राजदूत सिनेमा

सन् १९०३ मा बनेको चलचित्र द गे्रट टे«न रबरीलाई पहिलो चलचित्र मान्ने हो भने विश्व चलचित्र संसारले अहिले १२१ वर्ष पार गरेको छ । यस अवधिमा लाखौं चलचित्रहरू बनिसकेका छन् । तर ती मध्य औंलामा गन्न सकिने चलचित्र मात्र कालजयी भएका छन् । नयाँ पिंढीका बौद्धिक दर्शकको मनमस्तिष्कमा समेत अझै जीवित छन् । वास्तवमा यस्ता चलचित्रले कुनै देशको सयौं राजदूतले भन्दा पनि बढी काम गरेका छन् । आकिरो कुरोसुवाको कालजयी जापानीज चलचित्र रसोमनले विश्वभरि नै जापानी झन्डालाई फर्फरायो । अझ पनि रसोमनले जापानलाई चिनाउँछ ।

सन् १९५५ मा भारतमा निर्मित बंगाली चलचित्र पाथर पाञ्चालीले पनि विश्वको ध्यान तान्यो । पाथर पाञ्चालीका कारण नै भारतलाई लाखौं विदेशी दर्शकले सत्यजित रेको देश भनेर सम्झिन थाले । वास्तवमा भारतका कुनै राजदूतले गर्न नसकेको कार्य सत्यजित रेको चलचित्र पाथर पाञ्चालीले ग¥यो ।

लोकतान्त्रिक मुलुक भारत र तत्कालीन कम्युनिस्ट मुलुक रुसको आपसी सम्बन्ध प्रगाढ बनाउन पनि भारतीय चलचित्रको ठूलो भूमिका रहेको जगजाहेर नै छ । उति बेला राजकपूर तथा नरगिस दत्तका चलचित्र रुसमा ज्यादै नै लोकप्रिय हुनेगर्थे रे । अझ पनि भारतलाई रसियनले राजकपूर तथा नरगिसको देश भनेर चिन्ने गर्छन् । भारतीयलाई न्यानो माया गर्छन् ।

सन् १९८२ मा प्रदर्शित हिन्दी चलचित्र मिथुन चक्रवर्तिको डिस्को डान्सरले त संसारभरि धुम मचायो । खाडी देश तथा अमेरिका, युरोपमा मात्र होइन कि जापान, कोरिया तथा चीन जस्ता देशमा समेत निकै लोकप्रिय भयो । भनिन्छ, भारतीय चलचित्र इतिहासमा सय करोड कमाउने पहिलो चलचित्रको रिकर्ड राखेको यस चलचित्र प्रर्दशनपछि रुसमा मिथुनको एक झलक हेर्न लाखौं मानिसको भीड उर्लिएको थियो ।

तर, नेपाली चलचित्र जगत्को कथाव्यथा ज्यादै विचित्रको छ । नेपालको चलचित्र बजार त हिन्दी सिनेमा उद्योगद्वारा बेस्सरी थिचिएको छ, किचिएको छ । त्यहीमाथि नेपाली सिनेकर्मीमा चोर प्रवृत्ति हाबी छ । वास्तवमा भन्ने हो भने अधिकांश नेपाली चलचित्र हिन्दी चलचित्रका नेपाली संस्करण नै हुन् । यो कुरा राजेश हमाल जस्ता बौद्धिक कलाकारले स्विकारेका पनि छन् । राजेश हमालले भन्ने गर्छन्, मैले अहिलेसम्म उल्लेखनीय एउटा पनि चलचित्र खेल्न पाएको छैन ।

नेपाली चलचित्र जगतका महानायकको यो भनाइबाट नेपाली चलचित्रको स्तर कस्तो रहेछ भन्ने स्वतः प्रस्ट हुन्छ । त्यसैले त नेपाली चलचित्र जगत् ६० वर्षको उमेरमा पनि नेपालको लोकतन्त्र झैं भएको छ, कहिल्यै उठ्न सकेको छैन ।

