अन्धोपन न्यूनीकरण अभियान

नेपालमा आँखा स्वास्थ्य सेवाको इतिहास हेर्दा प्राडा रामप्रसाद पोख्रेलको योगदान अतुलनीय देखिन्छ । लन्डनमा १० वर्ष मेडिकल साइन्समा विशेष आँखा स्वास्थ्यमा सन् १९७० मा एफआरसीएस पूरा गरी नेपाल फर्कनुभएका नेत्रविशेषज्ञ डा.पोख्रेलको अर्जुन दृष्टि नेपालीलाई सर्वसुलभ र सस्तोमा आँखा उपचार सेवा उपलब्ध गराउनेमा रह्यो । वीर अस्पतालमा नेत्र विशेषज्ञका रूपमा सेवारत रहेको तत्कालीन अवस्थामा आँखाका रोगीको चाप र आँखाको रोगको उपचारमा सरकारबाट प्राप्त स्रोतसाधनले मात्रै सबै नेपालीलाई आँखा उपचार सेवा उपलब्ध गराउन नसकिने परिस्थिति देखि कम्मर कसेर लागे नेपालमा आँखा सेवा दिने संस्थाको विकासमा । यसैको फलस्वरूप नेपाल आँखा अस्पतालको स्थापना भयो ।

नेपाल आँखा अस्पतालले मात्रै सबै नेपालीले सर्वसुलभ आँखा उपचार सेवा नपाउने देखेर काठमाडौं उपत्यकाबाहिरको सेवाग्राहीलाई सरल सेवा उपलब्ध गराउने उद्देश्य लिएर २०३५ साल चैत १३ गते नेपालबाट अन्धोपन निवारण गर्ने पवित्र उद्देश्यले नाफारहित विशुद्ध सामाजिक संस्थाका रूपमा नेपाल नेत्रज्योति संघको स्थापना भयो ।

संघका संस्थापक महासचिव एवं नेपालको आँखा स्वास्थ्य प्रणालीका परिकल्पनाकार प्राडा रामप्रसाद पोख्रेल ‘आँखा बा’को आँखा स्वास्थ्य सेवालाई देशैभरि विस्तार गर्ने योजनालाई मूर्तरूप दिने क्रममा सन् १९८१ मा विश्व स्वास्थ्य संगठनको सहयोगमा नेपाल अधिराज्यभरि आमनागरिकमा अन्धोपन सर्वेक्षण गरियो । सर्वेक्षणपश्चात् शून्य दशमलव ८४ प्रतिशत नेपालीमा अन्धोपनको समस्या रहेको तथ्य नतिजाले देखायो । डा. पोख्रेलको नेतृत्वमा नेपाल सरकार, सामाजिक संघसंस्था, समाजसेवीलगायत विदेशी संघसंस्था तथा दात्रृ निकायसँग नेपालमा अन्धोपन न्यूनीकरणमा सहायोग गर्न आह्वान गरियो ।

अन्धोपन निवारण गर्ने पवित्र उद्देश्यले नेपाल नेत्रज्योति संघको स्थापना भएको हो

यसैको फलस्वरूप दातृ निकाय क्रिस्टोफर ब्लाइन्डेन मिसन (सिबिएम)ले सहायोग गर्ने वचन दिए । पूर्वाञ्चलमा आँखा सेवा विस्तार गर्न नेपाल नेत्रज्योति संघ र सिबिएमबिच सम्झौता भई सन् १९८२ मा नेत्रज्योति संघको आग्रहमा सिबिएमले जर्मनबाट डा. अल्बर्ट हेनिङलाई नेपाल पठाए । जर्मनबाट नेपाल आएका डा. हेनिङलाई पूर्वाञ्चलको लहानमा पठाइएको थियो । सिबिएमले डा. अल्बर्ट हेनिङ र उनकी श्रीमतीलाई नेपालमा आँखा स्वास्थ्य सेवाको विकास र विस्तारका लागि पठाएसँगै दुई संस्थाबिच औपचारिक सहकार्यको प्रारम्भ भएको हो । एउटा गैरसरकारी संस्था र दातृ निकायबिच निरन्तर ४० वर्षभन्दा लामो समयदेखि निरन्तर सहकार्य हुनु कुनै चानचुने कुरा भने कदापि होइन ।

नेपाल नेत्रज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १ सय ५० भन्दा बढी आँखा उपचार केन्द्र र ४४ जिल्ला शाखा, १० हजार बढी समाजसेवी एवं ३५ सयभन्दा बढी दक्ष कर्मचारीको सञ्जालमार्फत सस्तो, सर्वसुलभ र गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ । नेपालमा आँखा स्वास्थ्य सेवाप्रवाह गर्ने सबैभन्दा ठुलो सञ्जाल भएको गैरसरकारी संस्था नेपाल नेत्रज्योति संघ र सिबिएमबिचको सहकार्य ४० वर्ष पूरा भएको छ । यो एउटा ऐतिहासिक र गौरवपूर्ण सहकार्य हो ।

