नेपालका लागि बंगलादेश फेरि तगारो

काठमाडौं । सातौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ सम्पन्न खेलमा आयोजक नेपाललाई २–१ गोल अन्तरले हराउँदै बंगलादेशले दोस्रोपटक उपाधि जितेको हो ।

यसअघि सन् २०२२ को छैटौं संस्करणको उपाधि पनि बंगलादेशले नेपाललाई नै हराएर जितेको थियो । त्यतिबेलाको स्कोर ३–१ थियो भने अहिले २–१ रहेको छ ।

१५ हजार ३ सय ७३ घरेलु दर्शकमाझ नेपाल छैटौंपटक साफ च्याम्पियनसिपको फाइनलमै हार बेहोर्न पुग्यो ।

नेपाल ६ पटक उपविजेता बन्दा भारत चारपटक र बंगलादेश दुईपटक विजेता बनेका छन् । बंगलादेशका लागि खेलको ५२औं मिनेटमा मोनिका चक्मा र ८१औं मिनेटमा ऋतुपोर्ण चक्माले गोल गरे । पराजित नेपालका लागि अमिशा कार्कीले खेलको ५६औं मिनेटमा गोल फर्काएकी थिइन् ।

  • बंगलादेशले जित्यो दोस्रोपटक उपाधि
  • नेपाल छैटौंपटक उपविजेता

५२औं मिनेटमा मोनिकाको गोलमा सुरुवाती अग्रता बनाएको बंगलादेशको अग्रता ४ मिनेट पनि नबित्दै अमिसाले तोडिन् । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रहेको थियो । दुवै टोलीले सुरुदेखि नै गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल हुन सकेन । खेलको सुरुवाती मिनेटमा दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो ।

खेलको पहिलो मिनेटमै नेपाल गोल खानबाट बचेको थियो । डिफेन्डर गीता राना गोलकिक प्रहार गर्ने क्रममा चिप्लिन पुग्दा उनको प्रहार सिधै बंगलादेशी खेलाडी तोहुरा खातुनको खुट्टामा पुगेको थियो । किपर एञ्जिला सुब्बा झुक्किएको अवस्थामा तोहुराको प्रहार क्रसबारमा लागेर फर्र्किएको थियो । त्यसको रिबाउन्डमा तोहुराकै हेडरलाई गोलरक्षक एञ्जिलाले समातिन् ।

सोही स्थितिबाट केही मिनेटमै बंगलादेश पनि बच्न पुग्यो । १०औं मिनेटमा नेपालको अग्रता लिने प्रयास विफल भयो । अमिशाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार बारमा लागेर फर्किएको थियो ।

खेलको ३५औं मिनेटमा बंगलादेशकी मोनिकाले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो ।

दोस्रो हाफको ५२औं मिनेटमा बंगलादेशले अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र नेपाली डिफेन्डर बल क्लियर गर्न नसकेको अवस्थामा मोनिकाले गोलकिपर एञ्जिलालाई छक्काउँदै गोल गरिन् ।

खेलको ५६औं मिनेटमा नेपाल खेलमा फर्कियो । प्रीति राईको लामो पासमा बंगलादेशको डिफेन्स लाइनबाट गल्ती भएपछि त्यसकै मौका छोपी अमिशाले गोल गरिन् । ६८औं मिनेटमा बंगलादेशकी मारिया मान्दाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई गोलकिपर एञ्जिलाले डाइभ दिएर बचाइन् ।

८१औं मिनेटमा ऋतुले बायाँ विङबाट सिधै दिएको क्रसलाई गोलरक्षक एञ्जिलाले बचाउन नसक्दा गोल भयो । एञ्जिलाले सो बललाई पन्च गरेर बचाउन खोजे पनि बल उनको हातमा लाग्दै पोस्टको जालीभित्र पसेको थियो ।

नेपाल सेमिफाइनलमा भारतलाई ट्राइब्रेकरमा ४–२ ले हराउँदै तथा बंगलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौं संस्करणको फाइनलमा पुगेका हुन् ।

पाँचपटक फाइनल पुगे पनि उपविजेतामै सीमित बनेको नेपालको चाहना यसपटक पनि अधुरै रह्यो । अघिल्लो संस्करणको फाइनलमा पनि यिनै दुई टिमबीच यही मैदानमा प्रतिस्पर्धा भएको थियो । त्यसबेला पनि नेपालले भारतलाई र बंगलादेशले भुटानलाई नै हराएर फाइनलमा स्थान बनाएका थिए ।

पहिलो संस्करणदेखि पाँचौं संस्करणसम्म लगातार विजेता बन्दै आएको भारतलाई अघिल्लो संस्करणमा जस्तै यस संस्करणमा पनि नेपालले सेमिफाइनलमै रोक्न सफल भएको छ ।

सन् २०१० को पहिलो संस्करण र सन् २०१४ को तेस्रो संस्करणमा नेपालले बंगलादेशलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो । सन् २०१९ को पाँचौं संस्करणमा नेपालले बंगलादेशलाई ३–० गोल अन्तरले हराएको थियो । तर, सन् २०२२ देखि बंगलादेश बलियो बन्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारको आयुवारे प्रधानमन्त्री ओली किन सशंकित ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा दुई स्थानीय तहमा मात्रै प्रमुख पदमा महिला उम्मेदवार