पितृ, सोह्र श्राद्ध र नेपाली संस्कृति

हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म सोह्र दिनको तिथिमा गरिने श्राद्धलाई नै सोह्र श्राद्ध भनिने हो । यो सोह्र दिनको पक्षलाई शास्त्रले पितृपक्षका रूपमा लिएको छ । हरेक वर्ष आफ्ना आमा बाबु दिवंगत भएको तिथिमा गरिने वार्षिक श्राद्धलाई वर्षको एकपटक तिथिअनुसार गरिने श्राद्धलाई एकोदृष्टि श्राद्ध भनिन्छ भने पितृपक्षमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिन्छ ।

कल्याण स्मृतिमा ‘श्राद्ध वा पितृ यज्ञः स्यात्’ भनेर श्राद्धलाई पितृयज्ञ नेको छ । त्यस्तै, भविष्य पुराणमा देश, काल, पात्रमा श्राद्धले विधिपूर्वक पितृले पाओस् भनी पुरेत वा ब्राह्मणलाई दान दिनु नै श्राद्ध भनिएको छ । आफ्ना आमाबाबुले जन्म दिई लालनपालन गरी हुर्काइबढाई सक्षम बनाएर राम्रो संस्कार दिने हुनाले नै छोराहरू आमाबाबुको ऋणी हुने हो । छोराहरूले यो ऋण तिर्नुपर्छ भनी शास्त्रमा पनि भनिएको छ । त्यसैले आफू सक्षम भएपछि छोराहरूले आफ्ना आमाबाबुलाई सेवा गर्नुपर्छ । अन्तिम अवस्थासम्म उनीहरूको लालनपालन सेवा सुरक्षा गरिरहनुपर्छ । अनि मृत्युपश्चात् उनीहरूको काजक्रिया कर्मकाण्ड सकिएपछि हरेक वर्षमा दिवंगत भएको तिथिमा श्राद्ध गरेर पितृ ऋण तिर्नुपर्छ ।

छोराहरूले आफ्ना आमाबाबुको सम्झनामा हरेक वर्ष श्राद्ध गर्दा श्रद्धापूर्वक गर्नुपर्छ भनी शास्त्रमा भनेको छ । यदि त्यहाँ श्रद्धा नभई नाम मात्रको कामकाज अर्थात् झारा टराई मात्र भयो भने त्यस्तो श्राद्धको कुनै अर्थ रहँदैन । श्रद्धापूर्वक गरिएको श्राद्धमा पितृहरू आएर अर्पण गरेका खानेकुरा र पिण्डग्रहण गरी आफ्ना सन्ततिलाई आशीर्वाद दिन्छन् । यदि विश्वासै नगरी अर्थात् गइसकेका पनि आउँछन र भनी श्राद्ध गरेन भने त्यस्ताका घरमा तिथिका दिन पितृहरू आउँदा श्राद्ध गर्न लागेको नदेखि निराश भई लामो सुस्केरा हाली पितृ फर्कियो भने पितृले हालेको सुस्केराले उसका छोराछोरी सन्ततिको पनि शोषण हुन्छ रे अर्थात् उनीहरू निर्धन भएर जान्छन् अनि छोराछोरीहरू पनि सुकेर जान्छन् भनी शास्त्रमा उल्लेख गरेको छ ।

नेवारहरूमा श्राद्ध गर्दा छिमेकी, चिनेका जति सबैलाई र नचिनेका सकल मानिसहरूको पनि उद्धार होस् भनी पिण्ड अर्पण गर्ने चलन छ

