गएको छ कि क्या हो ? हामीलाई लाज लाग्नुपर्ने होइन र ? यी यावत समस्याहरूको समाधान’bout एमाले बैठकमा बहस चलेको खोइ ? अबको राष्ट्रको निकास’boutमा एक–दुई–तीनमा लिपिबद्ध गरेको खोइ ? नयाँ विचार खोइ, नयाँ सोच खोइ, माओवादीको बैठकले निरन्तरतामा क्रमभंग गरेको खोइ, शल्यक्रिया गर्ने बिरामीलाई सिटामोल बाँडेर बहादुरी गरेको प्रचार गरेर मुलुक अगाडि बढ्छ ?

आजको आवश्यकताले खोजेको नयाँ विचार खोइ, नेपाली कांग्रेसको महासमिति बैठकमा मात्र गठबन्धन गर्नु ठीक थियो कि थिएन । आगामी दिनमा गर्ने कि नगर्ने ? यसैमा सारा समय खर्च ग¥यो, नयाँ विचार केही पनि दिनसकेन । तपाईंहरू मिलेर लड्नुस् कि एक्लै, कांग्रेससहितको सरकार होस कि एमालेसहितको, त्यस जनताको चासो र खाँचोको विषय होइन । जनतालाई डेलिभरी चाहिएको छ, सुशासन चाहिएको छ, जनताको सेवा गर्ने नेतृत्व चाहिएको छ । तपाईंहरू कुन दर्शन बोक्नुहुन्छ ? कुन वाद बोक्नुहुन्छ ? त्यो पनि सरोकारको विषय होइन ।

मूल कुरा इमानदार बन्नुहोस् जनताको सेवा गर्नुहोस्, दिल्ली सरकारका अरविन्द्र केजरीवालमा कुनै वाद वा दर्शन देखापर्दैन तर उनी जनताको सेवामा निरन्तर लागिरहेका छन्, सम्भव भएसम्म जनतालाई सेवा सुविधा दिइरहेका छन् । तपाईं हामी त तिनै केजरीवालजत्तिकै पनि हुनसकेनौं, ध्यान राखौं ? आगामी दिनमा एमालेले कांग्रेसलाई गाली गरेर, कांग्रेसले एमालेलाई गाली गरेर अथवा माओवादीले कहिले कांग्रेसको ढोलकीमा, कहिले एमालेको ढोलकीमा नृत्य गर्छु वा नृत्य गराउनेछु भन्ने चेतनाले अगाडि बढ्न सकिनेछैन ।

अतः सबै पुराना दलको मुख्य नेतृत्वले निरन्तरतामा क्रमभंग गरेर अगाडि बढ्ने समय आएको छ । हामी सबै रूपान्तरण हुने कि नहुने ? यस निर्णयको जिम्मा इतिहासले हाम्रो काँधमा फालिदिएको छ कि ?

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकीकृत समाजवादीबाट पोखरामा धनराज र हेटाैंडामा मीना मेयरका उम्मेदवार