ललितपुर । दिगो साकोस अभियान : प्रविधि, रूपान्तरण र सुशासन’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ ललितपुर साकोस समिट–२०८३ सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ (लस्कुन)ले शुक्रबार र शनिबार आयोजना गरेको पाँचौँ समिटमा सहकारीकर्मी, विषयविज्ञ तथा सरोकारवालाहरूको सामूहिक छलफलबाट सहकारी क्षेत्रको दिगो विकास, संस्थागत सुशासन र सदस्यको हित संरक्षणका लागि सातबुँदे साझा घोषणापत्र जारी गरिएको संघका अध्यक्ष रामहरि बजगाईंले बताए ।
साझा प्रतिबद्धतामा प्रारम्भिक सहकारी संस्थाहरू सञ्चालनमा अव्यवहारिक देखिएका विद्यमान ऐन, कानुन र निर्देशन संशोधनका लागि नेपाल सरकार तथा सम्बन्धित निकायमा नेतृत्वदायी भूमिका खेल्ने जनाइएको छ ।
घोषणापत्रमा सहकारी संस्थाहरूमा पारदर्शिता, जबाफदेहिता, प्रभावकारी आन्तरिक नियन्त्रण तथा उत्तरदायी नेतृत्वलाई संस्थागत गर्दै सहकारीप्रतिको जनविश्वास अभिवृद्धि र पुनर्जीवित गर्ने उल्लेख छ ।

त्यसैगरी सुरक्षित तथा सदस्य केन्द्रित डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोग विस्तार गर्दै साइबर सुरक्षा, तथ्यांक संरक्षण र प्रविधिजन्य जोखिम न्यूनीकरणलाई प्राथमिकता दिइने घोषणापत्रमा जनाइएको छ ।
त्यसैगरी कर्जा सूचना केन्द्रमा आबद्धताको व्यवस्था भएता पनि कर्जा सूचना लिने दिनेलगायतका कार्यहरू कार्यान्वयन नभएको हुँदा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग तत्काल पहल गर्ने साथै जोखिमरहित कर्जा प्रवाह, नियमित सदुपयोगिता जाँच तथा प्रभावकारी कर्जा असुली मार्फत निष्क्रिय कर्जा न्यूनीकरण गर्ने उल्लेख छ ।
घोषणापत्रमा सञ्चालक समिति तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, व्यावसायिक दक्षता र संस्थागत उत्तराधिकारी योजना निर्माण गरी कार्यान्वयन गर्ने जनाइएको छ ।
त्यसैगरी सहकारी क्षेत्रमा देखिएका समस्या तथा संकटका कारणहरूको पहिचान गरी सुधारात्मक कार्ययोजना अवलम्बन गर्ने तथा सहकारी संघ संस्था, नियामक निकाय र सरोकारवालाबीच बहस पैरवी, समन्वय र सहकार्य सुदृढ गर्ने उल्लेख छ ।
प्रारम्भिक सहकारी संस्थाको व्यवसाय विकास, प्रवर्धन, शिक्षा तालिम र अनुगमनका लागि संघले मापदण्ड/स्तरीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै कार्यक्रममा प्रारम्भिक सहकारी संस्थाहरू सक्रिय रूपमा आबद्ध गर्ने घोषणापत्रमा समेटिएको छ ।
कार्यक्रमको समापन गर्दै बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले घोषणापत्रमा जारी गरेको प्रतिबद्धतालाई व्यवहारमा लागु गर्न आग्रह गरिन् । उनले प्रदेशसभामा सहकारी ऐन परिमार्जनमा आफूले भूमिका खेल्ने जनाइन् ।
सहकारी क्षेत्रले मुलुकको आर्थिक सामाजिक रूपान्तरणमा योगदान गर्दै आएकाले यो क्षेत्रलाई थप व्यवस्थित र सुरक्षित बनाएर लैजान आवश्यक रहेको उनले बताइन् । जारी भएको घोषणा भएको प्रतिबद्धता पत्रलाई प्रदेश सरकारमा समेत छलफल गरी कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले उद्घाटन समारोहमा सहकारी संस्थाले बचत संकलन र ऋण लगानीमा मात्र केन्द्रित नभई उत्पादन, उद्योग, व्यवसाय र रोजगारी सिर्जनाका क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । मुख्यमन्त्री थापाले सहकारीको सिद्धान्त र मूल्यअनुसार संस्था सञ्चालन हुन नसक्दा पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिएको बताए ।
उनले सहकारीकर्मीले आफ्नो पहिचान लुकाउनुपर्ने अवस्था आउनु गम्भीर विषय भएको उल्लेख गर्दै संस्थाबीच अस्वस्थ प्रतिस्पर्धा र बचत तान्न ब्याजदरमा गरिएको होडबाजीले पनि समस्या निम्त्याएको बताए । ‘सहकारीको सिद्धान्तअनुसार संस्था सञ्चालन हुन नसक्दा अहिले समस्या आएको छ,’ उनले भने, ‘बचत तान्न ब्याजदरमा गर्ने होडबाजीले सहकारी क्षेत्रलाई थप जोखिममा पु¥याउनुका साथै घर जग्गालगायत अनुत्पादनशील क्षेत्रमा ऋण लगानी गर्दा पनि समस्या आयो ।’