यसै सन्दर्भमा एउटा कथा यहाँ उल्लेख गर्न चाहन्छु । एकपटक एक जना ब्राह्मणले आफ्नो पिताको श्राद्ध गर्न केही नभई दुःख मानिरह्यो । आफ्नो पिताको श्राद्ध गर्ने तिथि आइपुग्यो । तर, उसको घरमा केही थिएन । न पैसा न कुनै सामग्री, अब के गर्ने ? काम पनि गर्न नपाइरहेको समय, आफैंलाई खान पनि केही नभएको अवस्था । एक किसिमले त्यो ब्राह्मण भोकै बस्नुपर्ने अवस्था भइसकेको थियो । यस्तो अवस्थामा उसले कसरी आफ्ना पिताको श्राद्ध गर्ने ? केही सीप नलागी त्यस ब्राह्मणले घरमा बाँकी अलिकति खुर्सानी मात्र दिएर श्राद्ध गर्छ । उसले यसरी दान दिएको खुर्सानी पितृलोकमा पुग्छ । त्यहाँ भएका पितृहरू जिल्ल पर्छन्, यो के दान दिएर पठाएको भनी । कसैले पनि यसरी खुर्सानी मात्र दान दिएर नपठाउने भएकाले पितृहरूमा के गरौं के गरौं भएछ । यही खुर्सानी भए पनि खानुपर्ला भनी पितृहरूले एक÷एक टुक्रा बाँडेर खान्छन् । अनि ती पितृहरूले विचार गर्छन् कि पक्कै पनि यो दान दिने छोरालाई धेरै दुःख भइरहेको होला, त्यसैले यस्तो खुर्सानी मात्र भए पनि दान दिइपठाएको हो भन्ने ठानेर पितृहरू सबैले मिलेर उसलाई आशीर्वाद दिन्छन् । पितृहरूको आशीर्वादको फलस्वरूप त्यो ब्राह्मण दिन परदिन धनी हुन थाल्यो । जे काम गरे पनि सफलता मिल्दै गयो ।

अर्को वर्ष फेरि बाबुको श्राद्ध गर्ने तिथि आइपुग्यो । तर, त्यो ब्राह्मणले विधिपूर्वक श्राद्ध नगरी पोहोर पनि खुर्सानी मात्र दान गरेको त हो नि भन्दै यस वर्ष पनि खुर्सानी मात्र दान दिन्छ । जसले गर्दा त्यो ब्राह्मण जसरी धनी भएको थियो त्यसरी नै दिन परदिन दरिद्र हुँदै जान्छ । पितृको आशीर्वादबाट धनी भएका त्यो ब्राह्मण फेरि पितृकै श्रापले गरिब भयो । त्यसैले पितृको कार्यमा जथाभावी गर्नुहुँदैन ।

एकथरी मानिसहरू पनि छन् तर्क गर्नेहरू । श्राद्धमा दान गरेको पिण्ड पितृहरूले कसरी प्राप्त गरेर खान्छन् ? त्यो त यहीँ रहिरहेको हुन्छ भनी प्रश्न गर्नेहरू पनि छन् । पिण्ड त्यत्तिकै रहिरहने भएकाले पितृले खाँदैन भनी धेरैलाई पर्न सक्छ । यो कुरा नबुझेकाले पनि हुन सक्छ ।

‘निर्णय सिन्धु’मा माद्री बृहद् धर्मशास्त्रमा यस्तो उल्लेख गरिएको छ । नाम, गोत्र, मन्त्र आदि सहयोगमा परलोकमा छोराहरूले श्रद्धा भक्तिले विश्वासपूर्वक अर्पण गरेको पिण्ड सबै पितृ देवताले व्यवस्था गरेर जुन योनी प्राप्त भइरहेको छ, त्यही योनीले खान हुने वस्तुमा परिणत गरेर पितृहरूले पाई पितृहरूलाई तृप्त गरिदिन्छ । जस्तै, आफूले गरेको शुभकर्मको पुण्यले बाबु देव योनीमा पुगेको भए दान दिएको चिज खाने कुरा अमृतका रूपमा परिणत भएर पाउँछ । गन्धर्व योनीमा गएको भए उसले भोग गर्न चाहेको चिजमा परिणत हुन्छ । पशु योनीमा गएको भए घाँसका रूपमा परिणत हुन्छ । त्यस्तै, नाग योनीमा गएको भए हावाका रूपमा पुग्छ रे । यक्ष योनीमा जन्म भएको हो भने उसैलाई मनपर्ने पिउन हुने खानाका रूपमा पुग्छ । त्यसरी नै दानव योनीमा जन्म भएको छ भने रक्सीको रूपमा र प्रेम योनीमा भए रगत र पानी भएर पुग्छ रे । मानिसकै योनी प्राप्त भएको हो भने उसलाई विभिन्न किसिमका खाने कुराका रूपमा पाउँछन रे । यो कुरा धर्मसिन्धु ग्रन्थमा पनि उल्लेख गरिएको छ । धर्मशास्त्रलाई नै मानिसहरूले विश्वास गरेर प्रमाण मान्दै आइरहेका छन् । त्यसैअनुरूप सबैले आफ्नो कर्तव्य पनि पूरा गर्नुपर्छ ।

आमाबाबुले जन्म दिई लालनपालन गरी हुर्काइबढाई सक्षम बनाएर राम्रो संस्कार दिने हुनाले नै छोराछोरी आमाबाबुको ऋणी हुने हो

यसरी धर्मशास्त्रमा पनि परिभाषा गरिराखेकाले श्राद्ध गर्दा, अत्यन्तै श्रद्धापूर्वक गर्नुपर्छ । श्रद्धापूर्वक गरेको श्राद्धले मात्र पितृ र श्राद्ध गर्ने दुवैको कल्याण हुन्छ । देवताहरूलाई भाव भए पुग्छ, पितृहरूलाई शुद्ध मन्त्र र शुद्ध भाव भए पुग्छ, भनिन्छ । त्यसैले शुद्ध मन्त्र पढेर श्राद्ध गर्नुपर्छ भनिने हो । धर्मशास्त्रमा सूर्यस्वरूप प्रकाश भएका पितृका आकृति सम्झ र ध्यान गर भनिएको छ । यसरी ध्यान गर्दा पितृ त्यही रूपमा जान्छन् भनी राखेको छ । त्यसैले ‘मातृ देवो भवः पितृ देवो भवः’ भनी धर्मशास्त्रमा उल्लेख गरिराखेको हो । श्राद्ध गर्दा ‘हे † देवस्वरूप पितृ, मैले यो अमृत समानको पिण्ड अर्पण गरेको छु अक्ष्य तृप्ति होस्’ भनी अर्पण गर्नुपर्छ ।

हरेक वर्ष आश्विन कृष्ण प्रतिपदाका दिनदेखि आश्विन शुक्ल प्रतिपदाका दिनसम्म सोह्र दिनभित्र गरिने श्राद्धलाई नै सोह्र श्राद्ध भनिने यो सोह्र दिनभित्र तिथिअनुसार दिवंगत आफ्ना आमा बाबुको श्राद्ध गरिने हो । हुन त हरेक वर्ष आफ्ना आमाबाबुका दिवंगत भएको तिथिमा श्राद्ध गरिन्छ । तर, यो सोह्र श्राद्धको समय पितृपक्ष भएकाले यो समयमा पनि श्राद्ध गरिँदै आएको छ ।

दसैंअघि पर्ने यो सोह्र श्राद्धमा पितृहरूलाई पनि चाडअघि नै बोलाएर खुवाउनुपर्छ भन्ने भावले श्राद्ध गरिने हो भनिन्छ । त्यस्तै, कुनै पनि शुभकर्म, विवाह, व्रतबन्ध, न्वारन, पास्नी, पुराण सप्ताह आदि गर्न पनि पितृलाई सम्मानपूर्वक श्राद्ध गरिन्छ । यस्तो श्राद्धलाई वृद्धि श्राद्ध भनिन्छ । सन्ततिहरूले शुभकर्म गर्दा आफ्ना पितृलाई पनि सम्मानपूर्वक बोलाएर खुवाउनुपर्छ । पितृले पनि आफ्ना सन्ततिबाट आस गरेका हुन्छन् भन्ने मान्यता रही आएको छ ।

पितृ भनेको मानिसहरूको मात्र होइन देवता, दैत्य, गन्धर्व, राक्षस, नाग, किन्नरमा पनि हुन्छ । त्यसै भएर श्राद्ध गर्ने परम्परा विभिन्न जाति, वर्ग, धर्म, संस्कृति र परम्पराअनुसार गरिने हो । क्षत्री बाहुनले आफ्नै विधिअनुसार गर्छन् भने नेवारहरूले पनि आफ्नै विधिअनुसार श्राद्ध गर्छन् ।

नेवारहरूले श्राद्ध गर्दा छिमेकी, चिनेका जति सबैलाई र नचिनेका सकल मानिसको पनि उद्धार होस् भनी पिण्ड अर्पण गर्ने चलन छ । सबैको कल्याण होस्, सबैको शुभमंगल होस् । सम्पूर्ण जगत्कै शुभ होस्, मोक्ष प्राप्त होस् भन्ने धर्म चेतना भएको नेवारी संस्कृति र संस्कार हो, श्राद्ध ।

तपाइको प्रतिक्रिया
(Visited 693 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जनताको दिमाग कब्जा !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुलीमा कांग्रेस र माओवादीको मात्र गठबन्धन हुने