धनगढीको फूलबारीमा १५ शय्याको अस्पताल सञ्चालनमा

​धनगढी । ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारका लागि धनगढी बजार धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ ।

​यसअघि सञ्चालनमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा आवश्यक पूर्वाधार थप गरी सञ्चालनमा ल्याइएको सो अस्पतालको सोमबार एक कार्यक्रमका बीच वडा नम्बर १८ का अध्यक्ष भुवन रिजाल, वडा नम्बर १९ का अध्यक्ष बाधुराम चौधरी र वडा नम्बर १४ का अध्यक्ष मानबहादुर बिष्टले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

​अस्पतालमा पहिलो चरणमा बहिरंग सेवा (ओपीडी), प्रयोगशाला, फार्मेसी र एक्सरे सेवा सुरु गरिएको छ । निकट भविष्यमै आकस्मिक तथा अन्तरंग (इनडोर) सेवाका साथै विशेषज्ञ चिकित्सकबाट समेत सेवा उपलब्ध गराउने तयारी भइरहेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए । हाल ६ जना स्वास्थ्यकर्मीबाट सेवा सुरु गरिएको र क्रमशः आवश्यक जनशक्ति थप्दै लगिने उनको भनाइ छ ।

​नगरप्रमुख गोपाल हमालले ग्रामीण क्षेत्रका नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनु उपमहानगरको प्राथमिकता रहेको बताए । फूलबारी क्षेत्रको समग्र विकासका लागि नगर बस सेवा, घरघरमै पुगेर अपाङ्गता भएका नागरिकको स्वास्थ्य परीक्षण तथा सहायक सामग्री वितरण, नमुना विद्यालय सञ्चालन र मासिक वडा स्वास्थ्य क्लिनिकजस्ता कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए ।

​गाउँमै अस्पताल सञ्चालनमा आएपछि विशेष गरी आर्थिक रूपमा विपन्न, ज्येष्ठ नागरिक, बालबालिका र आकस्मिक बिरामीलाई ठूलो राहत पुग्ने अपेक्षा स्थानीयको छ । स्थानीय बासिन्दा मानकुमारी बस्नेत र खिमलाल बरालले अस्पताल सञ्चालन हुनु खुसीको कुरा भए पनि यसको प्रभावकारिताका लागि पर्याप्त चिकित्सक, स्वास्थ्यकर्मी, आवश्यक औषधि र आधुनिक उपकरणको नियमित व्यवस्थापन हुनुपर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

चितवनलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमको दोस्रो जित