धनगढी । ग्रामीण क्षेत्रको सार्वजनिक यातायात सेवा विस्तार गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाले थप दुई वटा विद्युतीय (ईभी) मिनी बस खरिद गरेको छ । बोलपत्र प्रक्रियामार्फत खरिद गरिएका बस आइतबार उपमहानगरपालिकाको कार्यालयमा आइपुगेका हुन् ।
उपमहानगरपालिकाको नीति तथा कार्यक्रमअनुसार ग्रामीण क्षेत्रका वडालाई सहरी क्षेत्रसँग जोड्ने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने, विद्यार्थीको आवतजावत सहज बनाउने तथा रोजगारीका लागि दैनिक ओहोरदोहोर गर्ने नागरिकलाई यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले बस खरिद गरिएको हो ।
नयाँ बसमार्फत स्याउले–घुर्सुवा हुँदै हसनपुर भएर धनगढी बजारसम्म यातायात सेवा सञ्चालन गरिने उपमहानगरपालिकाले जनाएको छ ।
नगर प्रमुख गोपाल हमालका अनुसार बस सञ्चालनमा आएपछि उक्त क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुनेछ । साथै स्थानीय उत्पादनको बजारीकरण, विद्यार्थीको शैक्षिक पहुँच र रोजगारीका अवसरसँग ग्रामीण क्षेत्रको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
धनगढी उपमहानगरपालिकाले केही दिनअघि मात्रै ग्रामीण क्षेत्रका वडा नम्बर १२, १५, १६ र १७ का नागरिकलाई लक्षित गरी ६ वटा विद्युतीय मिनी बस ल्याएको थियो ।
त्यसैगरी फूलबारीदेखि अत्तरियासम्म ६ वटा नगर बस सञ्चालनमा छन् । थप दुई मिनी बससमेत सञ्चालनमा आएपछि उपमहानगरपालिकाको सार्वजनिक यातायात सेवा विस्तार हुनेछ । यसले ग्रामीण क्षेत्रका नागरिकलाई सहरी क्षेत्रसँग जोड्न थप सहजता पुग्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
आगलागी नियन्त्रणमा धनगढीको सक्रियता : साढे तीन वर्षमा ५३३ ठाउँमा आगलागी नियन्त्रण
बनगवाँ आगलागीमा सहयोग गरेको भन्दै मेयर हमाललाई भारतीय व्यापारीको धन्यवाद
बडिकेदार मेलाका लागि धनगढीबाट पाँचवटा निःशुल्क बस, मंसिर ४ सम्म नाम दर्ता गर्न सकिने
नखाई नलाई जम्मा गरेको बचत डुब्यो, प्रहरी कार्यालय धाउँदै पीडित
पुस १० देखि धनगढीमा तीनदिने खाना महोत्सव, स्थानीय परिकार प्रवर्द्धनमा जोड
धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल कार्यक्रम सुरु
कार्य सम्पादन मूल्यांकनमा स्वास्थ्य कार्यालय कैलाली सुदूरपश्चिममै पहिलो, बझाङ दोस्रो
चैतन्यले ७ सय बाढी प्रभावित युवालाई निःशुल्क लोकसेवा पढाउने






