धनगढीको दमकलले भारतको वनगाउँ बजारको आगो निभायो, स्थानीयद्वारा प्रशंसा

धनगढी । भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लाको वनगाउँ बजारमा लागेको भीषण आगलागी धनगढी उपमहानगरपालिकाको दमकल र नगर प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ।

सीमापारि भएको विपत्तिमा तत्काल उद्धार टोली परिचालन गरी आगो नियन्त्रणमा सहयोग पुर्‍याएको भन्दै भारतीय स्थानीय बासिन्दा तथा व्यापारीहरूले धनगढी उपमहानगरपालिकाको सक्रियताको प्रशंसा गरेका छन् ।

आइतबार साँझ करिब ६:३० बजे वनगाउँ बजारमा आगलागी भएको खबर प्राप्त हुनासाथ उपमहानगरपालिकाले तीनवटा दमकल, एउटा ब्याकु लोडर र नगर प्रहरीको टोली घटनास्थलमा पठाएको थियो ।

घटनास्थल पुगेको टोलीले दमकलबाट निरन्तर पानी प्रयोग गर्नुका साथै ब्याकु लोडरको सहायताले आगलागी फैलिन सक्ने क्षेत्रमा फायर लाइन निर्माण गरेको थियो । टोलीको ६ घण्टाभन्दा लामो निरन्तर प्रयासपछि राति १२:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आएपछि उद्धार टोली र दमकल सुरक्षित रूपमा धनगढी फर्किएका छन् ।

भारतको पलियाका स्थानीय पत्रकार शिशिर शुक्लाका अनुसार लक्ष्मीपूजाका लागि बालिएका झिलिमिली बत्तीबाट विद्युत् सर्ट भई आगलागी भएको हो । आगलागीबाट वनगाउँ बजारका करिब ६० वटा पसल जलेर नष्ट भएका छन् ।

नेपाली उपभोक्तालाई लक्षित गरी सञ्चालन हुँदै आएको वनगाउँ बजार धनगढीबाट नजिकैको सीमावर्ती भारतीय बजार हो। उक्त बजारबाट भारतको पलिया करिब ४० किलोमिटर टाढा पर्छ । भारतीय दमकल टोली घटनास्थल पुग्न समय लाग्ने भएपछि स्थानीयले धनगढी उपमहानगरपालिकासँग सहयोग मागेका थिए ।

सीमापारि भएको विपत्तिमा धनगढी उपमहानगरपालिकाले देखाएको तत्परता र मानवीय सहयोगले नेपाल–भारत सीमावर्ती क्षेत्रबीचको आपसी सम्बन्ध, भाइचारा र सहकार्यलाई थप प्रगाढ बनाउने उदाहरण प्रस्तुत गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

epaper

ताजा समाचार

‘तिलस्मी’ को सार्वजनिक भयो पोस्टर