आर्थिक सहयोग र उद्धारमा जुटे दल

काठमाडौं । जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पपीडितलाई राजनीतिक दलले आर्थिक सहयोग गर्नुका साथै उद्धार कार्यमा जुटेका छन् । भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न, युद्धस्तरमा उद्धारको कार्य गर्न, घाइतेको उपचार र राहत कार्यमा सक्रियताका साथ परिचालन गर्न उनीहरूले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको ’boutकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा जनधनको ठुलो क्षति भएको छ । दैलेख र बैतडीमा पनि भौतिक क्षति भएको छ ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का साथै साना दलले समेत आर्थिक सहयोगको घोषणा गरेका छन् । आर्थिक सहयोग गर्ने घोषणा गरेका राजनीतिक दलले पार्टी एवं जनसंगठनका नेता, कार्यकर्तालाई भूकम्पपीडितको उद्धार, राहत एवं सहयोगमा जुट्न निर्देशन समेत गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले भूकम्प प्रभावित दुई जिल्लाको उद्धार, व्यवस्थापन तथा राहतका लागि १ करोड रुपैयाँ सरकारीकोषमा सहयोग गर्ने निर्णय गरेको छ । एमाले स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले पार्टीका तर्फबाट पीडितको उद्धार, राहत तथा व्यवस्थापनका लागि सो रकम सहयोग गर्ने निर्णय भएको बताए । पार्टी पंक्ति भूकम्प प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनका लागि परिचालित भइसकेको उनले बताए ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भूकम्पपीडितको उद्धार, राहत तथा पुनस्र्थापनका लागि ५० लाख रुपैयाँ सरकारलाई उपलब्ध गराउने घोषणा गरेको बताए । साथै कांग्रेसले यस्तो अवस्थामा स्वदेश तथा विदेशमा रहेका सबैलाई खुला हृदयका साथ सहयोग गरी मानवीय सेवाको अभियानमा जुट्न अपिलसमेत गरेको छ । साथै कांग्रेसले भूकम्पको क्षति अनुगमन, राहत तथा उद्धारको स्थिति बुझ्नका साथै पहल गर्न विपत् अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ ।

आइतबार बसेको कांग्रेसको कार्यसम्पादन बैठकले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको संयोजकत्वमा सो समिति गठन गरिएको प्रवक्ता मिन विश्वकर्माले बताए ।

‘महामन्त्रीद्वयको संयोजकत्वमा त्यहाँ विपत् व्यवस्थापनका लागि अनुगमन तथा सहजीकरण समिति गठन गरिएको छ । त्यसले स्थलगत अनुगमनका साथै राज्य परिचालन, पार्टीपंक्ति परिचालनको अनुगमन र सहजीकरण गर्न त्यो निर्णय गरेका हौं,’ प्रवक्ता विश्वकर्माले भने ।

यसैगरी, कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीद्वारा तिहारअघिका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्दै आफ्ना नेता, कार्यकर्ता तथा जनसंगठनलाई भूकम्पपीडितको उद्धार, राहतमा जुटन निर्देशन दिएको छ ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले भूकम्प प्रभावित कर्णाली प्रदेशका पीडितको राहत र पुनर्निर्माणमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले पीडितलाई पार्टीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय भएको सचिव गणेश साहले जानकारी दिए ।

यस्तै राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिएको छ । राहत, पुनर्निर्माणका लागि सिंगो पार्टी कमिटी, केन्द्रीय निकाय, जनवर्गीय संगठन÷मोर्चालगायतलाई निर्देशन दिइएको छ ।

यसैबीच, माओवादी केन्द्र निकटको अखिल (क्रान्तिकारी)ले भूकम्पमा परी घाइते भएका पीडितको उपचारमा सहयोग पुग्नेगरी रक्तदान कार्यक्रम सुरु गरेको छ । क्रान्तिकारीको केन्द्रीय समितिले शिक्षण अस्पताल महाराजगन्जमा एक सातासम्म चल्नेगरी रक्तदान कार्यक्रम सुरु गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले बताए ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भूकम्पपीडितको उद्धारमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । भूकम्पमा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा उनले गहिरो समवेदना व्यक्त गरेका छन् ।

घाइतेको शिघ्र स्वास्थ्यलाभको कामनासहित भग्नावशेषमा फसेकाको शीघ्र उद्धार तथा राहतका लागि सरकार तथा स्वयंसेवी संस्थासँग मिलेर काम गर्न स्थानीय पार्टी कमिटी तथा नेता कार्यकर्ता सबैलाई उनले विशेष अपिल गरेका छन् ।

पार्टी अध्यक्ष नेपालको निर्देशनमा एकीकृत समाजवादी निकटको युवा संघ नेपालले भूकम्पपीडितका लागि रक्तदान कार्यक्रम गर्दै छ । युवा संघका अध्यक्ष कृष्ण विश्वकर्माको अध्यक्षतामा आइतबार बसेको बैठकले रक्तदान गर्ने निर्णय गरेको हो ।

संघले रक्तदान कार्यक्रमका लागि सुर्खेत, बाँके–नेपालगन्ज र काठमाडौं उपत्यकामा गर्ने र कर्णाली प्रदेश कमिटी अध्यक्ष अनिल बोगटीको संयोजकत्वमा प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य, जिल्ला कमिटीका अध्यक्ष, पदाधिकारी तथा सदस्य रहनेगरी प्रभावित भूगोलको स्थलगत अध्ययनसहित पार्टी कमिटीसँग समन्वय गरी प्रभावकारी कार्यक्रम गर्ने निर्णय गरेको युवा संघका कार्यालय सचिव नरेश गिरीले बताए ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, आमजनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहलगायतकाले भूकम्पपीडितको उद्धार, राहत तथा व्यवस्थापनमा जुट्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भूकम्पपीडितलाई सहयोग गर्न सरकारको कोषमा २५ लाख रुपैयाँ रकम जम्मा गर्ने निर्णय गरेको छ । पार्टीका कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारीको बैठकले भूकम्पपीडितलाई सहयोग गर्न सरकारको कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

बैठकले जाजरकोट भूकम्पबाट प्रभावित परिवारलाई राहत पु¥याउन पार्टीका संघीय सांसद तथा प्रदेशसभा सदस्यको एक महिनाको तलब र पार्टीका तर्फबाट गरी २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीका तर्फबाट सहयोग गर्न जाजरकोट जिल्लाका लागि प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)को संयोजकत्वमा र रुकुम पश्चिम जिल्लाका लागि पार्टीका सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय पनि गरेको छ ।

भूगोल केन्द्रित जिम्मेवारी कार्यक्रममध्ये जाजरकोट र रुकुमपश्चिम जिल्लाका कार्यक्रम १५ मंसिरसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यसैबीच नेपाल समाजवादी पार्टी (नेसपा)ले समेत भूकम्पपीडितको उद्धार तथा राहत कार्यलाई सघाउ पु¥याउन पार्टीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

पार्टीको आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय उपाध्यक्ष भक्तबहादुर शाहको संयोजकत्वमा आर्थिक विभाग प्रमुख हरि रिजाल र केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलसहितको तीन सदस्यीय समिति समेत गठन गरेको छ ।

नेसपाले भूकम्पपीडितलाई राहतका लागि खाद्यान्नलगायत सामग्री संकलन अभियान चलाउने निर्णय पनि गरेको छ । अन्य विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता भूकम्पपीडितको उद्धारमा जुटेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हरिकृष्ण व्यञ्जनकारको प्रतिबद्धता : सम्पदा संरक्षणदेखि चिल्ला सडकसम्म