सुर्खेत । आगामी ३० वर्षसम्म वीरेन्द्रनगरमा वृद्धि हुन सक्ने जनसंख्यालाई मध्यनजर गरी खानेपानीको सहज आपूर्ति पु¥याउने लक्ष्यका साथ थालिएको भेरी पम्पिङ आयोजनाको काम धमाधम अघि बढेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोजना निर्माणका लागि जग्गाको भोगाधिकार दिने निर्णय गरेसंगै बाँकी कामले तिव्रता पाउने भएका छन् । नेपाल सरकारले वीरेन्द्रनगर नगरपालिकाका वडा नं ८, ११ र १२ तथा लेकबेशी नगरपालिका १० मा पर्ने ३.२ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न आयोजनालाई स्वीकृति दिएको हो ।
संघ, प्रदेश र स्थानीय तहको सह–लगानीमा सञ्चालित यो स्थानीय तहमा सञ्चालित खानेपानी क्षेत्रको ठूलो परियोजना हो । जानकारहरुले यसलाई लागतका हिसाबले मेलम्ची पछिको नेपालको ठूलो खानेपानी आयोजना भनेका छन् ।
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगरका आयोजना इकाई कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सञ्जीवकुमार साहले अब कानुनी प्रक्रिया पुरा गरेर फिल्डमा रुख कटानको काम सुरु हुने बताए । ‘नेपाल सरकारले जग्गाको भोगाधिकारको निर्णय गरिदिँदा बाँकी काम थाल्न सजिलो भएको छ, उनले भने, आयोजनाको टाइमलाइनलाई असर नपर्ने गरी थप कामको तयारी गर्छौं ।’ २०८१ भदौदेखि निर्माण सुरु भएको आयोजना सम्झौता मितिले तीन वर्षभित्र सम्पन्न हुनेछ । हालसम्म करिब ९ प्रतिशत बजेट खर्च भएको छ । आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिज्याङ टम्स इन्टरनेशनल इकोनमी एण्ड टेक्निकल को–अपरेसन लिमिटेडले पाएको छ ।
आगामी तीन वर्षभित्र भेरीको पानी सुर्खेत उपत्यका (वीरेन्द्रनगर) मा ल्याउने गरी निर्माण कम्पनीसँग ३ अर्ब ५० करोड ८ लाख रुपैयाँ लागतमा सम्झौता भएको थियो । संघीय खानेपानी मन्त्रालयले विश्व बैङ्कको ऋण सहयोगमा चालू आर्थिक वर्ष २०८१÷०८२ बाट संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर नगरपालिकामा ल्याउन सुरु गरेको थियो ।
आयोजना इकाई कार्यालयका अनुसार भेरी पम्पिङ उप–आयोजना प्याकेज २ अन्तर्गत वितरण प्रणालीको सर्भे डिजाइन, क्षेत्रगत सुधार विस्तार आयोजनाको लागत इस्टिमेटसहितको सर्भे डिजाइनको काम भइरहेको छ । आयोजनाले नसमेटिएका वीरेन्द्रनगरका वडा नं १३ को आधा भाग, वडा नं १४, १५ र १६ मा सर्भे डिजाइन, जलाधार व्यवस्थापन अध्ययन, पाइप खरिद, सार्वजनिक शौचालय इस्टिमेट तयार गर्नुका साथै निर्माण कम्पनीले क्रसर प्लान्ट, निर्माण सामग्रीको परीक्षण गर्न ल्याब स्थापना गरिसकेको छ । त्यस्तै धारापानी र खोर्केमा ४५० घनमिटरको पानीपोखरी निर्माण कार्य पनि सुरु गरेको छ ।
नगर प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण दिनानुदिन चुलिँदो खानेपानीको समस्या समाधानको एकमात्र विकल्प भेरी लिफ्ट रहेकाले निर्माण कार्यमा बिलम्ब र कुनै प्रकारको अवरोध सिर्जना हुन नदिने बताइन् । ‘वन क्षेत्रको निर्णय हुन बाँकी थियो, त्यो निर्णय पनि समयमै भयो, उनले भनिन्, ‘निर्माण कम्पनीले कार्य शर्त अनुसारै काम गरिरहेको छ, सर्भे, डिजाइन सकिएका कामको ठेक्का प्रक्रिया सुरु भएको छ, ठेक्का भएका कामको सामान खरिद र संरचना निर्माण भइरहेको छ ।’ उनले भेरी पम्पिङ आयोजना निर्धारित मितिमै सम्पन्न हुने दाबी गरिन् ।
