नेपाली मौलिकता र पश्चिमा संस्कृतिको दासत्व

विश्वका मानव जातिका कला, संस्कृति, वेशभूषा, भाषाभाषी, धर्म संस्कृति, परम्परामध्य नेपालीको छुट्टै पहिचान छ । यही नै नेपालीको मौलिकता हो । मौलिकताको विषयमा योगी नरहरिनाथले एकपटक कविता लेखेका थिए ‘हाम्रो मौलिकता कतातिर गयो मूलस्थली हो कता । भाषा भूषण भेषसंस्कृति कला आदर्श शैली कता । हो वास्तवमा यही कविताजस्तै हाम्रो धर्म कला संस्कृति मौलिकता आज कताकता हरायजस्तो हुँदै छ । हामीले मौलिकताको अर्थ खोज्दा नेपाली शव्दकोषनुसार पहिलो मूल वा जडसित सम्बन्धित मूलभूत र दोस्रो मुख्य प्रधान तेस्रोे कसैको आधार नलिएको नवीन वा श्रृजनात्मक । यसअनुसार मौलिकताको मापन दुई कुराबाट गर्नुपर्छ ।

पहिलो मूलसँग सम्बन्धित हो कि होइन ? दोस्रो त्यसमा नवीनता छ कि छैन ? आफूले लियको विचार संस्कृति परम्परालाई जसले मौलिकताको दाबी लिन्छ, त्यसले त्यो विचार संस्कृति परम्पराको आधारका रूपमा हाम्रा वेद पूराण त्रिपिटक मुन्धुमका कुनै श्लोकलाई उद्धृत गर्छ कि युरोपमा यस्तो भनिएको थियो । अमेरिकामा यस्तो गरिएको थियो भन्छ । अनि साथै क्रृषि आचार्य तीर्थकर वुद्ध मुहिगुम आङसिमाङ का मार्गनिर्देशनलाई सगौरव आधार मान्छ कि फरक सभ्यता संस्कृति र चिन्तन पद्धतिका मानिसका भनाइका पछि लाग्छन् ? यसको आधारमा नेपालको मौलिक हो होइन भनेर निक्र्याेल गर्न सकिन्छ ।

आजभोलि हामीले दुर्भाग्यसाथ भन्नुपर्छ कि हामी हाम्रो धर्म, कला संस्कृति परम्परा मौलिकता त्याग्दै पश्चिमा संस्कृतिको दास बन्दै गइरहेका छौं । नेपाल बहुभाषिक बहुसांस्कृतिक भएको मुलुक हो । तर, ती बहुभाषिक बहुर्सास्कृत चाडपर्व परम्परालाई आआफ्नो समुदायले बिर्संदै जान थालेका छन् । दसैंमा बजाइने मालश्री धुन, तिहारमा खेलिने देउसी भैलो र त्यससँगै नाचिने नाच, गाइने ठाडा भाकाहरू पनि फेरिदै जान थालेका छन् । नेपाली जन्मोत्सव मनाउँदा दियो जगाएर दियोको र अष्टचिरञ्जीवीको पूजा गरिने चलन थियो । तर, आज बत्ती निभाउने गरिएको पाइन्छ ।

हिजो हाम्रा पुर्खाहरू गायत्री मन्त्रसहित नियमित रूपमा ध्यान, जप, पूजा आजा गर्ने र यसबाट मन वचन र ध्यानमा सन्तुलन राख्ने अनि धोती फेरेर खाना खाने, खानाका परिकारमा दाल, भात, आँटा, मकै, रोटी, चना चिउरा, लिटो, फलफूल आदि तयार पारिन्थ्यो, खाइन्थ्यो र स्कुलमा पनि नानीलाई यस्तै परिकार पठाउने गर्दै आएका थियौं । तर, अहिले मःमः, छोइला, कचिला, रोस्ट, तास, चाउमिन, थुक्पा, पिजा आदिले प्रश्रय पाएको पाइन्छ । जुम्ला हुम्ला मनाङ मुस्ताङमा अग्र्यानिक स्याउ, सिमी, ओखर फलाउन छाडेर चीनको स्याउ भारतको स्वयाबिन किनेर खान पल्केका छौं । नेपाली अग्र्यानिक भीरमौरीको मह खान छाडी विदेशी जाम किनेर दैनिकी चलाएका छौं ।

