कांग्रेस विवाद समाधानको मध्यार्गी प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद अन्त्य गर्न शक्ति बाँडफाँटसहितको मध्यमार्गी सहमतिको प्रयास अघि बढाइएको छ ।

विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई स्वीकार गर्ने, १४औँ महाधिवेशनबाट निर्वाचित १ सय ११ केन्द्रीय सदस्यलाई समेट्ने, १४औँ महाधिवेशनको नेतृत्वलाई १५औँ महाधिवेशनको आयोजक संरचनामा स्थान दिने र क्रियाशील सदस्यताको विवाद टुंग्याउने गरी सहमतिको सूत्रमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

विशेष महाधिवेशन मान्ने, १४औँ महाधिवेशनका १११ सदस्य समेट्ने र नेतृत्वको गाँठो फुकाउने कसरत

दुवै पक्षले समानान्तर रूपमा अघि बढाएका महाधिवेशनका तयारी रोक्ने र सर्वोच्च अदालतमा विचाराधीन आधिकारिकताको विवादसमेत राजनीतिक सहमतिबाट टुंग्याउने प्रस्ताव अघि सारिएको छ । दोस्रो तहमा विवाद समाधानको खाका तयार भएपछि सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाबीच भेट हुनेछ । थापा र देउवाबीच भेट भएपछि विवाद अन्त्य हुने बताइएको छ ।

१४औँ महाधिवेशनबाट निर्वाचित सभापति पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित सभापति पक्षबीचको विवादका कारण कांग्रेस लामो समयदेखि दुई धारमा विभाजित छ । दुवै पक्षले आफ्नो नेतृत्वलाई वैधानिक दाबी गर्दै छुट्टाछुट्टै महाधिवेशनको तयारी थालेपछि पार्टी विभाजनको जोखिम बढिरहेका बेला पछिल्लो समय भने दुवै पक्षभित्रै सहमतिको दबाब बढेको हो ।

सभापति गगनकुमार थापा र संस्थापनइतरका नेताबीच पछिल्ला दिनमा बाक्लिएको भेटघाट तथा केन्द्रीय समितिको बैठकले गरेको निर्णयले विवाद समाधानका लागि नयाँ राजनीतिक समीकरणको सम्भावना देखाएको छ । कांग्रेसलाई नजिकबाट नियालिरहेका नेताहरूका अनुसार दुवै पक्षले आ–आफ्नो अडानबाट केही कदम पछि हट्ने, सर्वोच्च अदालतबाट आधिकारिकताको मुद्दा फिर्ता लिने र १५औँ महाधिवेशनलाई साझा प्रक्रियाबाट सम्पन्न गर्ने सम्भावनामा छलफल अघि बढेको छ ।

पूर्वसभापति देउवानिकट नेता रमेश लेखकले दुवै पक्ष आ–आफ्नो अडानमा कायमै रहे कांग्रेस दुईवटा बन्ने जोखिम रहेको बताएका छन् । उनका अनुसार दुवै पक्ष लचिलो भएर महाधिवेशनमा जाने वातावरण बनाउनुपर्ने अवस्था छ ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि कांग्रेसमा कुनै एउटा पक्षले अर्को पक्षलाई पूरै निषेध गरेर अघि बढ्न नसक्ने बताउँछन् । ठूलो राजनीतिक हिस्सालाई बाहिर राखेर गरिने महाधिवेशनले पार्टीलाई झनै कमजोर बनाउने भएकाले सभापति थापा पक्ष र संस्थापनइतर दुवैमा सहमतिका लागि दबाब बढेको उनको विश्लेषण छ ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति पक्षले यसलाई आफ्नो वैधानिकताको प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै आएको छ । १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आफ्नो वैधानिकता कायमै रहेको दाबी गर्दै आएको छ । त्यसैले दुवै पक्षको दाबीलाई राजनीतिक रूपमा समेट्ने गरी १४औँ महाधिवेशनका १ सय ११ केन्द्रीय सदस्यलाई समेत संरचनामा स्थान दिने विकल्प अघि सारिएको हो ।