एउटा तीतो सत्य के हो भने हिजोआजका जति पनि नेपाली सिनेकर्मीहरू छन्, ती सबै प्रायः हिन्दी चलचित्र हेरेर नै हुर्के बढेका हुन् । हिन्दी चलचित्रबाट नै उनीहरूले धेरै कुराहरू सिकेका हुन् । च्यानल टीभीमा पनि हिन्दी चलचित्र तथा कार्यक्रम हेर्नेहरूको संख्या नेपालमा धेरै छ । त्यसैले नेपाली मनमस्तिष्कमा हिन्दी चलचित्रको प्रभाव पर्नु कुनै अनौठो कुरा होइन । वास्तवमा हामी धार्मिक–सांस्कृतिक तथा राजनीति सबै कुराबाट प्रभावित छौं । तर, हिन्दी चलचित्र एकसे एक राम्रा पनि छन्, त्यत्ति नै खराब पनि छन् । धेरै हिन्दी चलचित्र पनि हलिउड र दक्षिण भारतीय भाषाका चलचित्रको नक्कल गरेर बनाउने गरिन्छ । तर, उहिलेका हिन्दी चलचित्र अहिलेभन्दा धेरै राम्रा थिए ।

नेपालको चलचित्र बजार त हिन्दी सिनेमा उद्योगद्वारा बेस्सरी थिचिएको र किचिएको छ

२०२२ सालमा हिरासिंह खत्रीको निर्देशनमा बनेको आमा (२००७ सालमा भारतबाट नेपाली भाषाको चलचित्र सत्य हरिशचन्द्र बनेको थियो)लाई पहिलो नेपाली चलचित्र मान्ने हो भने नेपाली चलचित्रले पनि ५८ वर्ष पार गरिसकेको छ । यस अवधिमा हजारौं नेपाली चलचित्र बनिसकेका छन् । तर, नेपालमा एउटा पनि कालजयी चलचित्र बन्न सकिरहेका छैनन् । त्यसो त करिब डेढ दशक पहिला डोल्पेली भाषाको क्याराभान बन्यो । यो चलचित्रले नेपालको डोल्पालाई अमेरिका तथा युरोपका देशमा पु-यायो । विश्व चर्चित भयो । तर, विडम्बना के भने यो फ्रान्सिली निर्देशक एरिक भ्यालीको फिल्म बनिरह्यो ।

निश्चित रूपमा दक्षिणा, बासुदेव, परालको आगो, वसन्ती, नुमाफुङ, मसान तथा उमा आदि राम्रो प्रयास हुन् । तर, यतिले पुग्दैन । मन र मुटु जोडेर बौद्धिक मस्तिष्कले सोच्ने हो भने सिर्जनशील हातका लागि नेपाली सिनेमा संसारमा केही गर्न सक्ने धेरै सम्भावना छ । स्तरीय नेपाली सिनेमाका लागि बजार नभएको पनि होइन । राम्रा नेपाली सिनेमाले १५, २० करोडको बजार बनाउन कुनै गाह्रो पनि छैन ।

नेपालले अहिलेसम्म राजदूत सिनेमा बनाउन नसके तापनि राजदूत कलाकार भने जन्माएको छ । शिव श्रेष्ठ तथा मनिषा कोइराला जस्ता कलाकारले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन राजदूतले भन्दा बढी महत्वपूर्ण भूमिका खेलेका थिए ।

अभिनेता शिव श्रेष्ठले त अहिलेका नेताले मात्र होइन कि राजाले समेत गर्न नसकेको कार्य गरेको कुरा चलचित्र समीक्षक तथा निर्देशक प्रकाश सायमीले बताउँछन् । नेपाल, पाकिस्तान तथा बंगलादेशको संयुक्त लगानीको चलचित्र जीवन ज्योति (हम से है जमना) प्रर्दशन भएपछि पहिलोपटक पाकिस्तान पुगेका शिव श्रेष्ठको एक झलक हेर्न एअरपोर्टमा शिवा शिवा भन्दै ठूलो भीड उर्लिएको थियो रे । शिव श्रेष्ठको अर्को फिल्म हामी एक हौं (हम एक हंै) नेपाल, पाकिस्तान, श्रीलंका तथा बंगलादेशमा मात्र होइन कि खाडी देशमा, थाइल्यान्ड तथा टर्कीमा समेत सुपर हिट भएको थियो ।

करिब दुई दर्जन पाकिस्तानी फिल्ममा अभिनय गरेका शिव श्रेष्ठको स्टारडम नेपाल तथा पाकिस्तान मात्र होइन कि बंगलादेश, श्रीलंका, थाइल्यान्ड, अफगानिस्तान, टर्की तथा खाडीका देशमा समेत पुगेको थियो ।