हामी हाम्रो धर्म, कला, संस्कृति, परम्परा तथा मौलिकता त्याग्दै पश्चिमा संस्कृतिको दास बन्दै गइरहेका छौं

नेपाली भेडाका ऊन फालेर चीनको जुटको गलैंचा, स्विटर किन्ने गरेका छौं । दूध, दही, मही छाडेर बियर पिउने घरबारी, खेत बेचेर खाडी जाने र गाउँमा बूढाबुढी बाबाआमालाई छाडी सहरमा श्रीमती लगेर राख्न पाउँदा गर्व गर्ने गर्छौं । यसरी अहिले युवा पुस्ताले यो गतिविधि गर्दा तल्लो पुस्ता बच्चा नानीले सोही संस्कृति, रीतिरिवाज, परम्परा सिक्ने र त्यसै गर्दै जाने गरेमा हाम्रो समाज भविष्यमा कस्तो होला ? सोचनीय छ ।

यस्तो मौलिकता शव्दमा पनि हराउँदै जान थालेको पाइन्छ । जसमा आगन्तुक शव्दहरूको नेपाली स्वरूपको प्रयोग भएको पाइँदैन । जस्तैः फोटोकपि (छाँया कपि) मोबाइल (भनसुनयन्त्र) कम्प्युटर (सुसांख्य) आदि छन् । यसैगरी, नेपाली शव्दमा रूपान्तरण नभएका शव्दहरूको टेलिभिजन, रेडियो, लाइट, लाइटर, पाइन्ट, सर्ट, स्कर्ट (नेपाली शव्दमा कमिज मिडी भन्न छाडियो) स्विटर, कोट, पेनड्राइभ, फेसबुक, मेसेन्जर, टुइटर, ब्लुटुथ, आदिजस्ता शव्दको नेपालीकरण हुन नसक्दा नेपाली भाषासमेत लोप हुने खतरा बढेको देखिन्छ ।

यो विषय हेर्दा, भन्दा र सुन्दा सामान्य लागे पनि यसले हाम्रा परम्परा संस्कृति र मौलिकताको भाषामा ठूलो प्रश्न खडा गरेको छ भन्ने लाग्छ । हाम्रा मौलिकपनको रूपमा रहेका जन्मेदेखि मृत्युसम्मका १६ संस्कारहरूका पूर्वीय दर्शन र चिन्तन हराउँदै जान थालेको छ । खानपान, रहनसहन, रीतिरिवाज, बोलचाल, चाडपर्वको मेलापातको काम आदिमा आफ्नो मौलिकपन गुम्दै जानु राष्ट्र र समाजका लागि गम्भीर चिन्ताको विषय हो । ‘वसुदैव कुटुम्बकम्’मा आधारित पूर्वीय दर्शन र चिन्तनलाई व्यापाररूपी विश्वव्यापीकरणको कालो बादलले ढाक्दै लगेको छ । फलको आशा नराखी निःस्वार्थ सेवा भावले गरिँदै आएको कर्म या सहयोगलाई लेनदेनको विषय बनाइएको छ । नेपाली समाजभित्र पुुस्तौंदेखि रहिआएको सामाजिक सद्भावरूपी पुँजी (अमूल्य सम्पत्ति ) सबै हराउँदै गएको छ ।

तर, हाम्रो पूर्वीय दर्शन र चिन्तन कति महत्वपूर्ण छ भन्ने कुरा हामीले नबुझे पनि विदेशी विद्धान्का भनाइबाटै चाहिँ थाहा पाउन सक्छांै । जस्तैः वैज्ञानिक अल्वर्ट आइन्सटाइनले पूर्वीय सभ्यताले गणित र ज्योतिष सिकाएकाले पूर्वीय सभ्यताप्रति चिर ऋणी छौं भनेका थिए । यसो भन्नुले पूर्वीय सभ्यताबाट पश्चिमाहरूले सिकेका भन्ने प्रस्टै छ । त्यसैगरी, जर्मनीका कवि विलहेल्म मोनस्लेगलले विज्ञानको खोजीको बिन्दु वा प्रस्थानबिन्दु पूर्वीय दर्शन हो भन्नुभएको थियो । यस भनाइले पनि पूर्वीय दर्शनको महत्व पश्चिमा संस्कृृतिभन्दा कति बढी रहेछ भन्ने स्वतः सिद्ध हुन्छ । तर, हामी आफ्नो संस्कृतिको गहनतालाई नबुझेर हेला गरी विदेशी संस्कृतिको दास बन्नेतिर लागिरहेका छौं, यो दुखद पक्ष हो ।

