गुल्मी । गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा ५१ फिटको त्रिशुल स्थापना गरिएको छ । धर्ती माता फाउन्डेशनले रेसुङ्गा सिद्धस्थान मन्दिरमा त्रिशुल स्थापना गरेको हो । गुल्मीको इस्मा गाउँपालिका–२ निवासी कुँवरले २०७५ सालमा रेसुङ्गा सिद्धस्थान मन्दिर नजिकै तपस्या गरेकी थिइन् ।
तपस्या गर्दा भगवानले त्रिशुल मागेको र सोही आकांक्षालाई पुरा गर्न अहिले त्रिशुल चढाएको कुँवरले बताइन् । उक्त त्रिशुललाई प्रसिद्ध धार्मिक स्थल देवघाट, रिडी लगायतका ठाउँको जल समेत चढाइएको थियो । उक्त त्रिशुललाई कात्तिक १३ गते तम्घास ल्याई बजार परिक्रमा गराइएको थियो ।
रेसुङ्गामा धर्ती माताले तपस्या गरेको ठाउँमा चार दिनसम्म उक्त त्रिशुललाई पुजा गरेपछि मंगलबार एक औपचारिक कार्यक्रमबीच रेसुङ्गामा स्थापना गरिएको हो । त्रिशुललाई नेपाली सेना, शशस्त्र प्रहरी बल र नेपाल प्रहरीले रेसुङ्गा पोखरीबाट सिद्धस्थान मन्दिरसम्म पु¥याएका थिए ।
त्रिशुल स्थापना गर्ने दिन मंगलबार जिल्ला तथा जिल्ला बाहिरबाट धेरै भक्तजनहरु रेसुङ्गा पुगेका थिए । ‘रेसुङ्गाको महिमा र त्रिशुल स्थापना गर्ने भनेपछि यहाँ आएकी हुँ ।’ अर्घाखाँचीबाट आएकी विष्णु क्षेत्रीले भनिन् । स्थानीय यज्ञ प्रसाद पन्थीले त्रिशुल स्थापना गर्ने कार्यले रेसुङ्गामा पर्यटकको संख्यामा बृद्धि हुने भन्दै धर्ती माता फाउन्डेशनलाई धन्यवाद् दिए ।












