कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पूरा भएको छ । ७५ वर्षको इतिहासमा कम्युनिस्ट पार्टीहरू विभिन्न कारणले विभाजन र एकीकृत हुने गरेका छन् । अहिले पनि कम्युनिस्ट पार्टीहरूबीच एकीकरण र विभाजनको क्रम जारी छ । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूबीच पुनः एकीकरणको बहस सुरु भएको छ ।

फेरि एकताको बहस

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सोमबार ललितपुर गोदावरीस्थित सनराइज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्ने क्रममा नेताहरूले कम्युनिस्ट पार्टीहरूको एकीकरणका ’boutमा आफ्नो धारणा राखेका छन् । नेकपा (एमाले)द्वारा आयोजित हीरक महोत्सवमा कम्युनिस्ट पार्टीका साथै अन्य दलका नेताहरूको बाक्लो सहभागिता रहेको थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रलाई सुदृढ गर्नका लागि सबै राजनीतिक दलको सकारात्मक योगदान रहेको बताए । सामाजिक न्याय र समृद्धि दिने सपना पूरा गर्नका लागि पनि सबै राजनीतिक दल मिल्नुपर्नेमा उनको जोड थियो ।

सबै राजनीतिक दलले एकअर्का राजनीति दलका योगदानलाई सम्मान गर्नुपर्ने र आफूभित्र रहेका कमीकमजोरी हटाएर मुलुक र जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनले बताए । ‘हामीले गरेका राम्रा कामको समीक्षा गरौं, कमीकमजोरीको पनि समीक्षा गरौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आगामी दिनमा अझ उन्नत विचारको विकास गर्ने र जनता र राष्ट्रका पक्षमा अझ दृढतापूर्वक उभिने संकल्प गरौं ।’

ललितपुरको च्यासलमा सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित एक अर्को कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए । कर्माचार्य कम्युनिस्ट पार्टीका संस्थापकमध्येका एक हुन् ।

‘जोखिमहरू छन्, जहिले पनि रहन्छन्, तर जोखिमकै बीचबाट परिणाम दिने कुरा मुख्य हो, हामीले सहकार्यको प्रक्रिया अगाडि बढाएका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जोखिमकै बीचबाट यसलाई अगाडि बढाउनुपर्छ ।’ उनले एकपटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने समेत बताए ।

‘अघिल्लो एकता बचाउन सकिएन, तर एकपटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नुहुँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्छ, स्वाधीनताका लागि, वामपन्थी सहकार्यका लागि, आर्थिक सामाजिक रूपान्तरणका लागि जोखिम मोल्नैपर्छ ।’

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै एकीकरण गरेर सबै मुलुकभरका कम्युनिस्टहरू मिल्ने सम्भावना नरहेको बताए । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै ओलीले अहिले सहकार्यलाई मात्र अगाडि बढाउँदा उपयुक्त हुने बताए ।

‘अहिले हामी विभाजनको बाटोबाट माथि उठेका छौं, अघि प्रचण्डजीले भनेजस्तै हामी पार्टी एकीकरण गरिहालौं, पार्टी एकता भइहाल्छ भन्ने कुरा त्यो व्यक्तिगत आकांक्षा मात्रै हुनसक्छ, त्यसैले अहिले सहकार्यका माध्यमबाट निकट हुँदै जान्छौं, त्यसपछि मात्रै एकताको बिन्दुमा पुग्नसक्छौं,’ एमाले अध्यक्ष ओलीले भने, ‘तर अहिले नै एकीकरण गरौं सबै मुलुकभरका मिलौं भन्ने हो भने फुटेका किन थियौं ? के भएर फुटेका थियौं भन्ने प्रश्न उठ्छ, अहिले सहकार्यका लागि सहमतिबाट जाऔं ।’

ललितपुरको च्यासलमा नरबहादुर कर्माचार्य प्रतिष्ठानद्वारा आयोजित एक अर्को कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन् ।

उनले नेपालको राजनीति जटिल रहेको बताए । छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै उनले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ ? भन्ने प्रश्न उठिरहेका भन्दै गठबन्धन लामो समयसम्म जानेमा आशंका व्यक्त गरे । उनले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको जिकिरसमेत गरे ।

कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि आफूहरू राजनीतिमा नआएको उनले बताए । उनले वर्तमान सत्ता गठबन्धनमा आफूहरूले सहजता महसुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने आशंकासमेत व्यक्त गरे ।

‘नेपालको राजनीति जटिल छ, छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ, कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेकोउठ्यै छ, त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ, मैले दिन सक्दिनँ, तर पनि अलिअलि भन्नसक्छु, परिस्थिति सहज छैन, हामी सहज मानिरहेका छैनौं,’ एकीकृत समाजवादी अध्यक्ष नेपालले भने, ‘सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौं, कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौं, समाजमा जन्मिएका होइनौं, राजनीतिमा लागेका होइनौं, कसैको दास बन्ने हाम्रो नियत होइन ।’