पुराना मोडलका फुसका छाना, झिगटिका छाना, टायल खवटाका छाना भएका गाउँघर हेर्न विदेशी आउने भएकाले यसको संरक्षण हुनु जरुरी छ

वास्तवमा राष्ट्रको मूल नीतिमा नै आफ्नो धर्म संस्कृति मौलिकताको रक्षा र देशभक्ति भएन भने त्यो राष्ट्र विस्तारै निर्जीव हुन्छ । दलहरूको राजनीति सत्ताका लागि, स्कुल कलेजको शिक्षा जागिर मायाप्रेमका लागि, सामाजिक सम्बन्ध स्वार्थका लागि र व्यापार व्यवसाय अनैतिक रूपमा उपभोक्ता ठग्नका लागि केन्द्रित रहने हो भने त्यो राष्ट्रको विश्वसनीयतामा पहिरो जान थाल्छ । अहिले सरकारको प्रहसन संवाद हेरिरहेका धेरैवटा राष्ट्रले राजनीतिक अस्थिरता र कूटनीतिक भाडाँकुटी देखेर खित्का छोडेर हाँसिरहेका छन् । अब पनि सोच्ने कि सिद्धिने ?

यस्तो अवस्थामा हामीले स्पष्ट रूपमा आफ्नो देश निर्माणको खाका कोर्ने र त्यस योजनामा हाम्रो सम्पूर्ण ध्यान बहस केन्द्रित गर्नुपर्ने थियो । कति समयमा कहाँ पुग्ने ? कसरी पुग्ने ? कस्तो राजनीतिक प्रणालीलाई भरोसा गर्ने र जनताका अपेक्षाहरूलाई कसरी सम्बोधन गर्ने भन्ने गहन विषयमा हाम्रो दलका नेताहरू लागेको हेर्ने आमजनताको इच्छा थियो । तर, नेताहरू यसतर्फ किन छलफल गर्दैनन् ? किन कुनै चासो राख्दैनन् ? यदि साच्चै हाम्रो देशको कला, संस्कृति, मौलिकता जोगाउँदै स्वदेशी वस्तुको उत्पादन र प्रयोगमा जोड दिने हो भने राष्ट्राध्यक्ष्यसमेतले स्वदेशी वस्तु मात्र प्रयोग गर्नुपर्छ ।

विज्ञान, प्रविधि र अत्यावश्यक वस्तुबाहेक अन्य वस्तुमा परनिर्भरता हटाउने हो भने राष्ट्रको रक्षा गर्ने गुणात्मक शिक्षा र उत्तरदायी राज्यसंयन्त्र हुनु अति जरुरी छ । हाम्रो सिने उद्योगले नेपालका मौलिक विषयवस्तुलाई आधुनिक प्रविधिको संयोजन गरेर बेजोडका सिनेमा निर्माण गर्नथाले अर्थतन्त्रका साथसाथै विश्व राजनीतिमा नेपालको ‘सफ्ट पावर’ सुदृढ हुनसक्थ्यो । पर्यटकीय हिसाबले हाम्रा दूर दराजका पुराना बस्तीका पुराना मोडलका देखिने फुसका छाना, झिँगटीका छाना, टायल खबटाका छाना भएका घरगाउँ हेर्न विदेशीहरू आउने भएकाले त्यसको संरक्षण हुनु जरुरी छ । पर्यटकीय क्षेत्रको विस्तार गर्ने हो भने हामीले नेपालका पुराना मौलिक सांस्कृतिक धरोहर मानिने घर, झरनाहरू, तालतलैया, मन्दिरहरू, गुफा, प्रकृतिको संरक्षण गर्नैपर्छ । अनि नेपाल, नेपाली शान, मौलिक सांस्कृतिक पहिचान रहन सक्छ । अस्तु ।

तपाइको प्रतिक्रिया
(Visited 344 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मादी गाउँपालिकामा कांग्रेसका देवीजंग निर्वाचित