मुख्यमन्त्री थापाले सहकारी संस्थालाई व्यवस्थित र जिम्मेवार ढंगले सञ्चालन गर्न सहकारी संघहरूले नियमित रूपमा तालिम, शिक्षा तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । सहकारी क्षेत्रलाई आफूले अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा लिएको उल्लेख गर्दै उनले संस्थाको दर्ता गर्ने तर प्रभावकारी नियमन र अनुगमन नगर्ने विगतको अभ्यासले पनि समस्या निम्त्याएको बताए ।
सहकारी क्षेत्र सुधारका लागि आवश्यक ऐन–कानुन संशोधन गर्न प्रदेश सरकार तयार रहेको उनको भनाइ छ । सहकारी अभियानबाट प्राप्त सुझावका आधारमा बचत तथा ऋण सहकारीलाई व्यवस्थित बनाउन कानुनी सुधार आवश्यक भए त्यसका लागि आफू तयार रहेको उनले प्रतिबद्धता जनाए ।
३ असोज २०५० मा स्थापना भई ललितपुर जिल्लाभित्र सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संगठनको रूपमा क्रियाशील रहँदै आएको लस्कुनले सहकारी ऐन २०७४ को दफा २४ तथा दफा २५ बमोजिमको प्रावधानहरूका साथै संघको स्वीकृत विनियम तथा साधारणसभाबाट पारित वार्षिक कार्यक्रमको आधारमा कार्यसम्पादन गर्दै आएको संघका सचिव श्यामकृष्ण महर्जनले बताए ।
समिट सहकारी क्षेत्रको बदलिँदो कानुनी परिदृश्य र नयाँ नियमनकारी व्यवस्थाहरूको ’boutमा सरोकारवालाहरूलाई सचेत गराउन महत्वपूर्ण अवसरका साथै कानुनी प्रावधानहरूको सही पालना मार्फत भविष्यमा आउन सक्ने कानुनी जटिलता वा कारबाहीबाट संस्थालाई जोगाउन सहयोगी बनेको सहभागीहरूले बताए ।
जिल्लाका ४२१ वटा बचत तथा ऋण सहकारीमध्येबाट १५५ जनाले समिटमा सहभागिता जनाएको संघका प्रमुख कार्यकारी अधिकृत सन्तोष बजगाईंले जानकारी दिए ।
समिटमा सहकारी क्षेत्रको बदलिँदो कानुनी परिदृश्यः अवसर, चुनौती र आगामी कार्यदिशाका सम्बन्धमा नेपाल राष्ट्र बैंक , मानव संसाधनदेखि मानव पुँजीसम्मः सक्षम साकोसका लागि सक्षम नेतृत्वको रणनीतिका ’boutमा नविल बैंकका सीईओ मनोजकुमार ज्ञवालीले प्रस्तुतीकरण गरेका थिए ।

सहकारीमा भाखा नाघेको ऋण असुलीमा कर्जा असुली न्याधिकरणको भूमिका तथा कानुनी पक्षहरूका सम्बन्धमा कर्जा असुली न्यायाधिकरणका सूचना अधिकारी नवीन मैनालीले प्रस्तुति गरे ।
राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त एवं संघीय सरकारका पूर्व अर्थसचिव कृष्णहरि बास्कोटाले नियमनदेखि सुशासनतर्फ ः साकोसको छवि निर्माणको आधार हुनु पर्नेमा जोड दिए । समिटमा साकोसमा कृत्रिम बुद्धिमत्ताको प्रयोग र प्रविधि जोखिम व्यवस्थापन ध्यान दिनु पर्ने विज्ञहरूको सुझाव थियो ।
डा. ताराप्रसाद गिरीले सकारात्मक सोचसहितको सहकारी नेतृत्व र व्यक्तित्व विकास उत्प्रेरणा दिनु पर्ने बताए ।
बागमती प्रदेश रजिस्ट्रार प्रदीपराज पौडेलले कार्यालय विद्यमान सहकारी संकट समाधानमा नियामक निकायको भूमिकामाथि प्रकाश पार्दै विद्यमान सहकारी संकटका प्रमुख कारण, संकट समाधानका प्रयास र सहकारीप्रतिको जनविश्वास पुनर्जीवित हुनु पर्ने खाँचो औँल्याए ।
सम्बन्धित समाचार
अर्थमन्त्री डा. वाग्लेद्वारा पुँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन
धरानको भाटभटेनी सुपर मार्केट बुधबारदेखि पुनः सञ्चालनमा आउने
अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार
रिलायन्स स्पिनिङले पहिलो वर्षमै ३० प्रतिशत नगद लाभांश दिने
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
आजको विदेशी मुद्राको विनिमयदर : चिनियाँ युआन मजबुत, जापानी येन कमजोर
ग्यासको मूल्य घट्यो, प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा बिक्री गर्न निर्देशन
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर






