काठमाडौं । हिमाली क्षेत्रमा पहिरोले नदी थुन्ने, हिमताल फुट्ने वा अचानक ठूलो परिमाणमा पानी बग्ने जोखिम रहे पनि नेपालमा पूर्वसूचना प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न भोटेकोशी–त्रिशूली र बूढीगण्डकीमा आएका बाढीले फेरि उठाएका छन् ।
सरकारी निकायले चेतावनी जारी गरेको विवरण सार्वजनिक गरे पनि जोखिमको स्रोतमा घटना सुरु हुँदा सूचना कसरी प्राप्त हुन्छ र माथिल्लो तटीय बस्तीमा कति समयअघि चेतावनी पुग्छ भन्ने विषय स्पष्ट छैन ।
गोरखाको चुमनुब्री क्षेत्रमा पहिरोले स्यारखोला थुनेपछि एक्कासि पानी बग्दा बूढीगण्डकीको तटीय क्षेत्रमा क्षति भएको छ । घर, पुल, जलविद्युत् आयोजनाका संरचना र सडक सम्पर्कमा क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार पाँच जना सम्पर्कविहीन छन् । पूर्वसूचनाका कारण धेरै बासिन्दा सुरक्षित स्थानमा पुग्न सकेको अधिकारीहरूको भनाइ छ ।
– अन्योलमै छ नेपालको पूर्वसूचना प्रणाली
– विपत्तिले देखायो निगरानी र चेतावनी सम्प्रेषणको कमजोरी
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान ६ बजे गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासीतर्फका २२१ जना प्रतिकार्यकर्तालाई परिचालन हुन एसएमएस पठाइएको थियो ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पनि तटीय क्षेत्रका बासिन्दालाई दुई चरणमा करिब दुई लाख एसएमएस पठाएको जनाएको छ । सामाजिक सञ्जाल र अन्य माध्यमबाट समेत चेतावनी सम्प्रेषण गरिएको थियो ।
प्राधिकरणको प्रतिवेदनअनुसार बिहान ६ः३० बजे आरुघाटस्थित मापन केन्द्रमा जलसतह ३.६६ मिटर पुगेको थियो । त्यहाँ चेतावनी तह ४.५० मिटर र खतराको तह पाँच मिटर थियो । बिहान ७ः५० बजे जलसतह ५.०१ मिटर पुगेर खतराको तह पार गरेको थियो । त्यसपछि बिहान ८ः३० बजे ६.२२ मिटर र ८ः४० बजे ८.४३ मिटर पुगेको प्रतिवेदनमा उल्लेख छ ।
प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढी’bout बिहान करिब ६ः२० बजे आधिकारिक जानकारी प्राप्त भएपछि चेतावनी र उद्धारको काम अघि बढाइएको बताएका छन् । बाढीको स्रोत माथिल्लो क्षेत्रमा भएकाले त्यहाँबाट तल आइपुग्न तीनदेखि चार घण्टा लाग्ने अनुमानले सुरक्षा निकाय परिचालन गर्न समय मिलेको उनको भनाइ छ ।
तर, स्थानीय बासिन्दाले बिहानै फोन र सामाजिक सञ्जालमार्फत बाढी’bout सूचना प्रवाह गर्न थालेको विवरण पनि सार्वजनिक भएको छ । प्राधिकरणको प्रतिवेदनमा पहिरोले नदी थुनेको समय बिहान ५ः३० बजे र थुनिएको पानी बग्न थालेको समय ६ः१५ बजे उल्लेख छ ।
स्थानीयले सूचना पाएको, घटना भएको र सरकारी निकायले जानकारी प्राप्त गरेको समयबीचको अन्तरले प्रारम्भिक सूचना संकलनको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।
खारोङ, उङजुलुङ र चुम्चेत आसपासदेखि धार्चे गाउँपालिकाका जगत, माछीखोला, तातोपानी, लापुबेँसी र सोतीबजार हुँदै आरुघाटसम्मका बस्ती जोखिममा पर्न सक्छन् । तर, यी बस्तीमा चेतावनी कुन समयमा र कुन माध्यमबाट पुग्यो भन्ने विस्तृत विवरण सार्वजनिक भएको छैन । दुई लाख एसएमएस पठाइएको तथ्यले प्रत्येक जोखिमयुक्त बस्तीका बासिन्दाले समयमै सूचना पाए भन्ने प्रमाणित गर्दैन ।
नेपालले हिमाली क्षेत्रमा बाढी, हिमताल र जलसतहको जोखिम पहिचान गर्न चीनसँग विभिन्न समयमा सहकार्य गर्दै आएको छ । गत २७ मेमा नेपाल र चीनबीच बाढी, मौसम तथा हिमनदीसम्बन्धी जोखिम र सूचना आदानप्रदान’bout छलफल भएको थियो । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछि चीनले जलविज्ञानसम्बन्धी सूचना आदानप्रदान जारी राख्ने र क्षतिग्रस्त निगरानी केन्द्र पुनःस्थापनामा सहयोग गर्ने जनाएको थियो ।
तर, कुन स्थानमा कस्ता उपकरण जडान गरिएका छन्, ती सञ्चालनमा छन् कि छैनन् र तिनबाट प्राप्त तथ्यांक कति नियमित रूपमा केन्द्रमा पुग्छ भन्ने विवरण अहिलेसम्म स्पष्ट छैन ।
मौसम बताउने ‘माजु’सँग पहिरोको भर !
