न्यायाधीश पुनर्नियुक्ति गर्न पूर्वन्यायाधीशहरूको माग

काठमाडौं । पूर्वन्यायाधीशहरूले सर्वोच्च अदालतका विवादमा परेका न्यायाधीशमाथि संविधान र कानुनअनुसार कारबाही गर्नुपर्ने तथा न्यायपालिकाको पुनःसंरचना गरी न्यायाधीशहरूको पुनर्नियुक्ति गर्नुपर्ने माग गरेका छन् ।

उनीहरूले न्यायिक आचरण उल्लंघन, कार्यक्षमताको अभाव वा खराब आचरण पुष्टि भए संवैधानिक प्रक्रियाअनुसार आवश्यक कारबाही अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

आवश्यक परे महाअभियोग प्रक्रिया अघि बढाउन सुझाव

पूर्वन्यायाधीशहरूको फोरमले सर्वोच्च अदालतका केही न्यायाधीशको न्यायिक आचरणविरुद्ध सार्वजनिक भएका घटनाक्रम र सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) को १६ कात्तिक २०८३ को निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

फोरमले न्यायपालिकाको वर्तमान अवस्था सुधार गर्न न्यायाधीशहरूको पुनर्नियुक्तिसहित आमूल पुनःसंरचना’bout सबै सरोकारवालाबीच छलफल प्रारम्भ गर्न जिम्मेवार निकायलाई आग्रह गरेको छ ।

न्यायाधीशमाथिका आरोपको तथ्यगत प्रमाणका आधारमा छानबिन गरी संविधान र कानुन उल्लंघन भएको, कार्यक्षमताको अभाव रहेको, खराब आचरण देखिएको वा न्यायाधीशको आचारसंहिताको गम्भीर उल्लंघन भएको पाइए संवैधानिक प्रक्रिया अवलम्बन गर्नुपर्ने उसको माग छ ।

संविधानले सर्वोच्च अदालतका न्यायाधीशमाथि महाअभियोग लगाउन सक्ने व्यवस्था गरेको छ । फोरमले विज्ञप्तिमा महाअभियोग शब्द उल्लेख नगरे पनि संविधान र कानुनअनुसार कारबाही तथा संवैधानिक प्रक्रिया अवलम्बन गर्नुपर्ने धारणा राखेको छ ।

न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, निष्ठा, सदाचार, सक्षमता, समानता र लगनशीलता न्यायाधीशको आचारसंहिताका आधारभूत तत्व भएको उल्लेख गर्दै फोरमले न्यायाधीश स्वयं आफ्नो आचरणप्रति जवाफदेही हुनुपर्ने जनाएको छ । न्यायाधीशले आफ्ना काम र व्यवहार विवेकशील पर्यवेक्षकको दृष्टिमा उपयुक्त, मनासिव र सर्वोच्च अदालतको न्यायाधीशलाई सुहाउने छ कि छैन भनेर आफैँ मूल्यांकन गर्नुपर्ने उसको भनाइ छ ।

केही समयदेखि न्यायपालिका पटकपटक गम्भीर विवादमा पर्दै आएको भन्दै फोरमले न्यायालयभित्रका भ्रष्टाचारजन्य कार्य, विकृति र विसंगतिविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्ने आवश्यकता औँल्याएको छ । तर, एक वा केही न्यायाधीशका कारण समग्र न्यायपालिकाको छविलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने प्रवृत्ति नियन्त्रण गर्न पनि सम्बन्धित निकाय र पदाधिकारीलाई आग्रह गरेको छ ।

न्यायपालिकाको अहिलेको अवस्थाका लागि राजनीतिक दल र सम्बद्ध सरोकारवालासमेत जिम्मेवार रहेको फोरमको टिप्पणी छ । संविधानको मर्म र भावनाविपरीत आफूअनुकूलका व्यक्तिलाई प्रधानन्यायाधीश वा न्यायाधीश बनाउने र आफूअनुकूल फैसला गराउने प्रतिस्पर्धाले न्यायपालिकालाई अहिलेको अवस्थामा पु¥याएको उसको भनाइ छ ।

