धनगढी । सुदूरपश्चिमको मौलिक खानपान र परम्परागत परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीमा तीनदिने ‘धनगढी खाना महोत्सव’ आयोजना हुने भएको छ । महोत्सव आगामी पुस १०, ११ र १२ गते धनगढीको जेन्जी मार्गमा सञ्चालन हुनेछ ।
धनगढी उपमहानगरपालिका र होटल व्यवसायी संघ कैलालीको सहकार्यमा आयोजना हुन लागेको महोत्सवका लागि दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौताअनुसार उपमहानगरपालिकाले महोत्सव आयोजनाका लागि संघलाई १० लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।
आयोजकका अनुसार महोत्सवमा प्रवेश निःशुल्क हुनेछ । महोत्सवमा स्थानीय तथा मौलिक खानाका परिकार सर्वसुलभ मूल्यमा उपलब्ध गराइनुका साथै हरेक दिन विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछन् ।
धनगढीका नगरप्रमुख गोपाल हमालले सुदूरपश्चिमका मौलिक तथा परम्परागत खानाका परिकारदेखि सामान्य रेस्टुरेन्ट र पाँचतारे होटलसम्मका विविध स्वाद र शैलीका परिकार एउटै स्थानमा उपलब्ध गराउने योजना रहेको बताए ।
उनले खाना महोत्सवलाई हरेक वर्ष आयोजना गर्ने योजना रहेको उल्लेख गर्दै उपभोक्ताले एउटै स्थानमा विभिन्न परिकार सहुलियत मूल्यमा स्वाद लिन पाउने बताए ।
महोत्सवका संयोजक केशव न्यौपानेले सुदूरपश्चिमको मौलिक खानपानको संरक्षण तथा प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र संस्कृति तथा पर्यटन विकासमार्फत आर्थिक समृद्धिमा योगदान पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए ।
होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवराज पाण्डेले उपमहानगरपालिकासँगको सहकार्यमा पहिलोपटक तीनदिने खाना महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । उनले आगामी दिनमा वार्षिक क्यालेन्डर बनाएर महोत्सवलाई निरन्तरता दिने योजना रहेको बताए ।
महोत्सवमार्फत स्थानीय खानपानको संरक्षण र प्रचारप्रसारसँगै यस क्षेत्रका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय सम्भावनालाई खानासँग जोडेर आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । साथै, स्थानीय कृषक तथा उत्पादकका कृषि उपज र खाद्य सामग्रीलाई बजारसँग जोड्ने उद्देश्यसमेत आयोजकको छ ।
महोत्सवबाट धनगढी तथा सुदूरपश्चिमका मौलिक खानाका परिकारको पहिचान स्थापित हुनुका साथै होटल तथा पर्यटन व्यवसायलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ । धनगढीका पर्यटकीय स्तरका होटलहरूको मेनुमा समेत सुदूरपश्चिमका मौलिक परिकार समावेश गर्ने वातावरण निर्माण गर्ने आयोजकको योजना छ ।
सम्बन्धित समाचार
धनगढीको दमकलले भारतको वनगाउँ बजारको आगो निभायो, स्थानीयद्वारा प्रशंसा
धनगढीमा चितुवाको छालासहित दुई जना पक्राउ
जाँतको रौनक: शैलेश्वरदेखि कैलपालसम्म विशेष पूजाआजा
बझाङ दुर्घटना अपडेट: एउटै परिवारका चार सदस्यको भीरमा अस्तायो जीवन
सुदूरपश्चिममा बजेट विवाद कायमै
सुदूरपश्चिममा एक महिनामै २९८ सवारी दुर्घटना, १३ जनाको मृत्यु
धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुने, उपमहानगरले १० लाख अनुदान दिने
नखाई नलाई जम्मा गरेको बचत डुब्यो, प्रहरी कार्यालय धाउँदै पीडित