चीनको सहयोगमा उपलब्ध गराइएको ‘माजु’ कृत्रिम बुद्धिमत्तामा आधारित मौसम पूर्वानुमान प्रणाली’bout पनि प्रश्न उठेका छन् । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका प्रवक्ता विनोद पराजुली माजुले पहिरोको पूर्वसूचना नदिने बताउँछन् ।
‘हामीले पनि मौसम पूर्वसूचना प्रणाली त चलाएकै छौं, चीनले दिएको माजु बाहेक अरू विषयमा हामी अपडेट छैनौं, मौसम विभाग वा विपद् प्राधिकरणतिर बुझ्नुपर्ला’, पराजुलीले भने ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले माजु प्रणाली प्राधिकरणअन्तर्गत सञ्चालनमा रहेको बताए पनि उपकरणको अवस्था र कार्यक्षमता’bout आफूलाई विस्तृत जानकारी नभएको बताएका छन् ।
मौसम पूर्वानुमानले वर्षा र मौसमको सम्भावित अवस्था बताउन सक्छ । तर, पहिरो खसेर खोला थुनिने वा थुनिएको पानी एक्कासि बग्ने घटना पहिचान गर्न नदीको बहाव, जलसतह, भूगर्भीय जोखिम र स्थलविशेषको निगरानीलाई समेत जोड्नुपर्छ ।
४७ हिमताल जोखिममा, कोशी क्षेत्रका मात्रै ४२ वटा
इसिमोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सन् २०२० मा सार्वजनिक गरेको अध्ययनले नेपाल, चीनको तिब्बत र भारतमा रहेका कोशी, गण्डकी तथा कर्णाली नदी बेसिनका ४७ हिमताललाई सम्भावित जोखिमयुक्त मानेको थियो ।
तीमध्ये २५ चीन, २१ नेपाल र एउटा भारतमा रहेको अध्ययनमा उल्लेख छ । ४७ मध्ये ४२ हिमताल कोशी नदी बेसिनमा पर्छन् । हिमताल फुटेर आउने बाढीका अतिरिक्त पहिरोले नदी थुन्ने र पछि थुनिएको पानी एक्कासि बग्ने जोखिम पनि उत्तिकै छ ।
कोशी, अरुण, तमोर, सुनकोशी, तामाकोशी, भोटेकोशी, त्रिशूली, बूढीगण्डकी, मस्र्याङ्दी, कालीगण्डकी र कर्णाली नदी तथा तिनका सहायक खोलाका किनारमा बस्ती, सडक, पुल र जलविद्युत् आयोजना विस्तार भइरहेका छन् । नदीको बहावमा आकस्मिक परिवर्तन हुँदा यी संरचना र त्यहाँ बसोबास गर्ने समुदाय जोखिममा पर्न सक्छन् ।
भोटेकोशी–त्रिशूली र बूढीगण्डकीका घटनाले पूर्वसूचना प्रणालीलाई मौसमको बुलेटिन र एसएमएस पठाउने व्यवस्थामा मात्र सीमित गर्न नहुने देखाएका छन् ।
सम्बन्धित समाचार
एसएसपी खड्का पुगे आयोग, गृहमन्त्री र आइजीपीलाई पनि बोलाइने
अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा
वरिष्ठ पत्रकार हरि लम्सालको निधन
देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने
काँग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार खड्का पक्राउ
हिमलुङमा थप ४ जनाको शव भेटियो
कांग्रेस महाधिवेशनमा बेलायतवाट प्रतिनिधित्व गर्नेको नागरिकता छानबिन गर्न माग
घुस रकमसहित इन्जिनियर र सुपरभाइजर अख्तियारको नियन्त्रणमा






