काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । महाधिवेशनको उद्घाटन १८ असोजमा दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुँदैछ ।
कांग्रेसका अनुसार महाधिवेशनमा करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी हुनेछन् । जिल्लाबाहेकका अधिकांश तहका अधिवेशन सम्पन्न भइसकेका छन् भने केही स्थानमा वर्षाका कारण प्रभावित क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया पूरा गर्ने काम अघि बढाइएको कांग्रेसले जनाएको छ ।
शुक्रबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । देश विपद्को अवस्थामा रहेकाले यसपटक महाधिवेशनलाई मितव्ययी बनाउने र अनावश्यक तामझाम नगर्ने नीति लिइएको उनले बताए ।
‘यो अधिवेशन अत्यन्तै मितव्ययी रूपमा सम्पन्न गर्न गइरहेका छौँ । प्रचारका झाँकी, तस्बिर र झकिझकाउ धेरै देख्नुहुने छैन । देशमा ठूलो विपत् आएको अवस्थामा हाम्रो बाध्यात्मक अवस्थाको अधिवेशन हो,’ चालिसेले भने ।
महाधिवेशनस्थलमा डिजिटल बोर्ड प्रयोग गरिने कांग्रेसले जनाएको छ । उम्मेदवारलाई प्रचारप्रसारका लागि पर्चा नछाप्न र प्रविधिको प्रयोग गर्न आग्रह गरिएको छ । वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको चालिसेले बताए ।
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि बिहान, दिउँसो र बेलुकाको खाना भृकुटीमण्डपमा व्यवस्था गरिएको छ । बासको व्यवस्था भने प्रतिनिधिले आफैँ गर्नुपर्ने कांग्रेसले जनाएको छ ।
सोमबार उम्मेदवारी दर्ता
केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि असोज १९ गते सोमबार उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ । उम्मेदवारले सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंको राष्ट्रिय सभा गृहमा मनोनयनपत्र दर्ता गर्न सक्नेछन् ।
निर्धारित समयभित्र योग्य उम्मेदवारलाई मनोनयन दर्ता गर्न कांग्रेसले महाधिवेशन प्रतिनिधिलाई सूचित गरेको छ । निर्वाचन कार्यक्रमको विस्तृत विवरण पछि सार्वजनिक गरिने जनाइएको छ ।
शीर्ष नेताले सम्बोधन गर्ने
उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताले शुभकामना दिने कांग्रेसले जनाएको छ । कांग्रेसका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्नेछन् ।
त्यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पनि उद्घाटन समारोहमा सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।
कांग्रेसले यसअघि१६ देखि १९ असोजसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । वर्षाका कारण केही क्षेत्रमा अधिवेशन प्रक्रिया प्रभावित भएपछि उद्घाटन समारोह १८ असोजका लागि तय गरिएको हो ।
सम्बन्धित समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने
रास्वपा सचिवालय बैठक बस्दै
मध्यराति नियन्त्रणमा लिएर ११ घन्टापछि पूर्वप्रधानन्यायाधीश राणालाई छाडियो
देउवा पक्षले ७७ जिल्लामा महाधिवेशन संयोजक तोक्यो
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज हुँदै, उल्लासपूर्ण सहभागिताका लागि देउवाको अपिल
कांग्रेसविरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कडा कारबाही गर्ने
मोरङ–६ कांग्रेस क्षेत्रीय अधिवेशन बहिष्कार गर्ने सभापति तामाङ पक्षको घोषणा
आगामी आन्दोलनको रणनीति तय गर्न आजपा केन्द्रीय कमिटी बैठक बस्दै