९० को दशक शिव श्रेष्ठका लागि सुनौलो युग थियो । पाकिस्तानमा उनको लोकप्रियताले आकाश छोएको थियो । प्रकाश सायमीका अनुसार सन् १९९६ मा पाकिस्तानको भ्रमणमा गएका ट्रेजडी किंग भनिने भारतका चर्चित अभिनेता दिलिपकुमारले पाकिस्तानका ठाउँठाउँमा शिव श्रेष्ठको भव्य कट आउट देखेर सोधेका थिए रे, यो (कलाकार) को हो ? जवाफ आएछ, नेपालका शिवा ।

अहिले पनि ४० वर्ष नाघेका पाकिस्तानका दर्शकको मनमस्तिष्कमा नेपालका शिवा जीवित छन् । युट्युबमा उनका पाकिस्तानी फिल्म खोजीखोजी हेर्नेहरूको संख्या पनि ठूलो छ ।

अधिकांश चलचित्रकर्मीको ध्यान स्तरीयभन्दा पनि बिकाउ चलचित्रतिर केन्द्रित छ

हो, हामीसँग कुशल कलाकारको कमी छैन । हामीसँग स्तरीय राजदूत सिनेमा बनाउने कथावस्तुको पनि कुनै कमी छैन । हामीसँग भीमसेन थापाको विषय छ । अंग्रेज युद्धको विषय छ । गौतम बुद्धको विषय छ । नेपाल एकीकरणको विषय छ । कोतपर्वको विषय छ । जंगबहादुरको विषय छ । चार सहिदको विषय छ । बीपी कोइरालाको विषय छ । विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा विषय छ । हिमाल आरोण विषय छ । तेन्जिङ र हिलारीको विषय छ । यी अन्तर्राष्ट्रिय चासोका विषय हुन सक्छन् । यी विषयमा स्तरीय चलचित्र बनाएको खण्डमा निश्चित रूपमा राजदूत सिनेमा बन्न सक्ने छन् । त्यसैले यस्ता विषयलाई सस्ता हातबाट लिलामी हुन दिनुहुँदैन ।

आँटेपछि नहुने केही छैन । राजदूत सिनेमा बनाउन ठूलो लगानी गर्नुपर्छ भन्ने छैन । सानो बजेटमा पनि राम्रो सिनेमा निर्माण गर्न सकिन्छ । सत्यजित रेले पाथर पाञ्चालीमा करोडौं लगानी गरेका थिएनन् । तत्कालीन समयमा एउटा नेपाली सिनेमाको बजेटमा नै पाथर पाञ्चाली बनाएका थिए । सानो बजेटको पाथर पाञ्चालीमा सत्यजित रेले भारतीय सिनेमाको सिर्जनशीलता र श्रेष्ठताको नमुनाको छाप छोड्न सफल भएका थिए ।

साँच्चै, यो सिनेमामा सत्यजित रेले पुरोहित हरिहर रायको छाप्रोभित्रको दुःख, पीडा, वेदना र छटपटीलाई सजीवताका साथ पर्दामा उतारेका छन् । बालक अप्पु र दुर्गाले पहिलोपटक रेल देख्दाको दृश्य तथा गरीबीका कारण हरिहरले घर छोडेर जाँदा घरमा सर्प पसेको दृश्य ज्यादै नै मनोवैज्ञानिक तथा हृदयस्पर्शी छन् ।

यो कुरा सचेत निर्देशकले बुझ्नुपर्छ । नेपालका बौद्धिक जगत्ले नेपाली चलचित्र निर्देशकबाट यही अपेक्षा गरेका छन् । तर, विडम्बना के भने अधिकांश राम्रा निर्देशक पनि हिजोआज नायिकाको नाइटो र कम्मरकै वरिपरि क्यामरा घुमारहेका छन् । एकताका लुट र चपली हाइट हिट भएपछि त यौन मनोविज्ञानको नाममा घिनलाग्दा चलचित्र निर्माणको होड नै चलेको थियो । तर, अधिकांश यस्ता चलचित्रले बक्स अफिसमा पानी पनि भन्न नसकेपछि यो लहड रोकिएको छ ।

अहिले आएर हल्काफुल्का हास्य सिनेमाले बजार तताएका छ । तर, उहिलेदेखि नै अधिकांश चलचित्रकर्मीको ध्यान स्तरीय चलचित्र निर्माणतिर भन्दा पनि बिकाउ चिलचित्रतिर केन्द्रित छ । त्यसैले त नेपालमा नुमाफुङ बने पनि पाथर पाञ्चाली बन्न सकेका छैनन् । राजदूत सिनेमा त परै छोडौं, नेपाली सिनेमाले नेपाली मन समेत जित्न सकेका छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अफताव आलमको छोरा राजपुर मेयरमा निर्वाचित