१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई पनि १५औँ महाधिवेशन सम्पन्न गर्ने आयोजक संरचनामा समेट्ने विषयमा छलफल जारी छ । यसो गर्दा विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार गर्ने थापा पक्षको माग सम्बोधन हुने र १४औँ महाधिवेशनबाट निर्वाचित संरचनाको निरन्तरताको देउवा पक्षको दाबी पनि आंशिक रूपमा सम्बोधन हुने नेताहरूको बुझाइ छ ।

सभापति थापा, पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाबीच महाधिवेशन सम्पन्न गर्ने संयन्त्र र नेतृत्व’bout छलफल भएको छ । छलफलमा १५औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी कोइरालालाई दिने विषयमा उठे पनि निर्णय भने भइनसकेको नेताहरुले बताएका छन् ।

तर, संस्थापनइतर समूहभित्रै कोइरालालाई स्वीकार गर्ने विषयमा एकमत छैन । संस्थापनइतरकै अर्को धारले महाधिवेशनको जिम्मेवारी १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवालाई नै दिनुपर्ने अडान राख्दै आएको छ ।

देउवा पक्षीय नेता डा. प्रकाशशरण महतले क्रियाशील सदस्यताको विवाद समाधान गर्ने निर्णय सकारात्मक भए पनि पार्टीको मूल विवाद अझै समाधान नभएको बताएका छन् । १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नै १५औँ महाधिवेशन गराउन पाउनुपर्ने आफूहरूको मूल माग कायमै रहेको उनको भनाइ छ ।

क्रियाशील सदस्यताको विवाद भने सहमतितर्फ अघि बढेको छ । केन्द्रीय कार्यसम्पादन समितिले नवीकरण भएका तर प्राविधिक कारणले डिजिटल प्रणालीमा अद्यावधिक हुन नसकेका क्रियाशील सदस्यलाई पनि १५औँ महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेको छ ।

पार्टीले यसअघि महाधिवेशनमा सहभागी हुन क्रियाशील सदस्यता अनिवार्य रूपमा डिजिटल प्रणालीमा अद्यावधिक हुनुपर्ने व्यवस्था गरेको थियो । संस्थापनइतर पक्षले भने यसबाट गाउँ तहमा रहेका पुराना तथा प्रविधिको पहुँचबाहिर रहेका हजारौँ सदस्य महाधिवेशन प्रक्रियाबाट बाहिरिने भन्दै विरोध गर्दै आएका छ ।

प्रवक्ता देवराज चालिसेका अनुसार अनुशासन उल्लंघन गरेका, पार्टी परित्याग गरेका र निधन भएका सदस्यबाहेक नवीकरण भएका तर प्राविधिक कारणले अनलाइन प्रणालीमा अद्यावधिक हुन नसकेका सबै क्रियाशील सदस्यले १५औँ महाधिवेशनमा भाग लिन पाउनेछन् ।

सर्वोच्च अदालतमा विचाराधीन आधिकारिकताको मुद्दा फिर्ता लिएर कांग्रेसलाई एउटै महाधिवेशन प्रक्रियामा लैजाने तयारीसमेत भइरहेको नेताहरूको दाबी छ ।

महाधिवेशन कार्यतालिका संशोधन
कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन अब ३ र ४ असोजमा हुनेछ भने केन्द्रीय महाधिवेशन भने १६ देखि १९ असोजमै हुनेछ ।

रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिपछि उत्पन्न विपद्का कारण अधिवेशन कार्यतालिका पुनः परिमार्जन गरिएको हो ।

वडा अधिवेशन स्थानीय अनुकूलताअनुसार असोज ३ वा ४ गते सम्पन्न गर्न सकिने छ । अधिवेशनबाट ६ हजार ७ सय ४३ वटै वडामा वडा कार्यसमितिको निर्वाचन तथा क्षेत्रीय प्रतिनिधिको चयन हुनेछ ।

कांग्रेसका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा तोकिएका निर्वाचन अधिकृत तथा पार्टीका स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गरिनेछ ।

नेपाली जनसम्पर्क समितिअन्तर्गत बाँकी रहेका देशहरूको अधिवेशन १० असोजभित्र सम्पन्न गर्नुपर्नेछ । जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको समयतालिका भने दोस्रो चरणमा प्रकाशित गरिने कांग्रेसले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

‘मिर्जापुर: द मुभी’ का निर्मातामाथि गीत चोरीको आरोप