मनासिव कारण र आधार नखुलाई अपारदर्शी तथा मनोगत ढंगले वरिष्ठताको न्यायिक परम्परा तोडेर नियुक्ति गर्ने, बहालवाला न्यायाधीशमा न्यायिक सक्षमताप्रतिको विश्वास कमजोर बनाउँदै राजनीतिक संरक्षण खोज्न बाध्य पार्ने र न्यायिक नेतृत्वमा नियन्त्रण तथा व्यवस्थापन क्षमता नदेखिनेजस्ता कारणले न्यायपालिकाको अवस्था कमजोर हुँदै गएको फोरमले जनाएको छ । न्यायालयका आदेश तथा फैसलालाई विधिशास्त्रीय विवेचना र टिप्पणीका आधारमा भन्दा राजनीतिक दृष्टिकोणबाट हेर्ने प्रवृत्ति पनि समस्याका रूपमा औँल्याइएको छ ।

कुनै कसुरको अनुसन्धानका क्रममा संकलित सबुद प्रमाण कानुनी प्रक्रियाविपरीत सार्वजनिक हुँदा अनुसन्धान र सुनुवाइ प्रक्रिया प्रभावित हुन सक्ने भन्दै फोरमले जिम्मेवार निकायलाई सचेत रहन आग्रह गरेको छ ।

विवादमा परेका न्यायाधीशमाथिका आरोपको छानबिन गर्दा न्यायिक स्वतन्त्रताका स्थापित मूल्य र मान्यतालाई ध्यान दिनुपर्ने तथा आवश्यक परे विज्ञहरूसँग परामर्श लिनुपर्ने फोरमको सुझाव छ । तथ्यगत प्रमाणका आधारमा न्यायाधीशमाथि लागेका आरोपको निरूपण गर्दै न्यायपालिकाको पुनःसंरचना र न्यायाधीशहरूको पुनर्नियुक्तिमार्फत सुधार प्रक्रिया अघि बढाउनुपर्ने उसको निष्कर्ष छ ।

इजलास छाडे विवादित प्रधानन्यायाधीश र न्यायाधीशले
बिचौलिया इनम सापकोटासँगको सम्पर्क र संवादको विषय सार्वजनिक भएपछि विवादमा तानिएका प्रधानन्यायाधीश मनोजकुमार शर्मा र केही न्यायाधीश इजलासबाट अलग भएका छन् ।

सापकोटासँगको संवाद सार्वजनिक भएपछि न्यायाधीश शारंगा सुवेदीले सोमबार पेसी तोक्ने गोलाप्रथामा सहभागी नभई सुनुवाइबाट अलग हुने निर्णय गरेकी थिइन् । न्यायाधीश हरिप्रसाद फुयालले यसअघि संवैधानिक इजलास गठनको प्रक्रियामा प्रश्न उठाउँदै आफू इजलासमा नबस्ने बताएका थिए । प्रधानन्यायाधीश शर्मा पनि आफ्नो नाम जोडिएपछि अन्य इजलासमा बसेका छैनन् ।

सापकोटासँग प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयालको संवाद भएको समाचार सार्वजनिक भएपछि अदालतभित्र तरंग छ । फुयालले सापकोटासँग भेटेको स्वीकार गरे पनि मुद्दामा लेनदेन गरेर आदेश दिएको आरोप अस्वीकार गरेका छन् ।

प्रधानन्यायाधीश र अन्य सम्बन्धित न्यायाधीशले पनि सापकोटासँगको सम्बन्ध तथा आरोप अस्वीकार गर्दै आएका छन् । सापकोटा प्रहरी हिरासतमा छन् र उनीमाथि अनुसन्धान भइरहेको छ ।

संवैधानिक इजलास प्रधानन्यायाधीशको नेतृत्वमा गठन हुने व्यवस्था छ । तर, इजलास गठनको प्रक्रियामा विवाद र न्यायाधीशहरूको अनुपस्थितिका कारण दुई सातादेखि संवैधानिक इजलास बस्न सकेको छैन । यसअघि हरेक बुधबार इजलास बस्दै आएको थियो ।

यसै विषयमा छलफल गर्न सर्वोच्च अदालतको पूर्ण बैठकले १६ कात्तिकमा पाँचबुँदे निर्णय गरेको थियो । बैठकले सार्वजनिक भएका विषयमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न, अनुसन्धानमा सहयोग गर्न तथा प्रमाणित निष्कर्ष छिटो सार्वजनिक गर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

न्यायाधीश पुनर्नियुक्ति गर्न पूर्वन्यायाधीशहरूको माग