काठमाडौं । अभिनेता राजेश हमाल पछिल्लो समय नयाँ चलचित्र ‘प्रवासी जीवन’मा व्यस्त छन् । उनले हालै यो चलचित्रको छायांकन सम्पन्न गरेका हुन् । यो चलचित्र आगामी १५ फागुनमा नेपालभर प्रदर्शनको घोषणा समेत गरिएको छ ।
राजेश हमालका अनुसार नेपालबाट आफ्नो उज्ज्वल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने संघर्ष र प्रवासी जीवनको कथा यसले बोकेको छ ।
यो चलचित्रको नेपाल र अमेरिकामा छायांकन गरिएको हो । चलचित्रमा राजेश हमालसँगै सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत, गगन सुबेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारीलगायतको अभिनय रहेको छ । चलचित्रलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त निर्देशन गरेका हुन् ।
‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्य रहेको यस चलचित्रमा अमेरिकाको रमणीय दृश्यमा देख्न पाइने निर्देशक क्षेत्रीको कथन छ । चलचित्रलाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको हो । ‘डाईङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’ जस्ता चलचित्र निर्माण पछि आफूहरूले ‘प्रवासी जीवन’ चलचित्र बनाएको पनि श्यामले बताएका छन् । चलचित्रका निर्मातामा रविन आचार्य पनि छन् ।
यसैबिच बुधवार यो चलचित्रको फस्ट लुक्स (पोस्टर) सार्वजनिक गरिएको छ । यो चलचित्रको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् । जसमा अमृत बिसुवाको छायांकन, राम अधिकारीको सम्पादन, नवीन कार्कीको संगीत, प्रमोद खरेल र प्रताप दासको स्वर रहेको छ ।












