भक्तपुर महोत्सव शुक्रवारबाट

काठमाडौं । भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रवारबाट ५ दिनसम्म हुने भक्तपुर महोत्सवको तयारी पूरा गरिएको छ । महोत्सव मूल समारोह समितिका संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मौलिकता, कला, संस्कृति, सम्पदा, हस्तकला र घरेलु उद्योगमा आधारित मौलिक उत्पादन र मौलिक जीवनशैलीको विकास र प्रवद्र्धन गरी आन्तरिक र बाह्य पर्यटनमा आधारित पर्यटन उद्योगमार्फत नगर र नगरवासीहरुको आर्थिक गतिविधि बढाउने उद्देश्यका साथ पुस २ गतेसम्म महोत्सव हुने बताए ।

महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत २३ विभिन्न विधाका नाचहरुमा ६३ समूहले भाग लिने र ३२ वटा विधा ८० स्थानमा महोत्सव सञ्चालन हुने जानकारी उनले दिए ।

नगरका विभिन्न १८ स्थानमा सूचना केन्द्र, १४ स्थानमा प्राथमिक उपचार केन्द्र, ३० भन्दा बढी स्थानमा खानेपानी, ३० भन्दा बढी स्थानमा शौचालय सुविधा, २२ वटा पार्किड्ड स्थलको व्यवस्था मिलाएको बताउँदै उनले महोत्सव सञ्चालन हुने नगरको पुरानो क्षेत्रमा विहान ९ बजेदेखि साँझ ६ बजेसम्म आकस्मिक सेवा बाहेकका सवारी साधन प्रवेश निषेध गरिएको जानकारी दिए ।

महोत्सवका लागि सुरक्षा निकायहरुसँग समन्वय र सहकार्य भइरहेको जानकारी गराउँदै प्रमुख प्रजापतिले महोत्सवलाई भव्य र सभ्य रुपमा सञ्चालन गर्न स्थानीय स्काउटका ५०० र स्काउट मास्टर ७५ गरी कूल ५७५ जना स्काउटहरु परिचालन हुने बताए ।

साँस्कृतिक कार्यक्रम अन्तर्गत २३ विभिन्न विधाका नाचहरुमा भक्तपुर दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र र क्वाठण्डौमा हुने बताइएको छ । ६ वटा बाजा विधाका १०१ वटा सांस्कृतिक समूहले नगरको प्रदक्षिणा मार्ग परिक्रमा गरी प्रस्तुत गर्नेछन् । त्यस्तै भक्तपुर नगरक्षेत्रका ३४ समूह, भक्तपुर जिल्लाका अन्य नगरपालिकाबाट ५ समूह र भक्तपुर जिल्ला बाहिरका अन्य जिल्लाबाट ८ समूह गरी जम्मा ४७ वटा बाँसुरी बाजा समूहबीच प्रतियोगिता हुनेछ ।

भक्तपुरको मुलाछेँ र वाकुपति नारायण परिसरमा परम्परागत खिंहरु, लाला खिं, धाँ, नाय खिं, को खिं, ढोलक, तबला, धिमाय, पछिमा, मादल आदि प्रदर्शनी हुनेछ । त्यस्तै नगरका ५ स्थानमा नौबाजा र ४६ वटा भन्दा बढी भजन समूहहरुले भजन प्रस्तुति गर्ने व्यवस्था गरिएको छ । त्यस्तै नगरका ६ स्थानहरुमा भुटेको अन्न र गेडागुडिबाट बनाइने हलिमलि प्रदर्शनी हुनेछ । भक्तपुरमा मनाइने विभिन्न किसिमका जात्रा पर्वहरुको नमूना प्रदर्शनीको व्यवस्था गःहितिमा मिलाइएको छ । जसमा पुलुकिसी, सुयाम्हा (परालको) भैलद्यो, ताहामचा, भैल खः, गाठामग र योसिंद्योको नमूना प्रदर्शनी हुने नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

प्रशन्नशील महाविहारमा कुमारी दर्शनको व्यवस्था मिलाइएको छ । प्रशन्नशील महाबिहारका साथै भक्तपुरका ५ वटा महाविहारहरुमा दिपंकर बुद्धको प्रदर्शनी हुनेछ । भक्तपुर इनाचो स्थित मुनिबिहारमा बुद्ध अस्तु र बौद्ध दर्शनको प्रदर्शनीको व्यवस्था मिलाइएको छ । त्यस्तै भक्तपुरको प्रसिद्ध नवदुर्गाको द्यो ब्वेकेगु र दर्शनको व्यवस्था नवदुर्गा द्योछेँ अगाडि गःछेँमा हुने उल्लेख गरिएको छ ।

प्रसिद्ध ५५ झ्याले दरबारमा नेवार समुदायको परम्परागत पौभा चित्र प्रदर्शनी हुनेछ भने नगरका ७ स्थानमा तस्वीर (फोटो) प्रदर्शनी, २ स्थानमा चित्रकला प्रदर्शनी र लायकुमा छ्वालीकला प्रदर्शनी हुनेछ । नगरका ७ स्थानमा नेवार समुदायको परम्परागत पोशाक प्रदर्शनी र बिक्रि वितरण तथा दत्तात्रय, लायकु र टौमढीमा नेवारी पोशाक बहालमा लिई फोटो खिच्ने व्यवस्था मिलाइएको छ ।

नगरका विभिन्न ११ स्थानमा स्थानीय नेवारहरुको जन्मदेखि मृत्युसम्म गरिने विभिन्न संस्कारहरु मध्ये मचाबु ब्यंकेगु, मचा चिपं थिकेगु, न्यदा बुदीँ, प्यदा बुदीँ, ईहि, कयता पुजा, बाह«ा, बिहा, जंको, लगायतका संस्कारको नमूना प्रदर्शनीको व्यवस्था मिलाइएको छ । साथै नगरका विभिन्न स्थानमा परम्परागत सीप र कलासंग सम्बन्धित चिउरा कुट्ने, जाँड बनाउने, रक्सी बनाउने, धान कुट्ने, कपडा बुन्ने, थाज्या यनेगुलगायतका परम्परागत विधिहरुको जीवन्त प्रदर्शनीको व्यवस्था मिलाइएको छ।

नगरका ३ स्थानहरु नः पुखु परिसर, नासमना र तेखापुखुमा घरेलु तथा साना उद्योगसंग सम्बन्धित परम्परागत सीप र कलाको जीवन्त प्रदर्शनी र सोसंग सम्बन्धित उत्पादनहरुको प्रदर्शनी एवम बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।

नगरका दुई स्थानहरु सानो व्यासी र महेश्वरी खेल मैदानमा व्यापार मेलाको व्यवस्था मिलाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रबि लामिछानेमाथिकाे अनुसन्धान प्रतिबेदन बुझाइयाे

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा तीन वटा वडाको मत परिणाम सार्वजनिक, कांग्रेस दुई तमलोपा एक स्थानमा विजयी