एकबाट एक दर्जन पुगे कम्युनिस्ट पार्टी
कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुग्दैगर्दा नेपालमा एकबाट दर्जनबढी कम्युनिस्ट नामधारी पार्टी अस्तित्वमा छन् । विभिन्न समयमा विभिन्न कारणले विभाजन हुँदै संसद्भित्र र बाहिर गरी दर्जनौं कम्युनिस्ट पार्टी पुगेका छन् । खासगरी नेतृत्वसँगको टकराव, सत्ता स्वार्थ, व्यक्तिगत इगोलगायतका कारण उनीहरू विभाजित हँुदै आएका छन् ।

अहिले सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीका रूपमा नेकपा एमाले रहेको छ । त्यसपछि क्रमशः नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) रहेका छन् । यस्तै मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, नारायणमान विजुक्छें नेतृत्वको नेमकिपा, प्रभु साह नेतृत्वको आमजनता पार्टी रहेका छन् ।

यस्तै, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहन वैद्यको क्रान्तिकारी कम्युनिस्ट पार्टी, हेमन्तप्रकाश वलीको नेकपा बहुमत, चन्द्रदेव जोशीको नेकपा संयुक्त, सीपी मैनालीको नेकपा माले, लोकनारायण सुवेदीको नेकपा माक्र्सवादी, विश्वभक्त दुलालको वैज्ञानिक समाजवादी पार्टी, गोपाल किराँतीको नेकपा माओवादी, ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी रहेको छ । यस्तै, वामदेव गौतम नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान पनि छ । यो अभियान कुनै दल नभए पनि कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्न बनाइएको एक संगठन हो ।

२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी १५ वर्षपछि अर्थात् २०१९ सालमा पहिलोपटक विभाजित भएको थियो । केशरजंग रायमाझी दरबारतिर लागेपछि तुलसीलाल अमात्यलाई महासचिव चयन गरेसँगै रायमाझीले अलग पार्टी बनाएका थिए ।

त्यसपछि पुष्पलालको नेतृत्वमा २०२७ सालमा विभाजन भएको थियो । त्यहीबेला झापामा सशस्त्र क्रान्तिसँगै हालको एमालेको उदय भयो भने २०३१ सालमा पुष्पलालबाट फुटेर मोहनविक्रम सिंहहरूले चौथो महाधिवेशन गरेपछिको धार अहिलेको माओवादी केन्द्र हो ।

२०४७ सालमा नेकपा माले र माक्र्सवादी मिलेर बनेको एमाले हो । ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्र मिलेर नेकपाको घोषणा भयो । तर, नेकपामा देखिएको विवाद र सर्वोच्च अदालतको फैसलापश्चात् करिब ३ वर्षपछि पुनः एमाले र माओवादी केन्द्र बन्यो । पछि एमालेबाट विभाजन भई एकीकृत समाजवादीको गठन भयो । यसबीचमा यी पार्टीबाट विभिन्न समयमा नेताहरूले पार्टी विभाजन गर्दै अर्कै कम्युनिस्ट नामधारी पार्टी गठन गर्दै अगाडि बढेका छन् ।

एमालेलाई देउवाको प्रश्न– मदन भण्डारीका हत्यारा किन पत्ता लगाउन नसकेको ?
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीका हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले मदन भण्डारीका हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वप्रति प्रश्नसमेत गरे ।

कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन अहिलेसम्म नसकेको सभापति देउवाको भनाइ थियो । उनले मदन भण्डारी आफूहरूको पनि नेता भएको उल्लेख गर्दै उनको हत्यारा पत्ता लगाउने काम किन गरिएन ? भन्ने मदन भण्डारीकी धर्मपत्नीसमेत रहेकी विद्या भण्डारीलाई पनि प्रश्न गरे ।

दुईपटक राष्ट्रपति हुँदा र एमालेको नेतृत्वमा पटकपटक सरकार बन्दा पनि सो हत्याकाण्डको रहस्य पत्ता लगाउने काम नभएको उल्लेख गर्दै सभापति देउवाले त्यसमा कांग्रेसले कुनै व्यवधान खडा नगरेको पनि बताए । उनले कांग्रेसलाई गाली गर्नेहरूले मदन भण्डारीका हत्यारा पत्ता लगाउनुपर्ने बताए । सभापति देउवाले कांग्रेसले सधैंभर मुलुकका महत्वपूर्ण मुद्दामा विद्यमान राजनीतिक दलहरूबीच संवाद, सहमति र सहकार्यको नीति लिँदै आएको र त्यसको निरन्तरताको पक्षमा कांग्रेस रहेको पनि बताए ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

को सफल को असफल ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुरामा माओवादीले परशुराम र एमालेले आलिताल बाट खोल्यो खाता