तामझामसहित मनोनयन

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि देशैभर तामझामसहित दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।

स्थानीय तहको निर्वाचनका लागि सत्तारूढ दल आबद्ध सत्ता गठबन्धनका उम्मेदवार तथा नेकपा एमालेका उम्मेदवार र अन्य दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले आइतबार र सोमबार दुई दिन गरी तामझाम र समर्थकसहित आआफ्ना मतदाता नामावलीमा नाम रहेका स्थानीय तहमा उम्मेदवारी दिएका हुन् ।

स्थानीय तहको निर्वाचनमार्फत देशभर ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा नेतृत्व चयन हुँदै छन् ।

सो निर्वाचनमार्फत १५ सय ६ जना प्रमुख तथा उपप्रमुख, ६ हजार ७ सय ४३ वडामा वडा अध्यक्ष र ती वडाका २६ हजार ९ सय ७२ सदस्यसमेत सोही मितिमा चयन हुँदै छन् । यी सबै गरी स्थानीय तहमा मात्रै ३५ हजार २ सय २१ जनप्रतिनिधि चयन हुनेछन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले बाजागाजा र ठूलो समर्थकको भिडसहित सोमबार दिउँसो राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

यसैगरी, नेकपा एमालेका तर्फबाट काठमाडौंको मेयरका उम्मेदवार केशव स्थापितले समेत नेता कार्यकर्ता तथा शुभेच्छुकलाई साथमा लिएर मेयर पदमा उम्मेदवारी दिए भने अन्य दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारको मनोनयन दर्ता गरे ।

यसैगरी, ललितपुर महानगरको मेयर पदमा चिरिबाबु महर्जनलेसमेत नेताकार्यकर्ता र समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिए ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिन भन्दै आइतबार र सोमबार १० देखि ५ बजेसम्मको समय निर्धारण गरेको थियो ।

स्थानीय तहका निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता सहभागी हुने निर्वाचन आयोगले जनाएको छ । जसअनुसार ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता मतदानमा सहभागी हुनेछन् ।

आयोगले सार्वजनिक गरेको नामावलीअनुसार सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् । मोरङपछि झापामा ६ लाख ४६ हजार २ सय ३४ जना तथा काठमाडौंमा ६ लाख ३७ हजार ७ सय ७५ जना मतदाता कायम छन् ।

यस्तै, सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता छन् । त्यसपछि मुस्ताङमा १० हजार ४ सय ८५ जना तथा डोल्पामा २२ हजार ४ सय ४० जना कायम भएको आयोगले भनेको छ ।

स्थानीय तहतर्फ भने सबैभन्दा बढी मतदाता काठमाडौं महानगरपालिकामा छन् । काठमाडौं महानगरमा ३ लाख २ सय ४२ मतदाता रहेको आयोगले भनेको छ ।

यस्तै, काठमाडौंपछि स्थानीय तहतर्फ दोस्रो धेरै मतदाता पोखरा महानगरपालिकामा छन् । पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता कायम भएका हुन् । यसैगरी, तेस्रोमा भरतपुरमा १ लाख ८५ हजार ७ सय ५२ जना मतदाता छन् ।

आयोगका अनुसार मनाङको नार्पा भूमि गाउँपालिकामा सबैभन्दा कम ४ सय ४८ जना मात्र मतदाता छन् । मनाङकै चामे गाउँपालिकामा ७ सय ११ र डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा ९ सय ६७ मतदाता रहेको आयोगले भनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 377 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा १३ जनाको उम्मेदवारी रद्द