धनगढी । जिल्ला अस्पताल बझाङलाई दक्ष जनशक्ति र आधुनिक स्वास्थ्य उपकरणसहित ५० शय्यामा स्तरोन्नति गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरिएको छ ।
अस्पताल व्यवस्थापन समिति र प्रशासनले अस्पतालको भौतिक पूर्वाधार विस्तारसँगै आवश्यक दरबन्दी सिर्जना गरी दक्ष जनशक्ति व्यवस्थापन र आधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका हुन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर खड्काले मुख्यमन्त्री खगराज भट्ट, सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा, भौतिक पूर्वाधारमन्त्री ओमविक्रम भाट ‘सरल’ र आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ललाई भेटेर मागपत्र बुझाएका छन् ।
मागपत्रमा दुर्गम हिमाली जिल्लाका नागरिकलाई सर्वसुलभ, गुणस्तरीय, सुरक्षित तथा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन जिल्ला अस्पतालको स्तरोन्नति आवश्यक रहेको उल्लेख गरिएको छ ।
बझाङका साथै छिमेकी जिल्लाका विभिन्न स्थानीय तहका नागरिकसमेत उपचारका लागि जिल्ला अस्पतालमै निर्भर रहेको अस्पतालले जनाएको छ । सेवाको दायरा विस्तार हुँदै गए पनि विशेषज्ञ सेवा, दक्ष जनशक्ति, भौतिक पूर्वाधार तथा आधुनिक स्वास्थ्य उपकरणको अभाव रहेको अस्पतालको भनाइ छ ।
हाल १५ शय्यामा सञ्चालन भइरहेको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी आवश्यक दरबन्दी सिर्जना तथा दक्ष जनशक्ति व्यवस्थापन गर्न माग गरिएको छ । त्यसैगरी, अस्पतालको भवनलगायत भौतिक पूर्वाधार विस्तार र अत्यावश्यक आधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउन पनि प्रदेश सरकारसँग आग्रह गरिएको छ ।
अस्पतालले सिटी स्क्यान, आईसीयू र नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति, डायलाइसिस सेवा सञ्चालन तथा शववाहन व्यवस्थापनका लागि समेत बजेट माग गरेको छ ।
यी सेवा सञ्चालन तथा विस्तारका लागि आवश्यक बजेट उपलब्ध गराउन सके बझाङसहित छिमेकी जिल्लाका नागरिकले गुणस्तरीय र विशिष्टीकृत स्वास्थ्य सेवा स्थानीयस्तरमै पाउने अध्यक्ष खड्काले बताए ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय
नदी किनारका जोखिमयुक्त बस्तीको अभिलेख राखेर नीति बनाउँछौँः मुख्यमन्त्री भट्ट
गरिमा हत्या प्रकरणः सरकारको शैलीमाथि संसदमा प्रश्न, बलात्कारमा कडा सजायको माग
गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय
देउवा र खडकाको पुरक निवेदन दर्ता, ११ गते तोकियो पेशी
राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
खुम्रे किराले बाजुराबासीको गाँस खोस्यो !
‘सर्वजनिक बिदा दिएर सस्तो प्रचार नगर’