डा. हेनिङको अनवरत मेहनत, प्रयास र समाजसेवी चौधरी दाता परिवारको अमूल्य सहयोगका कारण स्थापना भएको लहानस्थित नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल अहिले विश्वमै ठुलो आँखा अस्पतालको सूचीमा अटाउन सफल भएको छ । सगरमाथा चौधरी आँखा अस्पताललाई अनुसन्धान केन्द्रका रूपमा स्थापना गराउनमा डा. हेनिङको भूमिका एकदमै महत्वपूर्ण रहेको थियो । सन् १९९७ मा उनले पत्ता लगाएको ‘फिस हुक’ नामक मोतिबिन्दुको शल्यक्रिया प्रणाली विश्वभरि नै प्रख्यात छ ।

सन् १९८२ बाट सुरु भएको सिबिएम र नेत्रज्योति संघको सहकार्य निरन्तर जारी छ । ४० वर्षको यो अवधिमा पूर्वाञ्चलको अन्धोपन निवारणमा सिबिएमले दक्ष जनशक्ति उद्पादन, भौतिक संरचना निर्माण, मेसिनरी औजार–उपकरण खरिदलगायतमा महत्वपूर्ण सहयोग गर्दै आएको छ । हाल नेपाल नेत्रज्योति संघ पूर्वाञ्चल आँखा तथा कान उपचार प्रणाली (इरेक–पी)अन्तर्गत सगरमाथा चौधरी आँखा अस्पताल, विराटनगर आँखा अस्पताललगायत दर्जनौं आँखा तथा कान उपचार केन्द्रहरूको सञ्जालमार्फत वार्षिक लाखौं नागरिकले सेवा लिइरहेका छन् । सन् १९८१ मा भएको सर्वेक्षणमा शून्य दशमलव ८४ प्रतिशत रहेको नेपालको अन्धोपनको अवस्था सन् २०२० सम्म आइपुग्दा घटेर शून्य दशमलव २८ प्रतिशतमा झरेको छ । नेपालको अन्धोपन न्यूनीकरणमा प्राप्त यो उपलब्धिमा सिबिएम र नेत्रज्योति संघको सहकार्य कोसेढुंगा साबित भएको छ ।

नेपालमा सस्तो मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको नेत्रज्योति संघका विभिन्न कार्यक्रममा सिबिएमले निरन्तर सहयोग र सहकार्य गर्दै आइरहेको छ । नेपाल नेत्रज्योति संघ र सिबिएमको सहकार्यमा कोशी प्रदेश, मधेस प्रदेश र कर्णाली प्रदेशमा विभिन्न कार्यक्रम सञ्चालनमा छन् । अपांगतामैत्री सेवा, बहिरोपन न्यूनीकरण, सिपमूलक तालिम तथा पुनस्र्थापनाजस्ता क्षेत्रमा सिबिएमको सहयोग निरन्तर छ ।

सीबीएमको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले कर्णाली प्रदेशमा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम लागू गरेको छ

सिबिएमको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले कर्णाली प्रदेशमा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम लागू गरेको छ । सो कार्यक्रमबाट हालसम्म ५ हजार बढी मानिसको आँखाको निःशुल्क शल्यक्रिया गरी ज्योति प्रदान गरिसकिएको छ । नेपालको सबैभन्दा विकट मानिने कर्णाली प्रदेशका सबै जिल्लामा यो कार्यक्रमले निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन गरी पहुँच र पैसाको अभावका कारण कोही नागरिक दृष्टिविहीन भएर बस्नु नपरोस् भन्ने हेतुले यस कार्यक्रमले प्रदेशका विकट जिल्लामा पुगेर आँखा शल्यक्रिया शिविर सञ्चालन गरी आमनागरिकलाई पुनदृष्र्टि दिने कार्य गरिरहेको छ ।

संघ र सिबिएमको सहकार्यमा सञ्चालित सो कार्यक्रमले पहुँचको अभावमा वर्षौंदेखि दृष्टिविहीन जीवन बिताउन बाध्य भएका नागरिकले निःशुल्क पुनर्दृष्टि पाइरहेका छन् । त्यस्तै, यस कार्यक्रमले कर्णाली प्रदेशमा निःशुल्क रूपमा कान उपचार सेवा प्रवाह गरी विभिन्न जिल्लाहरूमा शिविरमार्फत कानको परीक्षण गरी उनीहरूको श्रवण क्षमता बढाउने मेसिनको व्यवस्था तथा अपांगतामैत्री वातावरण निर्माण गर्न सिपमूलक तालिम एवं पुनस्र्थापनाको कार्यक्रम पनि अगाडि बढाइरहेको छ ।

नेपाल सरकार, विभिन्न स्वदेशी तथा विदेशी दाता, समाजसेवी, नागरिक समाज, पत्रकार, कर्मचारी तथा सरोकारवाला सबैको साथ र विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायको सहयोग र सहकार्यबाट नै नेपाल नेत्रज्योति संघले अन्धोपन तथा बहिरोपन निवारणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको छ ।
(लेखक नेपाल नेत्रज्योति संघका कर्मचारी हुन्)

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धन खुकुलोः सत्तारूढ दलमै असन्तुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका दुई पलिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी