कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि


काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण शनिबार हुने भएको छ । उनको शपथग्रहण शनिबार फूलपातीको दिन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

उनले गत असोज २३ गते भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सकिएकाले अब दशैँपछिमात्र शपथको कार्यक्रम गर्ने भनिए पनि सभापतिको शपथ शनिबार गरिने बताएका हुन् । यसअघि भने सबैको शपथ दशैँपछि गर्ने बताइएको थियो ।

कटुवालले सभापतिको शपथग्रहणमात्र शनिबार गर्ने र अन्यको भने दशैँपछि नै हुने बताए । उनले भने, ‘सभापतिको शपथमात्र शनिबार दिउँसो २ बजे हुन्छ । अन्य त कतिपय दशैँ मनाउन जिल्ला जिल्लामा गइसक्नु भएको छ । उहाँहरूको एकैपटक दशैँपछि हुन्छ ।’

यता पार्टी कार्यालयले पनि शनिबार दिउँसो सभापतिको शपथग्रहण हुने विज्ञप्ति जारी गरेको छ ।

यता गत असोज २३ गते मतदान गरी त्यहीदिन राति सभापतिको मतगणना गरेर शुरू भएको मतगणना कार्य झण्डै एक हप्तामा सकिएको हो । राष्ट्रिय सभागृहमा गरिएको सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै आएको थियो ।

अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपीनगर, सानेपामा गरिएको थियो । १४ औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको कटुवालले जानकारी दिए ।

उनका अनुसार गणना शुरू भएकै दिनदेखि दिन र रातमा झण्डै २५ समूह बनाएर गणना गराइएको थियो । मतदान तथा मतगणनाका क्रममा कुनै विवाद सृजना नभएको र सौहार्दपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको उनको भनाइ छ ।

यस पटक झण्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नु परेको उनले बताए । कूल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने हरेकले २३ ओटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो ।

अघिल्लो महाधिवेहअधिवेशनको तुलनामा यसपटकको मतगणना दोब्बरभन्दा बढी छिटो भएको निर्वाचन समितिका सदस्य सचिव कटुवालको दाबी छ । सभापति बाहेकको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम भने दशैँ लगत्तै गर्ने तयारी भएको छ ।

त्यसपछि नै यो कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले जानकारी दिएका छन् । उक्त बैठकमै स्थानीय तहको निर्वाचनको खाकासमेत बनाउने तयारीसमेत भइरहेको बुझिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले सांसद वीरबहादुर थापाको राजीनामा स्वीकृत