शिव श्रेष्ठले फाउन्डेसन खोल्दै देखाए ‘जीवन रेखा’

काठमाडौं । अग्रज अभिनेता शिव श्रेष्ठले आफ्नै नाममा ‘शिव श्रेष्ठ फाउन्डेसन’ स्थापना गरेका छन् । मृत्यु पछि फाउन्डेसन तथा स्मृति प्रतिष्ठान खोल्ने परम्परालाई तोडेर अभिनेता शिवले आफू सक्रिय रहेकै अवस्थामा यति बेला ‘शिव श्रेष्ठ फाउन्डेसन’ स्थापना गरेका हुन् ।

विशेष गरेर आफ्ना चलचित्रहरूको प्रवर्धन एवम् संरक्षणसँगै नेपाली चलचित्रको विकासको लागि आफूले यो फाउन्डेसन स्थापना गरेको उनले बताएका छन् । यो फाउन्डेसनको पहिलो कामको रूपमा उनले चलचित्र ‘जीवन रेखा’लाई पुन प्रदर्शन गरेका छन् ।

४३ वर्ष अघि प्रकाश थापा द्वारा निर्देशित चलचित्र ‘जीवन रेखा’लाई शिव श्रेष्ठले आइतबार बेलुका नारायण घाटको जलमा चलचित्र घरमा विशेष प्रदर्शन गरेका छन् । टुक्रिएका पुराना रिलहरूलाई जोडेर यो चलचित्रलाई पुन डिजिटल प्रविधिमा विकास बोर्डले तयार गरेको हो ।

सोही डिजिटल प्रिन्टबाट आफूले यो चलचित्रलाई यति बेला प्रदर्शन गर्न सकेको पनि शिवले बताएका छन् । चलचित्र विकास बोर्डको सहकार्य र लायन्स क्लब चितवनको व्यवस्थापनमा ‘ओल्ड इज गोल्ड’ शिर्षक अन्तर्गत फाउन्डेसनले यो चलचित्र प्रदर्शनसहित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको पनि अभिनेता शिवले बताए ।

चलचित्र ‘जीवन रेखा’को विशेष प्रदर्शन समारोहमा अभिनेता शिवसहित, नीर शाह, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, निर्देशक प्रकाश सायमी, कलाकार निर्देशक आकाश अधिकारीलगायत सहभागी थिए ।

सो कार्यक्रममा पुगेको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘शिव श्रेष्ठ फाउन्डेसन’ स्थापना गरेर शिव श्रेष्ठले राम्रो कामको सुरुवात गरेको बताए । चलचित्र विकास बोर्डले अव ३० वर्षभन्दा पहिले प्रदर्शन भएका नेपाली चलचित्रहरू हरेक हप्ता विशेष रूपमा प्रदर्शन गर्ने पनि अध्यक्ष डिसीले बताए । उनका अनुसार बोर्डले यसअघि पुराना १० वटा नेपाली सेलुलोइड चलचित्रलाई डिजिटाइज गरिसकेको छ ।

जीवन रेखामा शिव श्रेष्ठ, मीनाक्षी आनन्द, शान्ति मास्के, प्रकाश थापा, अर्जुनजंग शाही, वसुन्धरा भुसाल, गोपालराज मैनाली, हरिवंश आचार्य आदिको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

जंगली च्याउ खाँदा सिन्धुलीमा ६ जना विरामी