चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन् ।

आज नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना दिँदै उनले उक्त भनाइ राखेका हुन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गर्नुभएको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको उनले उल्लेख गरेका छन् । ‘आजैका दिन नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्हः पूजा’ को मर्म अति गहिरो छ; ‘म्हः’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ,’ उनले उल्लेख गरेका छन् ।

यस मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुख्र्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको र यो हाम्रा लागि गौरवको विषय भएको उनको भनाइ छ ।

आजैका दिन भगवान् श्रीकृष्णले गोवद्र्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाएको पौराणिक मान्यतासँगै, कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाइन्छ तथा हलो, फालीसहितका कृषि औजारहरूको पूजा गरी गोवर्धन पूजा तथा हली तिहार मनाइने उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

‘त्यसैगरी, हिजो भैलोका मीठा भाका र आज देउसेहरूको उल्लासमय आशीर्वादले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव थप्ने गर्दछ,’ उनले भनेका छन्, ‘हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून् ।’

प्रधानमन्त्री शाहले पर्वको अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना पनि व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछ : प्रधानमन्त्री शाह