इलाम । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर रेखा पौडेलको ह्याट्रिकसँगै डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको दुधे रंगशालामा मंगलबार भएको खेलमा पुलिसले बागमती युथ क्लबलाई ६–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । जितसँगै पुलिसले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको छ ।
पुलिसको जितमा रेखा पौडेलले ह्याट्रिक पूरा गर्दा कप्तान अमृता जैसी र सम्झना लावतीले पनि गोल गरिन् । पुलिसले खेलको १५औँ मिनेटमा जैसीको गोलबाट अग्रता लिएको थियो । पूजा रानाको फ्रिकिकमा जैसीले हेडमार्फत गोल गरेकी थिइन् ।
त्यसको दुई मिनेटपछि निर्मला विकमाथि बागमतीका खेलाडीले डिबक्सभित्र फल गरेपछि पुलिसले पेनाल्टी पायो । उक्त अवसरलाई सदुपयोग गर्दै रेखाले गोल गरिन् । खेलको ४२औँ मिनेटमा सुहानी राईले रेखामाथि नै फल गरेपछि पुलिसले अर्को पेनाल्टी पायो । रेखाले पेनाल्टीमा गोल गर्दै व्यक्तिगत दोस्रो गोल पूरा गरिन् ।
पहिलो हाफको अतिरिक्त समयमा सम्झना लावतीले गोल थप्दै पुलिसको अग्रता फराकिलो बनाइन् । मिना देउवाको प्रहार रिबाउन्ड भएपछि लावतीले बललाई पोस्टको दिशा दिएकी थिइन् ।
दोस्रो हाफमा पनि पुलिसले आक्रामक खेल जारी राख्यो । खेलको ८३औँ मिनेटमा डिबक्स नजिकै पाएको फ्रिकिकलाई गोलमा परिणत गर्दै रेखाले ह्याट्रिक पूरा गरिन् । त्यसको दुई मिनेटपछि मैदानको मध्यभागबाट बल अघि बढाउँदै विपक्षी पोस्टको दोस्रो बार च्यापेर प्रहार गरेको बलले जाली चुम्यो ।
दोस्रो हाफमा बागमतीले केही समय पुलिसलाई दबाबमा राखे पनि गोलका अवसर सिर्जना गर्न सकेन । आक्रमणमा प्रभावकारी हुन नसक्दा बागमती प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ ।
खेलको प्लेयर अफ द म्याच पुलिसकी रेखा पौडेल घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनलमा झापा–११ फुटबल क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडीले एक लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
सम्बन्धित समाचार
फिल्डिङमा सुधार गर्नुपर्नेछ, प्लेअफ पुग्छौँ: सन्दीप लामिछाने
कमल, राधिका र राजकुमारलाई पहिलो दिन अग्रता
विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य
एनपिएलः पोखराद्वारा काठमाण्डुसामु २२५ रनको लक्ष्य
एनपीएल : सकियो लिग चरण, कुन टिमको खेल कस्तो रह्यो ?
धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल कार्यक्रम सुरु
सुदूरपश्चिम रोयल्स एनपिएल च्याम्पियन
भारतीय टोलीविरुद्ध आर्मीको १० गोल






