धनगढी । भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लाको वनगाउँ बजारमा लागेको भीषण आगलागी धनगढी उपमहानगरपालिकाको दमकल र नगर प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ।
सीमापारि भएको विपत्तिमा तत्काल उद्धार टोली परिचालन गरी आगो नियन्त्रणमा सहयोग पुर्याएको भन्दै भारतीय स्थानीय बासिन्दा तथा व्यापारीहरूले धनगढी उपमहानगरपालिकाको सक्रियताको प्रशंसा गरेका छन् ।
आइतबार साँझ करिब ६:३० बजे वनगाउँ बजारमा आगलागी भएको खबर प्राप्त हुनासाथ उपमहानगरपालिकाले तीनवटा दमकल, एउटा ब्याकु लोडर र नगर प्रहरीको टोली घटनास्थलमा पठाएको थियो ।
घटनास्थल पुगेको टोलीले दमकलबाट निरन्तर पानी प्रयोग गर्नुका साथै ब्याकु लोडरको सहायताले आगलागी फैलिन सक्ने क्षेत्रमा फायर लाइन निर्माण गरेको थियो । टोलीको ६ घण्टाभन्दा लामो निरन्तर प्रयासपछि राति १२:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आएपछि उद्धार टोली र दमकल सुरक्षित रूपमा धनगढी फर्किएका छन् ।
भारतको पलियाका स्थानीय पत्रकार शिशिर शुक्लाका अनुसार लक्ष्मीपूजाका लागि बालिएका झिलिमिली बत्तीबाट विद्युत् सर्ट भई आगलागी भएको हो । आगलागीबाट वनगाउँ बजारका करिब ६० वटा पसल जलेर नष्ट भएका छन् ।
नेपाली उपभोक्तालाई लक्षित गरी सञ्चालन हुँदै आएको वनगाउँ बजार धनगढीबाट नजिकैको सीमावर्ती भारतीय बजार हो। उक्त बजारबाट भारतको पलिया करिब ४० किलोमिटर टाढा पर्छ । भारतीय दमकल टोली घटनास्थल पुग्न समय लाग्ने भएपछि स्थानीयले धनगढी उपमहानगरपालिकासँग सहयोग मागेका थिए ।
सीमापारि भएको विपत्तिमा धनगढी उपमहानगरपालिकाले देखाएको तत्परता र मानवीय सहयोगले नेपाल–भारत सीमावर्ती क्षेत्रबीचको आपसी सम्बन्ध, भाइचारा र सहकार्यलाई थप प्रगाढ बनाउने उदाहरण प्रस्तुत गरेको छ ।
सम्बन्धित समाचार
रंगीचंगी फूलले फेरिँदै धनगढीको मुहार, सडक र चोकमा बगैँचाको झल्को
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी
नाम्पा हिमाल बेस क्याम्प पदमार्गको पुनः अध्ययन
हिमशिखर सहकारीको १८औँ साधारणसभा सम्पन्न, सम्पत्ति एक अर्बभन्दा बढी पुग्ने अनुमान
धनगढीमा सफल मार्टको नयाँ शाखा उद्घाटन, घरायसी र व्यावसायिक सामग्री एकै ठाउँ पाइने
धनगढीको फूलबारीमा १५ शय्याको अस्पताल सञ्चालनमा
बझाङको केदारस्युँमा जिप दुर्घटना, २ जनाको मृत्यु
निर्णयका चाङैचाङ, विकास शून्य






