कालो रङको भालु जंगलमा पाइन्छ भने सेतो रङको भालु हिमालयमा पाइन्छ । यसलाई ध्रुवीय सेतो भालु पनि भनिन्छ । जलवायु परिवर्तनको असरसँगै यो भालु लोप हुने अवस्थामा पुगिसकेको छ । थोरै वर्षपछि यो भालुलाई केवल तस्बिरमा मात्र देख्न सकिनेछ ।
जलवायु परिवर्तनको प्रक्रियासँगै ध्रुवीय हिउँ अकल्पनीय रूपमा पग्लन थालेको छ । हिउँ पग्लने प्रक्रियासँगै ध्रुवीय हिउँमा रहेको सेतो भालु, पेन्गुइन र सिलमाछालगायतका ध्रुवीय प्राणीहरू वातावरण अभावका कारण लोप हुने अवस्थामा पुगेका छन् ।
हरेक सेकेन्डमा शृंखलाबद्ध रूपमा हिउँपहिरो गइरहेकाले यी ध्रुवीय प्राणीहरू वैज्ञानिकहरूले अनुमान गरेभन्दा पनि छिटो पृथ्वीबाट लोप हुन गइरहेका छन् । पेन्गुइन बगेर गालापागोसका बालुवा किनारमा पुगेका छन् भने सिल माछा तातोपानीमा पुगेर छटपटाइरहेका छन् । तर, सेतो भालु भने दैनिक मर्दै र एकअर्कालाई खाँदै लोप भएर जान थालिसकेको छ । बस्ने हिउँको बास पग्लिएर सकियो, पानीमा जीविका चल्दैन, खाने आहारा छैन ।
आहारा अभावका कारण भालुले भालुलाई नै मारेर खाने गरिरहेका छन् । यसरी सजातीय प्राणीले एकअर्कालाई खाएको माछा प्रजातिबाहेक अरूमा कमै देखिन्छ । कुकुरले अर्को कुकुरको मासु खाँदैन । विनाश कालमा हिमभालुले हिमभालुकै सिकार गरेर खान थालेका छन् ।
जलवायु परिवर्तनका कारण जीवन पद्धतिमा आएको फेरबदलका कारण महासंकटको अवस्थामा पुगेको सेतो भालुले आफूलाई नयाँ प्रणालीअनुसार रूपान्तरण गर्न सकिरहेको छैन ।
पूर्ण विकसित सेतो भालु बाँच्नका लागि प्रतिदिन १२ हजार ३ सय २५ क्यालोरी शक्ति आवश्यक हुन्छ । सिंगो सिलमाछा एउटा भालुका लागि मात्र १० दिनको आहारा हुन्छ । यो आहाराका अभावमा प्रति १० हिमभालुमा नौवटा मरिरहेका छन््, भोकले ।
उनीहरू १२ घण्टा नै खानाको खोजीमा भौंतारिइरहेका हुन्छन् । हिउँ पग्लिएपछि सिलमाछा पाइन छाडेको छ ।