पहिलो चरणमा पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब ७ मिटर गहिरा दुई वटा इन्टेक निर्माण गरिदैछ । इन्टेकदेखि करिब ४०० मिटरको दूरीमा पानी प्रशोधन प्रणाली निर्माण, ७ किलोमिटर पाइपलाइन विस्तारसँगै वीरेन्द्रनगर–११ स्थित अमृतडाडाँमा मुख्य रिजर्भ ट्याङ्की निर्माणको डिजाइन गरिएको छ । पहिलो चरणमै ट्याङ्कीदेखि वीरेन्द्रनगरसम्म मुख्य प्रशारणलाइन विस्तारको काम सुरु भएको छ ।
दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार गर्ने योजना छ । वितरण प्रणाली तथा डिस्ट्रिक मिटर्ड एरियाको बाँकी काम हुनेछ । पहिलो र दोस्रो चरणका लागि करिब ३÷३ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । भेरीको पानी चार मिटर उचाइमा प्रशोधन ट्याङ्कीमा खसालिनेछ ।
करिब सात किलोमिटर लामो पाइपका माध्यमबाट अमृतडाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिनेछ । ५५० मिलिमिटर प्रति सेकेण्ड क्षमताको पानी बोक्न सक्ने पाइप अमृतडाँडामा राखेर मुख्य ट्याङ्कीसम्म विस्तार गरिनेछ । अमृतडाँडामा ३० लाख क्षमताका तीन वटा रिजर्भ ट्याङ्की निर्माण हुनेछन् ।
वीरेन्द्रनगरमा हाल दैनिक ३२० लिटर प्रतिसेकण्ड पानीको माग भए पनि आपूर्ति भने प्रतिसेकेन्ड १५३ लिटर भइरहेको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले माग र आपूर्तिको सन्तुलन मिलाउन आलोपालो प्रणाली लागू गर्दै आएको छ । तर, मागबमोजिमको पानी उपलब्ध गराउन भने सकेको छैन । हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको छ ।
सम्बन्धित समाचार
![](https://rajdhanidaily.com/wp-content/uploads/2025/01/bima-150x150.jpg)
![](https://rajdhanidaily.com/wp-content/uploads/2025/01/10-14-P-1--150x150.jpg)
![](https://rajdhanidaily.com/wp-content/uploads/2025/02/kharab-karja-150x150.webp)
![](https://rajdhanidaily.com/wp-content/uploads/2023/06/Share-Market-Nepse-150x150.jpg)
![](https://rajdhanidaily.com/wp-content/uploads/2025/01/WhatsApp-Image-2025-01-26-at-5.17.48-PM-150x150.jpeg)
![](https://rajdhanidaily.com/wp-content/uploads/2025/01/received_1467256691344964-150x150.jpeg)
![](https://rajdhanidaily.com/wp-content/uploads/2025/01/10-17-P-1-150x150.jpg)
![](https://rajdhanidaily.com/wp-content/uploads/2022/05/death-150x150.jpg)
![](https://rajdhanidaily.com/wp-content/uploads/2025/01/bima-150x150.jpg)
![](https://rajdhanidaily.com/wp-content/uploads/2025/02/unnamed-150x150.jpg)
![](https://rajdhanidaily.com/wp-content/uploads/2025/02/mit-150x150.jpg)
![](https://rajdhanidaily.com/wp-content/uploads/2025/02/Routahat.jpg-1-150x150.jpg)